रास्वपाले भन्यो- ‘राणा शासनको अन्त्यदेखि गणतन्त्रसम्म, प्रजातन्त्र दिवसको ऐतिहासिक महत्त्व छ’

काठमाडौं । नेपालमा प्रजातन्त्र स्थापनाको ऐतिहासिक दिनको सम्झनामा आज ७५ औं प्रजातन्त्र दिवस मनाइँदै छ । विक्रम संवत् २००७ साल फागुन ७ गते नेपालमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको थियो । यसै अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिँदै छ ।
रास्वपाका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले ७५ औं प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली जनतालाई शुभकामना व्यक्त गरेका छन् । उनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि भएका संघर्ष, बलिदान र योगदानको स्मरण गर्दै जनसहभागिता र जिम्मेवारीबोध आवश्यक रहेको बताएका छन् ।
नेपालमा प्रजातन्त्र स्थापनापछि २०४६ सालमा पुनःस्थापना, २०६३ सालमा लोकतन्त्रको उदय, २०६५ मा गणतन्त्रको स्थापनासँगै २०७२ मा नयाँ संविधान जारी भई मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा अगाडि बढेको छ ।
शुभकामना सन्देशमा अर्यालले प्रजातन्त्रलाई मात्र शासन प्रणालीको रूपमा नलिई यसलाई जनताको अभिव्यक्ति, अधिकार र समुन्नत समाज निर्माणको आधार मान्नुपर्ने बताएका छन् । नागरिक स्वतन्त्रता, मानव अधिकार, विधिको शासन, अवसरको समानता, समानुपातिक तथा समावेशी प्रतिनिधित्व जस्ता लोकतान्त्रिक मूल्य(मान्यता आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले सुशासन, सामाजिक न्याय र समावेशी विकासलाई प्रोत्साहन गर्दै लोकतान्त्रिक मूल्य(मान्यताको संरक्षण तथा प्रवर्धन गर्न सबै नागरिकलाई प्रेरित गर्नुपर्ने उल्लेख गरे । प्रजातन्त्रको रक्षा तथा समृद्ध मुलुक निर्माणका लागि राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव अभिवृद्धि गर्दै इमानदार प्रयत्न गर्नुपर्ने सन्देश उनले दिएका छन् ।








