तुलसीपुरमा खानेपानी आयोजना निर्माण अन्तिम चरणमा

दाङ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिअन्तर्गत सहलगानीमा निर्मित आयोजनाको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ ।
उक्त आयोजना रु ५६ करोड ८० लाख लागतमा निर्माण भइरहेको समितिका अध्यक्ष यमकान्त भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार बबई नदीको पानी ‘लिफ्टिङ’ गरेर तुलसीपुर नगर क्षेत्रमा ल्याइनेछ । हाल पानीका पाइप जडान तथा ट्याङ्की निर्माण अन्तिम चरणमा छ ।
आयोजना पूरा भएपछि एक सय लिटर प्रतिसेकेन्ड पानीको आपूर्ति सम्भव हुने अध्यक्ष भण्डारीले बताए ।
आयोजना निर्माणबाट तुलसीपुर क्षेत्रका नयाँ बसपार्क, रानीजरुवालगायतमा बसोबास गर्ने उपभोक्तालाई खानेपानी सहज हुने जनाइएको छ । समितिले पुराना पाइपको मर्मत तथा नयाँ पाइप जडानसमेत गरिरहेको छ ।
समितिले विभिन्न स्थानमा रहेको करिब एक सय खानेपानी वितरण च्याम्बरहरू निर्माण गरी पूर्णरूपमा सुरक्षित बनाएको छ । जिआइएस प्रविधि तथा मोबाइल एप्स प्रणाली लागू गर्दै सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउने प्रक्रिया अघि बढाएको छ ।
निकट भविष्यमा स्मार्ट मिटर जडान गरी उपभोक्तालाई पारदर्शी विलिङ उपलब्ध गराउने लक्ष्य लिइएको समितिले जनाएको छ ।








