बाँदर र बँदेल नियन्त्रणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधि सभामा पेस

काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँले प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा उनले सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका हुन् । उनले प्रस्तुत गरेको प्रस्तावमा ‘नेपालको ग्रामीण क्षेत्रमा बाँदर र बँदेलको आतंकबाट खेतिबाली नष्ट भई किसानहरूको सुरक्षामा समेत खतरा पैदा भएकोले समस्याको दीर्घकालीन समाधान गर्दै कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राख्नको लागि नीति निर्माण र कार्यान्वयनको आवश्यकता भएको’ छ ।

जरुरी सार्वजनिक महत्वको प्रस्ताव राख्दै सांसद बजगाईँले बाँदर बँदेलकै कारण मानवबस्ती विस्थापित भएको बताए । उनले पछिल्लो समय मानव–वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको बताए । उनले दर्ता प्रस्तावमा बाँदर र बँदेल नियन्त्रण गरि कृषिबाजी जोगाउने उपाय समेत उल्लेख बताए ।

प्रस्तावका समर्थक एवं नेपाली काँग्रेसका सांसद उदय समशेर ज.ब.रा.ले बाँदर र बँदेलका कारण खेतीमात्र नष्ट नभई गाउँबाट घरपरिवार नै विस्थापित हुनुपर्ने अवस्था आएको बताए । उनले पछिल्लो समय जंगली जनावरकै कारण गाउँ छोडेर उपत्यका झर्नेहरू बढ्दै गएको कारण बाँदर र बँदेल नियन्त्रका लागि वैज्ञानिक नीति बनाउन जरुरी रहेको बताए । उनले बाँदर धार्मिक परम्परासँग जोडिएको कारण मार्न नहुनेमा उनको जोड छ ।

उनले भने ‘विशेष गरी बितेको दुईतीन वर्ष यता पहाडी क्षेत्रहरूमा र पछिल्लो समय उपत्यकामा पनि बाँदरको आतंकको कारणले बाली नष्ट हुने एक ठाउँमा छ । तर कतिपय ठाउँहरूमा घरपरिवार सरेर उपत्यकामा झर्ने परिस्थिति समेत बनेको छ । हामीले पनि बाँदर मार्ने कुरा आउँदैन । यो धार्मिक कुरा पनि हो । त्यसकारण यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ त्यसमा सम्बन्धित मन्त्रालयले ध्यान पु¥याउन सकिन्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले यस जरुरी महत्वको प्रस्तावलाई अवसरमा परिवर्तन गर्नुपर्ने बताए । उनले बाँदर नियन्त्रणका लागि मार्ने नभई बन्ध्याकरणको नीति अपनाउनुपर्ने बताए ।

प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै अधिकांश सांसदहरूले जंगली जनावरका कारण कृषि क्षेत्र संकटमा परेको उल्लेख गर्दै सम्बन्धित मन्त्रालयले काम गर्न जरुरी रहेको धारणा राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =