खबर दिनभर : समृद्धिको यात्रामा साथ दिन ओलीको आग्रह, पूर्वराजालाई प्रधानमन्त्री बन्न सुझाव

जन्मदिनमा प्रधानमन्त्रीले भने – सुशासन र समृद्धिको यात्रामा साथ दिनुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई छिटोछरितो सेवा दिएर सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीको ७४औँ जन्मदिनका अवसरमा उनलाई शुुभकामना दिन आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई गरिएको ‘वर्थ डे विस’ले देशको गरिबी हटाउने तथा सुशासन र समृद्धि कायम गर्ने कामको नेतृत्व गर्नमा सफलता मिलेमा त्यसको सार्थकता हुने बताए ।

“सेवा प्रवाहका कुरामा सेवाग्राहीलाई सकारात्मकभावका साथ काम गरेर विकास निर्माण र सुुशासन कायम गर्ने काममा मलाई मद्दत गरेर शुुभकामनालाई सार्थक बनाउन व्यवहारिक रुपमा त्यसअनुसारको काम गर्न म आग्रह गर्छु”, प्रधानमन्त्री ओलीले भने, “हामी भ्रष्टाचार गर्दैनौँ र गर्न दिन्नौँ तर मुलुक सम्पत्ति शुद्धीकरणका सन्दर्भमा देश ग्रे लिष्टमा परेको छ । यसलाई हटाउनुुछ । मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन । हामी कमिसनका लागि ठेक्कापट्टाका काम गर्दैनौँ । विकास निर्माणका लागि ठेक्का लगाउँछौँ । यसमा सबैको साथ होस् भन्ने मेरो चाहना हो ।’’

सो अवसरमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, सरकारका मुख्यसचिव एकनारायण अर्याल, सचिवहरु र राष्ट्रसेवक कर्मचारीको सहभागिता रहेको थियो । यसैबीच, प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली आज एमाले केन्द्रीय कार्यालयले ललितपुरको च्यासलमा आयोजना गरेको जन्मदिनको कार्यक्रममा समेत सहभागी भएका छन् ।

प्रधानन्यायाधीशको नाममा नक्कली ट्विटर आइडी बनाएर प्रचार गरिएपछि…

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको ट्विटर (एक्स) अकाउन्ट नभएको र नक्कली आइडी बनाएर गलत प्रचार गरेकाप्रति प्रधानन्यायाधीशको निजी सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानन्यायाधीशको निजी–सचिवालयका उपरजिस्ट्रार नवीनकुमार यादवले आज जारी गरेको प्रेस विज्ञप्तिमा एउटा मिडियाले ‘प्रधानन्यायाधीश राउतको ट्विटर ९एक्स० अकाउन्टबाट असान्दर्भिक पोस्ट, ह्याक भएको आशङ्का’ शीर्षकमा प्रकाशित समाचार र सो समाचारमा सङ्लग्न ट्विटर अकाउन्ट एवं सोमा लेखिएको व्यहोराप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

“सर्वोच्च अदालतको गरिमा र मर्यादा घटाउने तथा प्रधानन्यायाधीशको व्यक्तित्वमा क्षयीकरण गराई न्यायपालिकाप्रति भ्रम सिर्जना गर्ने दुष्प्रयास गरेकाले सो ट्विटमा उल्लेख भएको झुटो व्यहोराप्रति विश्वास नगर्न सबैमा अनुरोध गरिएको छ”, विज्ञप्तिमा भनिएको छ, “यस प्रकारको गलत एवं भ्रामक सामग्री तत्काल हटाउन तथा सो सामग्री ट्विटर गर्ने व्यक्तिलाई शीघ्र कानुनी दायरामा ल्याउन अनुसन्धान गर्ने निकायलाई आवश्यक निर्देशन दिई सकिएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।”

प्रधानमन्त्री ओली संसद विघटन गर्न अग्रसर रहेको माओवादी केन्द्रको आरोप

माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्न लागि परेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित पार्टीको भ्रातृ संगठन प्रेस सेन्टरको अधिवेशनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले आफू सभामुख हुँदा प्रधानमन्त्री ओलीले दुई पटक संसद विघटन गरेको बताए । उनले संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने र बहुमत ल्याउने केपी ओलीको चाहना पूरा नहुने बताए ।

उनले सरकारले अध्यादेश ल्याएर संसदको अपमान गर्न खोजेपनि सरकार अध्यादेशको पासोमा परेको दाबी गरे ।

उनले भने ‘अझैपनि ठूला ठूला घटना घटाउन सक्छन् यिनीहरूले । फेरि म जोड दिएर भन्छु कि पहिला म सभामुख भएको बेलामा दुई पटकसम्म सदन विघटन गरेको थियो । आज पनि त्यतैतिर उद्यत छ यो सरकार र यो सरकारका प्रधानमन्त्री । झम्टी झम्टी दुई चोटि विघटन गरेको यो अध्यादेशका कुरा यो सबै फेरि पनि उहाँलाई के लागेको छ भने सदन विघटन गरेर चुनावमा गएँ भने मैले बहुमत ल्याउँछु भन्ने लाग्छ, बहुमत त हजार कोष टाढाको कुरा भयो तर उनलाई त्यो लागिरहेको छ र सदन विघटन गर्नेतिर नै उद्यत भइरहेका छन् ।’

उपाध्यक्ष सापकोटाले जनताको आवाज मुखरित गर्ने संसद विगत २३ दिनदेखि सरकारले कामविहीन भएको लज्जास्पद अवस्था बनाएको आरोप लगाए । उनले विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत तथा सुशासन पक्षमा काम गर्ने कर्मचारीलाई सरकारले प्रताडना दिई हटाउन खोजेको तर जनताको साथ भएकाले सरकार पछि हटेको दाबी गरे ।

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले जनजीविकाका विभिन्न विषयमा आवाज उठाएका छन् । बैठकको शून्य समयमा उनीहरूले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद अच्युतप्रसाद मैनालीले नेपाल रेल तथा सुरुङ मार्गको युगमा प्रवेश गरेको अवस्थामा सोसम्बन्धी दक्ष जनशक्ति उत्पादनका लागि इञ्जिनियरिङ पढ्न छात्रा वृत्तिको व्यवस्था गर्न माग गरे ।

सांसद अनिसा नेपालीले सल्यानटार र जाजरकोटका भूकम्प पीडितमध्ये ४० प्रतिशतले अहिलेसम्म राहत नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद अमनलाल मोदीले भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयमा नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गर्दै सरकारले त्यसमा विशेष पहल गर्न नसकेको टिप्पणी गरे ।

सांसद अर्जुननरसिंह केसीले मुलुक भ्रष्टाचारको सूचकाङ्कमा एक श्रेणी अघि बढेको भन्दै यसले वित्तीय व्यवस्थामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय जनतमा मुलुकको साख कमजोर बनाउने बताए ।

उनले विश्सनीयता कायम गर्न अहिलेसम्म भ्रष्टाचार काण्डको छानबिनका लागि पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरी छानबिन गर्नुपर्ने माग गरे । उनले भ्रष्टाचार नियन्त्रण गर्न पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध लगाउनुपर्ने धारणा राखे ।

सांसद अशोककुमार चौधरीले सिरहाको लहान नगरपालिकास्थित खुट्टी खोलाको पुराना नहर हटाउनेसम्बन्धी निर्णयले किसानलाई गम्भीर असर परेको उल्लेख गर्दै छ दशकदेखि हजारौँ कृषकले यो नहरबाट सिँचाइको प्रयोग गर्दै आएकामा अहिले ढलमा प्रयोग गर्नु गैरकानुनी भएको बताए ।

सांसद अञ्जनी श्रेष्ठले जेहेन्दार छात्रवृत्तिमा पढेका चिकित्सकले सरकारले गरेको सहमति पालना गरी विदेश जान चाहेमा राजीनामा स्वीकृत नहुँदा समस्या परेका बताइन् । उनले अर्को व्यवस्था गर्न नसक्दा विद्यार्थी समस्यामा परेका भन्दै समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद आश्माकुमारी चौधरीले घोराही–तुलसीपुर सडकखण्डमा चार लेनको बाटो नबन्दा जनताले धुलो र असुरक्षित यात्राका कारण सास्ती भोग्नु परेकाले निर्माणलाई तीव्र गतिमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद असिम साहले संयुक्त अधिराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिने अनुदानलाई ठगी भनेपछि प्रश्न उठेको तथा एमसिसीको अनुदान नै रोक्का गरेपछि यसको निरन्तरताका बारेका सरकारबाट हालसम्म केही प्रतिक्रिया नआएको भन्दै स्पष्ट धारणाको माग गरे ।

सांसद उर्मिला माझीले माझी समुदायको ‘लदी’ पर्वलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक बिदा दिन माग गरिन्। सांसद ईश्वरबहादुर रिजालले राज्य शक्तिको स्रोत जनता भएको बताउँदै हुकुमी तन्त्रलाई जनताले नस्विकार्ने बताए ।

सांसद उदयशम्शेर जबराले सरकारको सडक विस्तार कार्यक्रम अन्योलमा परेकाले स्पष्ट नीति बनाएर उपत्यकाका यात्रुलाई सहज यात्रा गर्ने व्यवस्था गराउन सरकारले ध्यान दिनुपर्ने माग गरे ।

सांसद एकनाथ ढकालले दरबारमार्गको सडक पेटीमा ग्रेनाइट बिछ्याएर दृष्टिविहीनमैत्री नबनाएको भन्ने गुनासो आएको हुनाले महानगरको सडकपेटी निर्माण गर्दा मौलिक परम्परालाई ध्यान दिँदै अपाङ्गमैत्री बनाउनुपर्नेमा जोड दिए ।

सांसद कान्तिका सेजुवालले रोयल्टी बाँडफाँटको नयाँ प्रतिवेदन आएको र रोयल्टी बाँडफाँटमा निर्धारण प्रतिशत र विषयहरू अव्यवहारिक भएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद कालुराम राईले मिर्गौला प्रत्यारोपण नियमन तथा निषेध ऐन, २०५५ कानुन संशोधन गरेर सर्वसाधारणले उपचार गर्न सक्ने बनाउनुपर्ने बताए ।

सांसद किरणकुमार साहले विदेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षाबारे सरकारले चासो लिनुपर्ने र भारतमा भएको एउटा घटना मात्रै होइन अमेरिका, अष्टे«लिया, युरोपमा पनि विद्यार्थीले दुःख पाएको र आत्महत्या गरेको धेरै घटनाहरू भइरहेकाले विद्यार्थीको गुनासो सुन्ने निकाय बनाउनुपर्नेमा जोड दिए ।

सांसद कुसुमदेवी थापाले महालेखा परीक्षकले जहिले पनि वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने गरेको भए पनि त्यसले देखाएको कमजोरीलाई सुधार गर्ने सम्बन्धमा पहल भएको नदेखिएकाले त्यसप्रति ध्यान दिन सरकारलाई आग्रह गरे ।

सांसद गणेश पराजुलीले सङ्घीय सरकारले स्थानीय तहको काममा अवरोध खडा गर्न नहुने र स्थानीय सरकारको कामकारबाहीलाई हस्तक्षेप गर्न नहुने बताए ।

सांसद चन्दा कार्की भण्डारीले स्वतन्त्र न्यायिक आयोग गठन गरेर ३५ वर्षदेखिका भ्रष्टचारका घटनाको अध्ययन, अनुसन्धान र छानबिन गर्नुपर्ने माग गरे ।

सांसद छिरिङ ल्हामुलामा ९तामाङ०ले सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार रोख्ने खालका कानुन बनाए पनि त्यसको कार्यान्वयन प्रभावकारी नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद जीवन परियारले कोभिड–१९ ले विश्वलाई आतङ्कित बनाएको बेलामा १७ लाख नागरिकले बिमा गरे पनि त्यसको भुक्तानी आजसम्म हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

 

एमालेलाई बलियो बनाउन ‘जरा केन्द्रित’ अभियान : शङ्कर पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमाले पार्टीलाई बलियो बनाउनका लागि ‘जरा केन्द्रित अभियान’ सञ्चालन गरेको बताएका छन् ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार भएको नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (नेपोन) बागमती प्रदेश कमिटी दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जरा केन्द्रित अभियानको मिसन २०८४ सालमा हुने निर्वाचनमा एमालेलाई निर्णायक शक्तिका रुपमा स्थापित गर्ने रहेको बताए ।

मुलुक बनाउनका लागि बलियो राजनीतिक दल आवश्यक रहेको उल्लेख गर्दै महासचिव पोखरेलले एमाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सक्ने क्षमता बोकेको पार्टी भएको बताउनुभयो । उहाँले निर्णायक शक्ति निर्माण गर्ने यात्रामा भूपुपूर्व सैनिक तथा प्रहरी सङ्गठनको योगदान रहने बताए ।

नेपालमा रहेको जनशक्तिलाई सीप, ज्ञान र क्षमता प्रदान गरेर परिचालन गर्न अहिलेको आवश्यकता रहेको महासचिव पोखरेलको भनाइ थियो । उनले बलिया राजनीतिक दल निर्माण गरेर राज्यलाई बलियो बनाउनुपर्ने बताए ।

“जबसम्म पार्टी बलियो हुँदैन जनता बलिया हुँदैनन । पार्टी बलियो नभई राज्य बलियो हुँदैन । त्यसैले लोकतन्त्रमा राज्य बलियो बनाउन बलिया पार्टी आवश्यक हुन्छन”, महासचिव पोखरेलले भन्नुभयो । उहाँले नागरिकलाई पुँजी निर्माणतर्फ अग्रसर गराउनुपर्ने बताए ।

सङ्गठनका अध्यक्ष विनोद पाण्डेले मुलुकमा देखिएको अस्थिरता एमाले र नेपाली कांग्रेस मिलेर चिर्ने काम गरिरहेको बताए । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

संवैधानिक व्यवस्थाअनुसार नै ताप्लेजुङमा केबलकार निर्माण हुन्छ : योगेश भट्टराई

नेकपा (एमाले) का सांसद योगेश भट्टराईले संवैधानिक व्यवस्थाअनुसार नै ताप्लेजुङ मा केबलकार निर्माणको काम अगाडि बढेको दाबी गरेका छन् ।

आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै केबलकार निर्माणको जिम्मेवारी निजी संस्थालाई दिएको दाबी गरेका हुन् ।

उनले विकास निर्माणको विरोध गर्ने अधिकार सबैलाई भएपनि त्यसको सीमामा रहेर विरोध गर्नुपर्ने बताए ।

उनले केबलकार विरोधी समूहले शनिवार राति मसाल जुलुस गर्ने क्रममा स्थानीयको घरमा आगोको मुस्लो फाल्ने काम गरेको समेत आरोप लगाए ।

उनले केबलकार निर्माणको विषयमा धर्म र संस्कृतिमाथि व्यक्तिको निजी स्वार्थ प्रयोग गरिएको बताए । उनले विकास निर्माण र धर्मसंस्कृतिमाथि राजनीति प्रवेश गराउँदा त्यसले डरलाग्दो रूप लिने समेत बताए । ‘संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले संवैधानिक व्यवस्थाअनुसार नै ताप्लेजुङमा केबलकार निर्माण गर्न एउटा निजी संस्थालाई जिम्मेवारी दिएको छ । विरोध गर्ने अधिकार सबैलाई हुन्छ । तर विरोधका सीमा हुन्छन् सभामुख महोदय । त्यसलाई सभ्य, संयमित र शान्तिपूर्ण ढंगले अगाडि बढाउनुपर्छ भन्ने हामी सबैको मान्यता हो । तर दुर्भाग्यवश हिजो बेलुका केबुलकार विरोधी समूहबाट भएको मसाल जुलुसको क्रममा ताप्लेजुङ बजार एकदमै अशान्त भयो’ उनले भने ।

उनले नेपालजस्तो लोकतान्त्रिक मुलुकमा यस्तो परिस्थिति निर्माण हुनु आफैँमा दुःखद् भएको भन्दै वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए ।

पूर्वराजालाई वामदेवको सुझाव– संसदबाट प्रधानमन्त्री बनेर नेपालको चौतर्फी विकास गर्नुस्

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले पुनः राजा बन्ने चाहना परित्याग गरेर प्रजातान्त्रिक राजनीतिक गरी प्रधानमन्त्री बन्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिक पार्टीका नेताहरुले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाउ भन्नु उचित नहुने बताए ।

उनले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराइ २०८४ मा हुने निर्वाचनमा भाग लिन सुझाव दिए ।

निर्वाचित भइ संसदबाट प्रधानमन्त्री बनेर नेपालको चौतर्फी विकास र समृद्धि कायम गर्न आग्रह गरे ।

उनले भने– ‘राजा महेन्द्रलाई चितवनको दियालो बंगलामा हत्या गर्ने पनि राज परिवारकै व्यक्ति हुन् । त्यसपछि राजा वीरेन्द्रको राजसहित उनको वंश विनाश गर्ने पनि राजपरिवारकै सदस्यहरु हुन् । राजा वीरेन्द्रको हत्यापछि राजा बनेका ज्ञानेन्द्रलाई नेपालका सबै राजनीतिक पार्टीहरुले स्वीकारेकै थिए । राजनीतिक पार्टीका नेताहरुले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाउ भन्नु उचित हुँदैन । तपाईंले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस् र केही समयपछि २०८४ मा हुने निर्वाचनमा भाग लिनुस् । निर्वाचित भइ संसदबाट प्रधानमन्त्री बन्नुस् र नेपालको चौतर्फी विकास र समृद्धि कायम गरी देखाइदिनुस् ।’

उनले राजा महेन्द्रलाई चितवनको दियालो बंगलामा हत्या गर्ने पनि राज परिवारकै व्यक्ति भएको र राजा वीरेन्द्रको वंश विनाश गर्ने पनि राजपरिवारकै सदस्यहरु भएको आरोप लगाए ।

रिङ्कुकुमारी मृत्यु प्रकरण : आठ जना नियन्त्रणमा

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटना प्रकरणको अनुसन्धानका लागि प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ ।

पञ्चायत बसेर पीडित परिवारलाई घटना ढाकछोप गर्न र लेनदेनमा मुद्दा मिलाउन दबाब दिने तथा प्रत्यक्षदर्शी गरी आठ जनालाई नियन्त्रणमा लिइएको छानबिन समितिका संयोजक वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

नियन्त्रणमा रहेकाविरुद्ध जाहेरी नपरेको र घटना दबाउन पीडित परिवारलाई आर्थिक प्रलोभन दिएको पुष्टि भए सोहीअनुसार कारबाही हुने उनले बताए ।

गत माघ २७ मा शौच गर्न गएकी रिङ्कुलाई अपहरण गरी तीन युवाले बलात्कार गरी अचेत अवस्थामा घर पुर्‍याएको बताइएको छ । उनले आफूमाथि बलात्कार गरेको रिङ्कुले बताएकी थिइन् । घटना मिलाउन गाउँमै पञ्चायत भएको थियो । त्यसको भोलीपल्ट माघ ३० मा रिङ्कु घरमै झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

सुरुमा इलाका प्रहरी कार्यालय लहानले आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अघि बढाएकामा सामूहिक बलात्कार भएको समाचार सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति बनाएको छ ।

पीडित परिवारले बलात्कारका तीन आरोपी र पञ्चायतमार्फत दबाब दिने पाँच पञ्चसहित आठ जनामाथि गत बिहीबार कर्तव्य ज्यान, जबरजस्तीकरणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा पुरक जाहेरी दिएका छन् । जाहेरीमा किटान गरिएका व्यक्ति भने कोही पनि पक्राउ परेका छैनन् ।

रिङ्कुको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइए पनि हालसम्म रिपोर्ट नआएको वरिष्ठ प्रहरी उपरीक्षक कोइरालाले बताए ।

‘अब पार्टी भित्र अन्याय हुन दिन्न’ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्ताहरू माथि अब अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

कांग्रेसको राप्ति स‍ोनारी गाउँपालिका सम्मेलनलाई आइतबार उद्घाटन गर्दै डा।कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफूले लिने बताएका हुन ।

नेता डा।कोइरालाले थपे ‘ढुक्क भएर संगठन गर्नुस्, समयमै सदस्यता नवीकरण गराउनुस् ।’

सबै तहका कांग्रेस कार्यकर्ताहरू पार्टीको विधान अनुसार अघि बढ्न निर्देशन समेत दिए ।

व्यक्ति बलियो होइन संस्था बलियो बनाउनु पर्ने धारणा राख्दै देश दौडाहामा रहेका नेता डा। कोइरालाले आगामी महाधिवेशन निर्धारित समयमै हुनुपर्ने समेत बताएका छन् ।

निरन्तर जिल्ला भ्रमणमा रहेका कांग्रेस नेता डा. कोइराला शनिवार नेपालगन्जमा पुगेका थिए ।

त्रिशूलीमा बेपत्ता रानाको शव नौ दिनपछि फेला

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित ३ नम्बर पुलबाट मोटसाइकल दुर्घटना भई त्रिशूली नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ ।

लमजुङको साविक चन्द्रेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ रामनगर बस्ने वर्ष २७ को रोहित रानाको शव नौ दिनपछि आज बिहान फेला परेको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार दुर्घटना भएको करिब एक सय मिटर तल नदीमा तैरिरहेको अवस्थामा शव फेला परेको हो ।

रानाको शवलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नदीबाट उद्धार गरी शव परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको प्रहरी निरीक्षक भण्डारीले बताए । निरीक्षक भण्डारीका अनुसार रोहितका परिवारले शव सनाखत गरिसकेका छन् ।

यही फागुन २ गते नारायणगढबाट काठमाडौँतर्फ जाँदै गर्दा रोहित सवार बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकल सडकमै अडिएको थियो भने रोहित त्रिशूलीमा खसेका थिए । रोहित भारतीय सेनामा कार्यरत रहेका थिए ।

नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि बढेको छ । नेप्से परिसूचक ११ दशमलव ६६ अङ्कले बढेर दुई हजार सात सय ५५ दशमलव ४० को विन्दुमा कायम भएको हो ।

आज तीन सय २८ कम्पनीको दुई करोड १२ लाख छ हजार कित्ता शेयर एक लाख आठ हजार नौ सय १३ पटक खरिदबिक्री हुँदा रू ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार छ सय १२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव शून्य तीन, लगानी एक दशमलव ३३, जीवन बिमा शून्य दशमलव ८६, उत्पादन तथा प्रशोधन दुई दशमलव ७८, म्युचुअल फण्ड शून्य दशमलव शून्य दुई, निर्जीवन बिमा शून्य दशमलव १३ र अन्य समूह तीन दशमलव ७२ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

विकास बैंक शून्य दशमलव ४८, वित्त शून्य दशमलव ४५, होटल तथा पर्यटन शून्य दशमलव ५०, जलविद्युत् शून्य दशमलव ५६, लघुवित्त शून्य दशमलव ६६ र व्यापार समूह एक दशमलव ३२ प्रतिशतले घटेको हो । गार्डियन माइक्रो लाइफइस्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने रिलायन्स फाइनान्स लिमिटेडको शेयर मूल्य सात दशमलव २४ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ९५ करोड ६४ लाख ५१ हजार तीन सय ६६ बराबरको नौ लाख ९० हजार छ सय ७२ कित्ता शेयर किनबेच भएको छ ।

फेरि बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९आइतबार० सुन प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

छापावाल सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने २० रुपैयाँले घटेर १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल र म्यानमारबीचको खेल बराबरीमा सकियो

चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यानमाबीचको आइतबार भएको खेल बराबरीमा सकिएको छ । लिग चरणको अन्तिम खेलमा दुवै देशले उक्त खेल २–२ गोलको बराबरी खेलेका हुन् ।

दशरथ रङ्गशालामा भएको खेलअन्तर्गत पहिलो हाफ नेपाल र म्यानमाले २–२ गोलको बराबरी खेलेका थिए । तर दोस्रो हाफको खेलमा भने दुवै टोलीले गोल गर्न सकेनन् ।

पहिलो हाफमा खेलको छैठौँ मिनेटमा घरेलु दर्शकलाई स्तब्ध पार्दै म्यानमाले पहिलो गोल गरेको थियो । उक्त गोल म्यानमाका लागि फ्रि–किकमा म्याट नोइ खिनले गरेकी थिइन् । लगत्तै खेलको ११ औँ मिनेटमा नेपालका लागि सविता रानामगरले गोल गरिन् । उनले खेललाई १–१ गोलको अवस्थामा पुर्‍याइन् ।

यसैगरी खेलको १७औँ मिनेटमा म्यानमाले नेपालविरुद्ध दोस्रो गोल गर्यो । म्यानमाका लागि उक्त गोल मे टेट लुले गरेकी थिइन् । पहिलो हाफको अन्तिम समयमा नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरिन् । उनले खेलको ४१औँ मिनेटमा प्रीति राईको उत्कृष्ट पासमा गोल गरेकी थिइन् ।

दोस्रो हाफमा भने नेपाल र म्यानमाका तर्फबाट पटक पटक गोल गर्ने प्रयास भए पनि सफल भने हुन सकेनन् । यसअघि नेपाल र म्यानमाले लेबनान र कीर्गिस्तानलाई पराजित गरेका थिए । अब नेपाल र म्यानमाबीच बुधबार फाइनल खेल हुने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =