निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक : नेता रिजाल


काठमाडौं । नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक भएको बताएका छन् ।
शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा डा. रिजालले समावेशीतालाई बलियो बनाउने गरी निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका हुन् । उनले कुनैपनि पार्टीको बहुमतबिना राजनीतिक स्थायित्व र उत्तरदायित्वको कल्पना गर्न नसकिने बताए ।
निर्वाचन प्रणालीकै कारण ७४ को निर्वाचनमा नेपाली काँग्रेसले ३३ प्रतिशत मत पाएपनि जम्मा २३ सिट जितेको जिकिर गरे । उनले ७८ को निर्वाचनमा २६ पतिशत मत पाएपनि गठबन्धन गरेको कारण प्रत्यक्षमा ५७ सिट जितेको तर्क गरे । ‘कुनैपनि पार्टीको बहुमतबिना स्थायित्वको कल्पना पनि गर्न सकिँदैन, उत्तरदायित्वको कल्पना पनि गर्न सकिँदैन । त्यसैले निर्वाचन प्रणाली के हुनुप¥यो भने मेरो पार्टी ७४ को चुनावमा हामीले प्रत्यक्षमा गठबन्धनका कारण पाएको मत सबै आफ्नो भन्न मिलेन । समानुपातिकमा हामीले ३३ प्रतिशतभन्दा बढी मत पायौँ तर प्रत्यक्षमा हामीले २३ सिट जित्यौँ । अहिले हाम्रो सात प्रतिशतले मत घटेको छ । २६ प्रतिशत मत छ, सिट जित्यो ५७, किन ? गठबन्धन गरेर । ओली र हाम्रो ७४ को चुनावमा मुस्किलले आधि प्रतिशतको फरक थियो । उहाँले ८० सिट र हामीले २३ सिट जित्यौँ किन भन्दा उहाँले गठबन्धन गर्नुभएको थियो’ उनले भने ।
२०१५ सालदेखि कुनैपनि पार्टीले ३८ प्रतिशतभन्दा बढी मत नल्याएको भन्दै बढी मत आएन भन्दैमा स्थिरता हुँदैन भन्ने तर्क गर्न नहुने बताए । उनले १६५ निर्वाचन क्षेत्र कायम गर्दा ६० सिट समानुपातिक प्रणालीका लागि छुट्याउनु पर्नेमा जोड दिए ।
उनले सजिलै निर्वाचन जितेर आउनेलाई समानुपातिकमा ल्याउन नहुने बताए । उनले निर्वाचन जित्न कठिन हुने समुदायलाई संसदमा आउने बाटोका लागि पनि समानुपातिक प्रणाली आवश्यक भएको तर्क गरे ।
‘१५ सालदेखि आजसम्मको निर्वाचनमा कुनैपनि पार्टीले साढे ३८ प्रतिशतभन्दा बढी मत ल्याएको छैन । बढी मत नल्याएपछि बहुमत भएपनि स्थिरता हुँदैन भन्ने तर्क गर्नु भएन । सरकार उत्तरदायी नहुने समस्या त भयो नि,’ उनले भने, ‘नेपाली काँग्रेस पूर्ण प्रत्यक्ष निर्वाचन प्रणालीमा हुनुपर्छ भन्ने पक्षमा होइन । १६५ निर्वाचान क्षेत्र कायम गर्दा ६० क्षेत्र समानुपातिक गरौँ । सजिलै चुनाव जितेर आउने मान्छेलाई समानुपातिकमा ल्याउनु हुँदैन । जसलाई निर्वाचन जित्नलाई कठिनाइ छ त्यो समुदाय आउने बाटो बन्द हुँदैन ।’
नेता डा. रिजालले ०७२ देखि तीन नेता पालैसँग प्रधानमन्त्री भएर तीन नेता एउटा पार्टी र बाँकी अर्को पार्टी जस्तो भएको व्यङ्ग्य गरे ।
उनले यस्तो अवस्था आउनुमा को जिम्मेवार छ भन्ने टुङ्गो लगाउन पनि निर्वाचन प्रणालीमा परिवर्तन आवश्यक भएको जिकिर गरे ।
