कांग्रेसको प्रचारलाई सूर्य थापाको चुनौती- सत्य के हो ?

काठमाडौं । प्यूठानबाट निर्वाचित नेकपा एमालेका सांसद सूर्य थापाले नेपाली कांग्रेसले आफूमाथि झुटा आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् । उनका अनुसार कांग्रेसले आफ्नै कार्यकर्तालाई प्रयोग गरेर झुटो प्रचार गरिरहेको हो ।
थापाले कांग्रेसले आफ्नो विरोधका लागि भ्रामक सूचना फैलाइरहेको आरोप लगाउँदै एक भिडिओसमेत सार्वजनिक गरेका छन् । उक्त भिडिओमा एक महिलाले थापालाई मत दिए पनि सडक नबनेको गुनासो गरिरहेकी छन् । तर, थापाले ती महिला कांग्रेसकै कार्यकर्ता भएको दाबी गरेका छन् ।
‘नेपाली कांग्रेस प्यूठानका केही व्यक्ति यति हदसम्म कुप्रचारमा उत्रेका छन् कि आफ्नै कार्यकर्तालाई अघि सारेर गलत सन्देश प्रवाह गर्ने प्रयास गरिरहेका छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
यसअघि कांग्रेस प्यूठानले ‘जनतासँग कुरा गर्न सूर्य थापासँग अनुमति लिनुपर्ने हो ?’ भन्दै वक्तव्य जारी गरेको थियो । कांग्रेसका जिल्ला सभापति विष्णुकुमार गिरीले थापामाथि कांग्रेसलाई कार्यक्रम गर्न नदिने, कर्मचारीलाई धम्क्याउने, सरुवाको डर देखाउने, घृणास्पद भाषा प्रयोग गर्ने तथा समानुपातिक सांसदलाई हेलाँ गर्नेजस्ता आरोप लगाएका थिए । तर, थापाले गिरीको वक्तव्य पूर्ण रूपमा झुटो र आधारहीन भएको प्रतिक्रिया दिएका छन् ।









