गाउँपालिकाको बेवास्ताले बेवारिसे बन्यो सभाहल

बर्दिया । यहाँ स्थित बढैयाताल गाउँपालिकाको एक मात्र सभाहल उपयोगमा चासो नदिँदा निर्माण सम्पन्न नहुँदै जीर्ण र बेवारिसे बनेको छ ।
बढैयाताल गाउँपालिका–८ पशुपतिनगरमा रहेको उक्त सभाहल ७० लाख २६ हजारमा निमार्ण गरिएको थियो ।
दुई सय ४२ वर्ग मिटर क्षेत्रफलमा निर्मित तीन सय जना क्षमताको सुविधा सम्पन्न सभाहलमा शौचालय, आराम कक्ष र पोसाक परिवर्तन गर्ने कक्ष रहेको गाउँपालिकाको योजना शाखा उपप्रमुख उमानबहादुर हमालले जानकारी दिए ।
गाउँपालिका र निमार्ण कम्पनीबिच भएको सम्झौता अनुसार निर्माण कम्पनीले काम नगरेको र समयमा हस्तान्तरण नगर्दा सभाहल जीर्ण र बेवारिसे बनेको वडा नं ८ का वडा सदस्य दिल्लीप्रसाद गौतमले बताए ।
जय बागेश्वरी निमार्ण सेवा कम्पनी र बढैयाताल गाउँपालिकाबिच वि.सं २०७८ जेठ ८ गते ठेक्का सम्झौता भएको थियो ।
सम्झौता बमोजिम पूर्ण रुपमा निर्माण सम्पन्न नभएपछि निर्माण कम्पनीले पुनः भत्किएका ठाउँमा मर्मत सुरु गरेको छ ।
सभाहल उपयुक्त स्थानमा निर्माण नगर्दा महँगो भाडा तिरेर गाउँपालिकाले होटलमा कार्यक्रम गर्ने गरेको स्थानीयको भनाइ छ ।
गाउँपालिकाको कार्यालय रहेको स्थानदेखि पाँच किलोमिटर पश्चिममा निर्मित सभा हलका झ्यालका सिसा फुटेका छन् भने छाडा पशुको विश्राम स्थल र बालबालिका खेल्ने ठाउँ बनेको छ ।








