देउवा प्रधानमन्त्री भई ०८४ को चुनावपछि मात्र महाधिवेशन चाहन्छन्

धनुषा । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले २०८२ मा नभए २०८४ को चुनावपछि मात्रै १५ औं महाधिवेशन हुने बताएका छन् । नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा पनि आफू प्रधानमन्त्री भएपछि मात्रै १५ औं महाधिवेशन गराउने पक्षमा रहेको दाबी गरेका छन् ।
महेन्द्रनारायण निधिको १०४ औं जन्म जयन्तीका अवसरमा धनुषा कार्यसमितिले आयोजना गरेको कार्यक्रममा मंगलबार नेता कोइरालाले निर्वाचनको मुखमा महाधिवेशन गर्न नहुने फेरि दोहोर्याएका हुन् । ‘चुनावको मुखमा महाधिवेशन गर्दा कांग्रेसमा तिक्तता हुन्छ । पार्टीलाई नै घाटा हुन्छ,’ कोइरालाले भने, ‘यस्तो महाधिवेशन २०८२ सालमा गर्न नसक्ने भए २०८४ को चुनावपछि मात्रै हुनुपर्छ ।’
चुनावको मुखमा महाधिवेशन गराउँदा पार्टीलाई घाटा हुने भन्दै शशांकले यसअघि पनि अगाडि नसके निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने बताएका थिए । कांग्रेसलाई गुटबन्दीले फाइदा नगर्ने भन्दै शशांकले यस्तो प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने पनि बताएका छन् ।








