अछामको बयलपाटा अस्पतालको निःशुल्क सेवालाई निरन्तरता दिइने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अछाममा रहेको बयलपाटा अस्पतालको निःशुल्क सेवालाई निरन्तरता दिने बताएका छन् ।

सोमवारको प्रतिनिधि सभामा सांसद शेरबहादुर कुँवरले सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएपछि सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले अस्पतालको निःशुल्क सेवा निरन्तरताका लागि सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गर्ने बताए । उनले अहिले पनि अस्पतालले स्थानीय सरकारको सहकार्यमा निःशुल्क सेवा प्रदान गरी रहेको बताए ।

उनले भने ‘हाल उक्त अस्पताल सम्बन्धित स्थानीय सरकारको सहकार्यमा सामाजिक विकास मन्त्रालयमार्फत सञ्चालनमा रहेको छ । बयलपाटा अस्पताल अहिले पनि सुचारु रुपमा चलिरहेको स्थिति छ । माननीयज्यूले जुन प्रस्तुत गर्नुभएको छ, यसको आधारमा हामीले सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमसँग समन्वय गर्नेछौँ, यो अस्पताललाई निरन्तर चलाउन आवश्यक छ । यो पूर्णरुपमा निःशुल्क उपचार उपलब्ध गराउने गरी चलिरहेको अवस्था छ त्यसलाई त्यही रुपमा अगाडि बढाउन प्रदेशसँग र स्थानीय तहसँग सहकार्य गर्ने अगाडि बढ्ने विषयलाई म यहाँ अनुरोध गर्न चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले सरकारबाट प्रदान गरिने अनुदान रकमको अभावले विपन्न र पछाडि परेका नागरिकहरूले अस्पतालबाट पाउने निःशुल्क सेवाबाट वञ्चित हुने अवस्था आएको भन्दै स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =