पर्यटन प्रवर्धन गर्न उद्यमीका लागि अवसर सिर्जना गर्नुपर्नेमा जोड

बाँके । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र वैकल्पिक जीविकोपार्जनसँगै पर्यटन प्रवर्धन गर्न स्थानीय पर्यटन उद्यमीका लागि अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ ।
आज बाँके राष्ट्रिय निकुञ्जले आयोजना गरेको कार्यशाला गोष्ठीका सहभागीद्वारा स्थानीय पर्यटन उद्यमीका लागि अवसर सिर्जनासँगै आर्थिक अवस्था सुदृढ बनाउन सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिइएको हो ।
उक्त कार्यशाला गोष्ठीमा स्थानीय, प्रदेश र सङ्घीय जनप्रतिनिधिका साथै विभिन्न उद्योग सञ्चालन गरिरहेका युवा व्यवसायी, सम्बद्ध सरोकार भएका निकायहरूको सहभागिता थियो ।
लुम्बिनी पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीले बाँकेको पर्यटन प्रवद्र्धनका लागि यस क्षेत्रका धार्मिक स्थल र पर्यटकीय क्षेत्रको भ्रमण गर्ने सहज वातावरण बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘यहाँ पर्यटनका माध्यमबाट विकास गर्न सकिने धेरै सम्भावनाहरू छन् । पर्यटकीय गतिविधि सञ्चालन गरी स्थानीय पर्यटन उद्यमीका लागि अवसर सिर्जना गर्ने उद्देश्यले प्रदेश परिषद् ‘टुर प्याकेज’ का कार्यक्रम बनाउने योजनामा छ ।’
आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने उद्देश्यले परिषद्ले बनाउने योजनामा अन्तर प्रदेश समन्वय र सहकार्यलाई जोड दिइने कार्यकारी निर्देशक जोशीले उल्लेख गरे । उनले पर्यटन व्यवसायका क्षेत्रमा कलम चलाउने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई राज्यले विशेष संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याए ।
प्रतिनिधिसभाका सांसद सूर्य ढकालले बाँके पर्यटकीय रूपमा प्रशस्त सम्भावना बोकेको जिल्ला रहेको बताउँदै तीनै तहका सरकारले आपसी समन्वय गरी विशेष योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । सङ्घीय सरकारद्वारा गरिने भूमिकामा आवश्यक सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए ।
नेपाल पर्यटन र संस्कृतिले सम्पन्न भएको मुलुक भएकाले यहाँ भएका धार्मिक स्थल, विभिन्न जातजातिका रीतिरिवाज, परम्परा, संस्कृति, खानपिनलगायको प्रवर्धन गरी स्थानीयलाई जीविकोपार्जनका नयाँ अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।
बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत वीरेन्द्र कँडेलले निकुञ्ज स्थापनाको उद्देश्यसँगै निकुञ्जले प्राप्त गरेका उपलब्धिका विषयमा जानकारी गराएका थिए ।
बाघ संरक्षणको उद्देश्य राखी वि.सं २०६७ मा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जमा हाल बाघको सङ्ख्या २३ रहेको उनले उल्लेख गरे ।
बाघको सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती थपिएको बताउँदै कँडेलले बाघ संरक्षणका लागि आहारा प्रजातिका जनावरको सङ्ख्या वृद्धि गर्नुपर्ने भन्दै सोका लागि घाँसे मैदानको क्षेत्रलाई बढाउँदै लगिएको जानकारी दिए ।
उनका अनुसार निकुञ्जको ओभरी नजिकै क्षेत्रमा हात्ती सफारी, जङ्गल सफारी (ड्राइभ) र पैदल यात्राका लागि विभिन्न ‘प्याकेज’ निर्माण गरिएको छ । गिद्देनीचौरमा मचान निर्माण गरी जङ्गल क्षेत्रको दृश्यावलोकन, पैदलयात्रा, जङ्गल ड्राइभको व्यवस्था गरिएको उनको भनाइ छ ।
वातावरण तथा ग्रामीण विकास केन्द्र (इनरुडेक) र जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) को संयुक्त साझेदारीमा सम्पन्न भएको उक्त कार्यशालामा लुम्बिनी प्रदेशसभाका सांसद नमूना केसीले बाँके निकुञ्जसँगै जोडिएको गाभर क्षेत्रलाई पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
गाभरमा मात्रै वार्षिक २५ हजार आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका बताउँदै उहाँले त्यस क्षेत्रमा आउने पर्यटकलाई निकुञ्जसम्म लैजाने गरी तयारी र योजना बनाउन आवश्यक रहेको बताए ।
‘गाभरमा थारू, मुगाली र हुम्ली संस्कृतिको सम्मिश्रण पाइन्छ । वरिपरि निकुञ्ज क्षेत्र भएकाले पदयात्रा र वन्यजन्तु अवलोकनका लागि यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ’, उनले भने, ‘बाँकेका प्रत्येक होटेलमा छिर्दा पाहुनाले निकुञ्जका तस्बिर देख्न पाउनुपर्छ । यो पनि पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने माध्यम हो ।’
कार्यशाला गोष्ठीमा महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक हरि सुवेदीले पछिल्लो समय बाँके पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गए पनि पर्यटन उद्यमीका लागि व्यावसायिक योजना बन्न नसकेको बताए ।
उनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सरोकार भएका निकायबिच सहकार्य र समन्वय हुन आवश्यक रहेको बताउँदै यहाँको चुरे क्षेत्रलाई पनि विशेष संरक्षण गर्नुपर्नेमा जोड दिए ।
जिल्लाका पर्यटन उद्यमी लागि अवसर सिर्जना गर्दै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले आयोजित सो गोष्ठीले छ बुँदे ‘कोहलपुर घोषणापत्र’ सार्वजनिक गरेको छ ।








