खबर दिनभर : देश आफैंले बनाउनुपर्ने,न्याय माग्दा भारतीय कलेजबाट निकालिए नेपाली विद्यार्थी

भारतमा नेपाली छात्राको मृत्यु घटनामा सरकारले कुटनीतिक तवरबाट काम गरिरहेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थीको मृत्यु भएको विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको बताएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्,‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’

आइतबार बुटवलकी प्रकृति लम्सालको शंकास्पद मृत्यु भएको थियो । यस घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै नेपाली विद्यार्थीहरु प्रदर्शनरत छन् ।

कलेजले भने उनले आत्महत्या गरेको भन्दै विज्ञप्ति जारी गरेको द न्यू इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

अध्यादेश संसद्बाट पारित हुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने बताएका छन् । घोराहीमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० जिल्ला कमिटीद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नमा आफ्नो नेतृत्वको सरकार केन्द्रित रहेको स्पष्ट पारे ।

नेपाल सुरुङमार्ग र पानी जहाजको युगमा प्रवेश गरिसकेको बताउँदै उनले दाङको देउखुरीमा पनि सुरुङमार्ग बनाउने योजना रहेको जानकारी दिए ।

‘अहिले पुष्पलाल मार्ग, मदन भण्डारी मार्गजस्ता आयोजना निर्माण भइरहेका छन्’, उनले भने, ‘हामी अलमल नगरी मिसन २०८४ तर्फ लाग्नुपर्छ, तपाईँहरूको साथ चाहिन्छ, देश बदल्ने कामको अगुवाइ गर्ने जिम्मा मेरो हो, कसैले पनि यो अभियानलाई रोक्न सक्दैन ।’

प्रधानमन्त्री ओलीले एमालेको नेतृत्वले मात्र देश विकास गर्न सक्ने बताए । उनले दाङ कृषिमा उर्वर भूमि भएको र हिजो विकासमा पछाडि परेको भए पनि अब अगाडि बढ्ने बताए ।

सोही कार्यक्रममा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले साना दलले गलत भाष्य निर्माण गरी प्रचार गरेकाले देश अस्थिरतामा गएको बताए ।

मुलुकको निराशालाई चिर्न एमाले सरकारमा आएर समृद्धिको पाइला अगाडि बढेको बताए ।

लुम्बिनी प्रदेश इन्चार्ज एवं केन्द्रीय सचिव पद्मा अर्यालले विकासका लागि जनताको साथ चाहिने बताए ।

यसअघि प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओली आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

भारतमा नेपाली विद्यार्थीको मृत्यु घटना : अनुसन्धान गर्न माग गर्दा उल्टै धरपकड

भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी होस्टलमा मृत भेटिएपछि नेपाली विद्यार्थीहरु आन्दोलित भएका छन् ।

कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बुटवलकी प्रकृति लम्साललको शंकास्पद मृत्यु भएपछि नेपाली विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । तर, प्रदर्शनरत नेपाली विद्यार्थीहरुमाथि कलेज प्रशासनले धरपकड गरेको छ ।

आइतबार उनी कलेजको होस्टलभित्र मृत अवस्थामा फेला परेकी थिइन् । गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै प्रदर्शन गरेका नेपालीहरुलाई उल्टै कलेजबाट निकालिएको विद्यार्थीहरु बताउँछन् ।

कलेजले उनले आत्महत्या गरेको भन्दै विज्ञप्ति जारी गरेको द न्यू इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ । लम्सालले आत्महत्या गरेको दाबी गर्दै कलेजले विज्ञप्ति जारी गरेको छ ।

लम्सालको अर्का विद्यार्थीसंग प्रेम सम्बन्ध रहेको आशंका कलेजको छ । उनी बी-टेक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी थिइन् ।

मृतकको पोष्टमार्टम रिपोर्ट आउन भने बाँकी छ । यस कलेजमा करिब १५ सय नेपाली विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।

भारतको विश्वविद्यालयमा भएको घटनाका विषयमा कुटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताएकी छन् । उनले घटनाका विषयमा आवश्यक कुटनीतिक पहल थालेको उनले बताइन् ।

मन्त्री डा. देउवाले उक्त घटनाका सन्दर्भमा आफू सम्बद्ध पक्षसँग आज बिहानैदेखि सम्पर्कमा रहेको र बिहान आफूले भारतका लागि नेपाली राजदूत डा.शंकर शर्मालाई घटनाको वास्तविकता बुझेर नेपाली विद्यार्थीलाई परेको समस्याका बारेमा आवश्यक तत्परता लिई काम गर्न निर्देशन दिएको बताइन् ।

आइतबार बुटवलकी प्रकृति लम्साल कलेजको होस्टलमा मृत अवस्थामा भेटिएकी थिइन् ।

लम्साल मृत भेटिएपछि गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै नेपाली विद्यार्थीहरुले कलेजविरुद्ध प्रदर्शन गरेका थिए । नेपाली विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि कलेजले उनीहरुलाई निष्काशन गरेको थियो ।

विश्वविद्यालयले भने लम्साले आत्महत्या गरेको दाबी गरेको छ ।

अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ अगाडि बढाउनुपर्ने बताएका छन् ।

लुम्बिनी प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले आफ्नो देश आफैले बनाउनुपर्ने बताए ।

‘४० वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले आफ्नै मेहिनतले सम्पन्न भइसकेको छ । हामीले प्रविधि प्रयोगको ल्याकत बढाएर आफैँले देशको विकास गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठूलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ । त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नुपर्छ । उद्योग स्थापनाका लगानी विस्तार गर्नुपर्छ । त्यसका लागि सरकारका तर्फबाट सहजीकरण गर्नुपर्छ । तीन वटै तहका सरकार यसमा सहकार्यका साथ अगाडि बढ्नुपर्छ । केन्द्र सरकारले लगानी विस्तार र सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न अध्यादेश ल्याएको छ । कोही कसैले अरू कारणले विरोध गर्नु बेग्लै कुरा हो । आमरूपमा अध्यादेशप्रति उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको छ । यसले स्वागत पाएको छ ।’

प्रधानमन्त्री ओलीको विशेष सम्बोधन जारी रहेको छ ।

भारतको कलेजबाट निकालिएका नेपाली विद्यार्थी अलपत्र

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु भएपछि कलेजविरुद्ध आन्दोलनमा उत्रिएका नेपाली विद्यार्थीहरु अपलपत्र परेका छन् ।

आइतबार बुटवलकी प्रकृति लम्सालको कलेजको होस्टलमा मृत अवस्थामा भेटिएकी थिइन् । लम्साल मृत भेटिएपछि गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै नेपाली विद्यार्थीहरुले कलेजविरुद्ध प्रदर्शन गरेका थिए । नेपाली विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि कलेजले उनीहरुलाई निष्काशन गरेको थियो ।

भारतीय सञ्चारमाध्यम डीएनए इन्डियान्यूजका अनुसार विद्यार्थीले आफूहरु बिचल्लीमा परेको बताएका छन् ।

कुम्भमेलाबाट फर्किंदै गरेको कार डिभाइडरमा ठोक्कियो, तीन नेपालीको मृत्यु

भारतको प्रयागराजमा लागेको महाकुम्भमा सहभागी हुन गएका नेपाली नागरिक सवार कार भारतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–९ भलुहीका ४५ वर्षीय गणेश खनाल, उहाँकी श्रीमती ४० वर्षीया दीपा खनाल र सोही ठाउँकी ४५ वर्षीया गीता शर्मा रहेका छन् ।

महाकुम्भबाट स्नान गरेर फर्किने क्रममा भारतको आजमगढ नजिकै उनीहरु सवार कार सडक छेउको डिभाइडरमा ठोक्किएको हो । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

घाइतेको भारतकै आजमगढ र गोरखपुरमा उपचार भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए । देवदह नगरपालिका–९ का ३५ जनाको टोली कुम्भ मेलामा स्नान गर्न गएको थियो । पाँच कारमा सवार उक्त टोली फर्किने क्रममा बनारस–आजमगढ राजमार्गमा दुर्घटनामा परेको हो ।

शव स्थानीय अस्पतालमा परीक्षणका लागि राखिएको र नियमितरुपमा भारतीय प्रहरीसँग सम्पर्क भइरहेको उनले बताए ।

छोरीको शंकास्पद मृत्युपछि प्रकृतीका बुवा ओडिसामा

भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा मृत अवस्थामा फेला परेकी नेपालकी प्रकृति लम्सालका बुवा घटनास्थल पुगेका छन् । उनका बुवा सुनिल लम्साल सोमबार भारतको ओडिसा पुगेका हुन् ।

प्रकृती त्यहाँ बीआइटी तेस्रो वर्षमा अध्ययन गरिरहेकी थिइन् । भैरहवामा स्थायी घर भए पनि लम्साल परिवार काठमाडौंमा व्यवसाय गरेर छोराछोरी पढाउँदै आएका थिए ।

आइतबार बुटवलकी प्रकृति लम्साल कलेजको होस्टलमा मृत अवस्थामा भेटिएकी थिइन् । लम्साल मृत भेटिएपछि गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै नेपाली विद्यार्थीहरुले कलेजविरुद्ध प्रदर्शन गरेका थिए । नेपाली विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि कलेजले उनीहरुलाई निष्काशन गरेको थियो ।

विश्वविद्यालयले भने लम्सालले आत्महत्या गरेको दाबी गरेको छ । मंगलबार शवको पोष्टमार्टम गर्ने तयारी रहेको बताइएको छ ।

भारतीय राजदूतावासले भन्यो – घटनाका सम्बन्धमा छानबिन भइरहेको छ

नेपालस्थित भारतीय राजदूतावासले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० विश्वविद्यालयमा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

उक्त विश्वविद्यालय, ओडिसा राज्यसँग निरन्तर संवादमा रहेको र नेपाली विद्यार्थीहरुको सुरक्षाका लागि पहल भइरहेको दूतावासले सोमवार साँझ जारी गरेको प्रेस विज्ञप्ति उल्लेख छ ।

विश्वविद्यालयले विद्यार्थीहरुलाई होस्टेलमा बस्न र अध्ययन जारी राख्न भनेको अवगत गराउँदै स्थानीय अधिकारीद्वारा घटनाका सम्बन्धमा छानबिन भइरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

आइतबार बुटवलकी प्रकृति लम्साल कलेजको होस्टलमा मृत अवस्थामा भेटिएकी थिइन् । लम्साल मृत भेटिएपछि गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै नेपाली विद्यार्थीहरुले कलेजविरुद्ध प्रदर्शन गरेका थिए । नेपाली विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि कलेजले उनीहरुलाई निष्काशन समेत गरेको थियो ।

विश्वविद्यालयले भने लम्सालले आत्महत्या गरेको दाबी गरेको छ । मंगलबार शवको पोष्टमार्टम गर्ने तयारी रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता : नेपालले कीर्गिस्तानलाई हरायो

सोमबारबाट काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले कीर्गिस्तानलाई हराएको छ ।

सोमबार दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफको खेल सकिँदा नेपालले गरेको एक गोल नै निर्णायक गोल बन्यो ।नेपालले चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा कीर्गिस्तानविरुद्ध १–० को जित निकाल्दै सुखद सुरुवात गरेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाललाई जीत दिलाउन विमला चौधरीको गोल नै निर्णायक बन्यो। पहिलो हाफको १०औँ मिनेटमा बिमला चौधरीले हेडर मार्फत गोल गर्दै घरेलु समर्थकमाझ आफ्नो टोलीलाई अग्रता दिलाएकी थिइन् ।

खेलको अधिकांश समय बलमाथि नियन्त्रण बनाएको नेपालले करिब आधा दर्जन गोलका अवसरको सदुपयोग गर्न सकेन । र एक सुन्यको गोलमा चित्त बुझाउनु परेको थियो। जितसँगै तीन अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

समान खेलबाट समान अंक जोडे पनि म्यानमार गोलआधारमा नेपालभन्दा माथि छ । आजदेखि सुरु भएको प्रतियोगितामा नेपाल र कीर्गिस्तानसँगै म्यानमार र लेबनानको सहभागिता छ । यसअघि आजै भएको पहिलो खेलमा म्यानमारले लेबनानविरुद्ध ३–१ को जित निकालेको थियो ।

यता नेपाली महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङ र प्रीति राईले दोस्रो हाफमा योजनाअनुरूप खेल्न नसकेको बताइन् । किर्गिस्तानसककंगको खेलमा १–० को जितपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक तामाङले पहिलो राम्रो खेल पनि दोस्रो हाफमा योजना अनुरुप खेल्न नसकेको बताएका हुन् ।

उनले भने समग्रमा जित भयो । पहिलो हाफमा धेरै राम्रो अवसरहरू बनायौं र गोल पनि गर्यो । दोस्रो हाफमा भने राम्रो हुन सकेन । साबित्रा भण्डारीलाई दोस्रो हाफमा मैदान पठाएर आक्रमण बढाउने योजना बनाए पनि सफल भएन । साबित्रा आजै नेपाल आए पनि अर्को खेलको तयारी गर्न उनलाई पहिलो खेलमा अवसर दिएको प्रशिक्षक राजेन्द्रको भनाइ छ ।

नेपाली टोलीकी मिडफिल्डर प्रीतिले पहिलो खेलमा जित निकाले पनि समग्रमा राम्रो खेल्न नसकेको बताइन् । उनले दोस्रो हाफमा फरमेसन परिवर्तन गरेपछि राम्रो खेल्न नसकेको उल्लेख गरिन् । हामीले त्यो फरमेसनमा तयारी गरे पनि खेल्न सकेनौं ।

गोल र टोलीको प्रदर्शन हेर्दा आफ्नो टोलीले धैरे सुधार गर्न सक्ने उनको अपेक्षा थियो ।किर्गिस्तानका प्रशिक्षक नेमातझान जाकिरोभले बलियो टोलीनेपालविरूद्धको खेल कठिन रहे पनि राम्रो फुटबल खेल्ने प्रयास गरेको बताए । उनले नेपालको खेल उनीहरूले तीव्र गतिमा थियो । हाम्रो टोली युवा थियो र हामीले राम्रो खेल्ने प्रयास गर्‍यो ।

नेप्से परिसूचकमा २९ दशमलव ८७ अङ्कको वृद्धि

यो साता कारोबारको लगातार दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से २९ दशमलव ८७ अङ्कले बढेर दुई हजार सात सय २७ दशमलव ९१ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो ।

आज तीन सय दुई कम्पनीको एक करोड ८० लाख ८१ हजार एक सय ६८ कित्ता शेयर एक लाख दुई हजार आठ सय ६१ पटक खरिदबिक्री हुँदा १० अर्ब चार करोड ९६ लाख ५४ हजार आठ सय ३२ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ दुई दशमलव १६, होटल तथा पर्यटन दुई दशमलव २९, लघुवित्त दुई दशमलव ४५ र अन्य समूह दुई दशमलव ४७ प्रतिशतले बढेको छ ।

त्यस्तै विकास बैंक शून्य दशमलव ३३, लगानी शून्य दशमलव २०, जीवन बीमा शून्य दशमलव ८९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७७, म्युचुअल फन्ड शून्य दशमलव ५२ र निर्जीवन बिमा समूह एक दशमलव ०७ प्रतिशतले बढेको छ ।

तीन वटा समूहको उपसूचक भने घटेको छ । वित्त समूह शून्य दशमलव ८४, जलविद्युत् शून्य दशमलव १५ र व्यापार समूह एक दशमलव २७ प्रतिशतले घटेको छ ।

छ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, स्कल डेभलपमेन्ट बैंक लिमिटेड, गार्डियन माईक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र दिव्येश्वरी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ३२ करोड ७४ लाख ३५ हजार तीन सय ५५ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने कुमारी बैंक लिमिटेडको सबैभन्दा धेरै चार करोड १६ लाख तीन सय ४९ कित्ता शेयर किनबेच भएको छ ।

सोमबार बढ्यो सुनको मूल्य

नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९सोमबार० सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

भारतमा विद्यार्थी मृत्यु प्रकरण : नेपाली विद्यार्थीहरूलाई कलेजबाट निकालियो

भारतमा मृत भेटिएकी नेपाली विद्यार्थीको न्यायको माग गर्दै प्रदर्शन गरेकाहरूमाथि कलेज प्रशासनले दमन गरेको छ ।

भारतको (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको संकास्पद मृत्यु भएको भन्दै प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनपछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरूलाई कलेजबाट निकालेको हो ।

घटनाबारे छानबिन गर्न माग गर्दै त्यहाँका अरु नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेका थिए । प्रशासनले त्यसलाई दबाउन उनीहरूलाई कलेजबाट नै निकालेको हो ।

मृत भेटिएकी लम्साल बी–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् । कलेजले उनले आत्महत्या गरेको भन्दै विज्ञप्ति जारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

लम्सालको शवलाई पोस्टमार्टमका लागि क्यापिटल अस्पताल पठाइएको छ । उनको मृत्यु शङ्कास्पद रहेको भन्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् ।

दिल्लीमा भूकम्प, सावधानी अपनाउन प्रधानमन्त्री मोदीको अपिल

भारतको नयाँदिल्लीमा भूकम्प गएको छ । सोमबार बिहान ५ बजेर ३६ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र जमिनभित्र करिब पाँच किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

भूकम्पले दिल्ली हल्लिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई सुरक्षा सावधानी अपनाउन अपिल गरेका छन् । उनले सुरक्षा अधिकारीहरुलाई निगरानी बढाउन पनि उनले निर्देशन दिएका छन् । दिल्ली प्रहरीले भूकम्पबाट सबै सुरक्षित रहेको विश्वास व्यक्त गर्दै आपत्कालीन सहायता चाहिएमा ११२ नम्बरमा डायल गर्न भनेको छ ।

दिल्लीकी पूर्व मुख्यमन्त्री आतिशी सिंहले दिल्लीमा ठूलो धक्का महसुस भएको भन्दै सबै सुरक्षित होउन् भनेर भगवानसँग प्रार्थना गरेको एक्समा लेखेकी छन् । भूकम्प आउँदा दिल्ली, नोएडा, ग्रेटर नोएडा र गाजियाबादका मानिसहरू घरबाट बाहिर निस्किएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =