नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने केआईआईटीका दुई सुरक्षा कर्मचारी बर्खास्त

काठमाडौं । नेपाली विद्यार्थीलाई दूव्र्यवहार गर्ने भारतको ओडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) छात्रावासका दुई सुरक्षा कर्मचारी बर्खास्त भएका छन् ।
विटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु पश्चात विरोध गर्ने नेपाली विद्यार्थीलाई रातारात निकाल्ने र दूव्र्यवहार गरेपछि सुरक्षा अधिकारीलाई कारबाही गरिएको केआईआईटीका रजिष्टारले जनाएका छन् ।
रजिष्टारका अनुसार दुई सिनियर होस्टल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई अनुसन्धानको लागि निलम्बन गरिएको छ ।
विटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु लाई विश्वविद्यालयले आत्महत्या भनेको थियो । तर, विद्यालय प्रशासनको भनाइप्रति विद्यार्थीहरू आक्रोशित बन्दै उक्त घटनाको छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए । त्यस लगत्तै ठूलो संख्यामा नेपाली विद्यार्थीलाई विश्वविद्यालयबाट निकालिएको थियो । विश्वविद्यालयकै कर्मचारी दूव्र्यवहार गरेको भिडियो पनि स्पष्ट देखिन्छ ।
विद्यार्थीमाथि ज्यादती गरिएको भन्दै नेपाल र भारतमा चौतर्फी आलोचना भएपछि फर्काउन पहल गरिएको हो । आलोचना र दबाब बढ्दै जान थालेपछि उक्त घटनालाई लिएर आज प्रशासनले कारबाही प्रक्रिया अगाडि बढाएको हो ।








