अध्यादेश मुलुकमा व्यावसायिक वातावरण निर्माण गर्न ल्याइएको हो : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री एवं नेपाली काँग्रेस सांसद रमेश लेखकले मुलुकमा व्यावसायिक वातावरण निर्माण गर्दै सुशासन कायम गर्नको लागि सरकारले अध्यादेश ल्याएको दाबी गरेका छन् ।
बिहीबार पार्टीनिकट नेपाल वित्तीय संस्थाको आठौँ राष्ट्रिय परिषद्लाई भक्तपुरमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । अध्यादेशले सेवा प्रवाहलाई दुरुस्त बनाउन अध्यादेशले महत्त्वपूर्ण भुमिका खेल्ने उनको भनाइ छ । उनले अध्यादेशको कन्टेन्टमा कसैले पनि फरक मत राखेको नभएतापनि प्रक्रियाकै कारण अहिलेसम्म संसदबाट स्वीकृत गर्न नसकिएको बताए ।
उनले अध्यादेश मुलुकको आर्थिक सुधारका लागि जरुरी भएको कारण सरकार चाँडै नै संसदबाट स्वीकृत गर्ने जिकिर गरे ।
उनले भने ‘आइटी क्षेत्रले अहिलेको नयाँ जेनरेसनलाई आकर्षित गरिरहेको छ । नयाँ पुस्तालाई यहाँ नै सम्भावना देखाइरहेको छ । त्यो सम्भावनालाई झन् ज्यादा बढाउनका लागि हामीले भर्खरै अध्यादेश ल्याएका छौँ । व्यावसायिक वातावरणलाई अनुकूल बनाउनका लागि र सुशासन कायम गर्न तथा सेवा प्रवाहलाई दुरुस्त बनाउनका लागि हामीले अध्यादेश ल्याएका छौँ । अध्यादेशको कन्टेन्टमा कसैले पनि फरक मत राखेको जस्तो मैले देख्दिन । तर प्रक्रियाकै कुरा गरेर हामीले त्यसलाई अहिलेसम्म स्वीकृत गर्न सकेका छैनौँ । तर हामी त्यसलाई स्वीकृत गराउँछौँ चाँडै । किनभने त्यो गर्नैपर्ने काम छ ।’
उनले संविधान संशोधन नेपाली काँग्रेस र नेकपा एमालेले मात्र गर्ने नभई सबै राजनीतिक दलहरूबिच सहमति खोजिने बताए । उनले संविधानको १० वर्षे अभ्यासका क्रममा देखिएका सबल र दुर्लभ पक्षका आधारमा संविधान परिमार्जन गरिने बताए । उनी संविधान संशोधनका लागि कार्यदल गठन गर्न सत्तारुढ दलहरूबिच सहमति समेत भइसकेको बत्ताउँछन् ।
सबैसँग संवाद र सहकार्य गरेर संविधान संशोधन गरिने उनको भनाइ छ ।
उनले भने ‘संविधान लागू भएको १० वर्ष भएको छ । यस १० वर्षको संविधानको अभ्यासमा यसका सबल पक्ष र दुर्लभ पक्षहरू के के रहे रु त्यसको पहचान गर्ने र संविधान परिमार्जन गर्ने र त्यसका लागि सबै राजनीतिक दलहरूबिच सहमति गरेर संविधान संशोधन गर्ने हाम्रो लक्ष्य छ । त्यसका लागि नेपाली काँग्रेस र एमालेले कार्यदल बनाउने कुरामा सहमति भएको छ । केही दिनमा कार्यदल बनेर कार्य प्रारम्भ हुन्छ । नेपाली काँग्रेस र एमालेलेमात्र संविधान संशोधन गर्ने होइन । हामी प्रारम्भ गर्छौं र अन्य सबै राजनीतिक दलहरूलाई समेत यसमा संवादको मार्फत सहमतिमा ल्याउँछौँ । र सहकार्य गरेर संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउँछौँ ।’
उनले सरकारको स्थायित्व कायम गर्दै मुलुकमा सुशासन सुनिश्चित गर्नका लागि वर्तमान समीकरण र सरकार बनेको बताए ।








