प्युठानमा दम्पती हत्या प्रकरण : भतिजा पक्राउ

काठमाडौँ । प्युठानमा घरभित्रै मृत भेटिएका दम्पती हत्या प्रकरणमा भतिजा पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूको हत्या गरेको आरोपमा भतिजा नाता पर्ने ३४ वर्षीय पंकज नेपालीलाई आज पक्राउ गरेको हो ।

प्यूठानका प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालका अनुसार उनले हत्याबारे पनि स्वीकारेका छन् ।

पंकजको घर मृतकको घरबाट ६० मिटर टाढा मात्रै रहेको छ ।

ती दम्पतीले सधैँ गाली गर्ने, रिसाउने, घर पनि नआइज भन्ने जस्ता कुरा गर्नाले रिसमा आएर घनले हिर्काएर हत्या गरेको भनेर पंकजले स्विकारेको डिएसपी बस्यालले बताए ।

हत्यामा प्रयोग भएको घन घरभन्दा करिब ५० मिटर पर बारीमा रगत लतपतिएको अवस्थामा फेला परेको थियो ।

शनिवार दिउँसो माण्डवी गाउँपालिका–२ रातमाटेमा ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार आफ्नै घरभित्र मृत फेला परेकी थिइन् ।

शनिवार दिउँसो १२ बजेसम्म पनि घरको ढोका नखुलेपछि छिमेकीले ढोका ढकढक्याउन गए । तर कराएर बोलाउँदा पनि भित्रबाट कोहीले जवाफ नदिएपछि ती छिमेकीले ढोकाबाटै घरभित्र चिहाएर हेरे ।

उनीहरू मृत देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । दुवै मृतकको शरीर र टाउकोमा गम्भीर घाउ खतहरू देखिएका थिए ।

डिएसपी वस्यालले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । उनले उक्त घरमा बुढाबुढी मात्रै रहेको र उनीहरूका चार छोरा भारतमा रहेको जानकारी दिए । उनका अनुसार मृतकका दुई छोरी विवाह भई दाङ बस्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =