सरकारले संसदमा बलमिच्याईं गर्न खोज्यो : सांसद शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सरकारले संसदमा बलमिच्याईं गर्न खोजेको आरोप लगाएकी छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले यस्तो आरोप लगाएकी हुन् । उनले संसदीय समितिबाट पारित भएको विधेयक समेत मन्त्रीले संशोधन गरेको आरोप लगाइन् ।

उनले सरकारले संसदमा विचाराधिन विधेयक समेत फिर्ता नलिई अध्यादेश जारी गरेको र मन्त्रीका होटेलहरुमा समितिको बैठक राख्ने गरेको बताइन् ।

उनले संसदमा प्रतिपक्षी दलका नेताहरुले सोधेको प्रश्नको जवाफ समेत सरकारले नभई सत्तारुढ दलका सांसदहरुले दिने गरेको आरोप लगाइन् ।

उनले ’हामी देखिरहेका छौं संसदमाथि सरकारको निरन्तर बलमिच्याईंं भइरहेको छ । संसदीय समितिबाट पारित विधेयकलाई मन्त्रीबाट संशोधन हुन्छ । संसदमा विचाराधिन विधेयकलाई फिर्ता समेत नलिई अध्यादेश जारी हुन्छ, मन्त्रीका होटेलहरुमा समितिका बैठकहरु आयोजना गरिन्छन् । प्रश्नोत्तर कार्यक्रममा जवाफ नदिएर अपमान गर्ने मात्र होइन सभामुख महोदय प्रतिपक्षी दलका नेताहरुले सोधेका प्रश्नहरुको जवाफ सरकारले हैन पनि सत्तारुढ दलका सांसदहरुले दिनुहुन्छ । यस प्रकारको गतिविधि रोकिनुपर्छ । शक्ति पृथकिकरणको सिद्धान्तअनुसार संसदले संसदको अधिकार सदुपयोग गर्न पाउनुपर्छ ।’

उनले सरकारले संसदमाथि गरिरहेको बलमिच्याईं रोकिनुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =