ओडिसा घटनामा प्रभावित विद्यार्थीको भौतिक एवं शैक्षिक सुरक्षाको प्रत्याभुति होस् : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले ओडिसा घटनामा प्रभावित नेपाली विद्यार्थीको भौतिक एवं शैक्षिक सुरक्षाको प्रत्याभुति खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ओडिसा राज्य ओडिसास्थित केआईआईटी विश्वविद्यालय भुवनेश्वरमा भएको घटनाको समाधानका लागि नेपालको परराष्ट्रय संयन्त्र ढिला परिचालन भएको समेत आरोप लगाए ।
उनले सोमवार संसद खुल्ने बित्तिकै परराष्ट्र संयन्त्रलाई झकझक्याउन पाएको भए विद्यार्थीको बिच्चली हुने स्थिति सिर्जना हुन नपाउने उल्लेख गर्दै यस्ता विषयमा संसद अझै गम्भिर बन्न जरुरी रहेको बताए । ‘हिजो संसद खुल्नासाथ परराष्ट्र संयन्त्रलाई झकझक्याउन पाएको भए सयौं विद्यार्थीहरुको बिच्चली हुने थिएन । पछि सच्चिदै गयो । विद्यार्थीहरुलाई फर्किन आह्वान समेत गरियो । तर कतिपय समयमा पलपलको महत्व हुँदो रहेछ । यस्तो बेलामा संसदले विषेश संवेदनशीलता देखाउनुपर्ने विषय रहन्छ । यस विषयमा कतै न कतै हामीले यसको निदान त खोज्नैपर्छ । तर समग्रमा परराष्ट्र संयन्त्र ढिलामात्र परिचालन भयो’ उनले भने ।
उनले विज्ञप्ती जारी गर्दैमा सरोकारवाला निकायको जिम्मेवारी पूरा नहुने उल्लेख गर्दै न्याय र क्षतिपूर्तिका लागि कुटनीतिक पहल गर्न समेत सरकारसँग माग गरे ।








