संविधान मिच्न बानी परेकाहरु कानून मिच्न पनि त्यत्तिकै अग्रसर छन् : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा कानून मिच्ने काम भइरहेको आरोप लगाएका छन् ।
आज पार्टीको बैठकमा बोल्दै उनले कानून मिच्ने काम भइरहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधान मिच्न बानी परेकाहरु कानून मिच्न पनि त्यत्ति नै अग्रसर देखिएको टिप्पणी गरे ।
उनले सरकारले संसदको नियम र नियमावली समेत मिच्ने काम गरिरहेको आरोप लगाए ।
उनले वर्तमान सरकार आलोचकको घाँटी निमोठ्ने गरी प्रश्तुत भइरहेको समेत उल्लेख गरे । ‘संविधानलाई मिच्ने बानि परिसकेका व्यक्तिहरु कानून मिच्न पनि त्यत्ति नै अग्रसर भएका छन् । संसदको नियम र नियमावलीलाई मिच्नेदेखि लिएर विधि विधानलाई बेवास्ता गर्ने काम गरिरहको छन् । र आफ्ना आलोचक कोही छन् भने तिनिहरुको घाँटी निमोठ्ने काममा अग्रसर भइरहेका छन्,’ उनले भने ।
उनले देशभित्र छुवाछुत र महिला बलात्कारका घटनाहरु बढिरहेको भएपनि अपराधीहरु दण्डित नभएको जिकिर गरे ।
उनले समाजमा विद्यमान समसस्याहरुको समाधान गर्न पार्टी संगठनलाई थप बलियो बनाउँदै लैजानुपर्ने बताए । ‘देशको समस्याप्रति कुनै वास्ता छैन । जनताको समस्याप्रति कुनै चासो छैन । देश विकासप्रति कुनै गम्भिरता छैन’ उनले थपे ।
उनले पार्टीबारे समाजमा विभिन्न कुप्रचारहरु गरिएको उल्लख गर्दै त्यस्ता कुप्रचारको भ्रममा नेपर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।








