भेटिएनन् बाइक दुर्घटना हुँदा उछिट्टिएर त्रिशूलीमा खसेका सैनिक

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ मा मोटरसाइकल दुर्घटना हुँदा उछिट्टिएर त्रिशूली नदीमा खसेर बेपत्ता भारतीय सैनिक अझै भेटिएका छैनन् । शुक्रबार बिहान करि ११ बजेर ५५ मिनेटमा भएको दुर्घटनापछि चितवनको भरतपुर महानगरपालिका-१ स्थित रामपुर बस्ने २७ वर्षीय रोहित राना त्रिशूली नदीमा बेपत्ता छन् ।
उनको शुक्रबार दिनभर गोताखोरसहितको टोलीले खोजी गरेको थियो । ‘शुक्रबार साँझ ६ बजेसम्म खोजी जारी राख्यौं, तर केही भेट्टाउन सकिएन,’ इलाका प्रहरी कार्यालय मुग्लिनकी इन्सपेक्टर निरला भण्डारीले भनिन्, ‘भोलि बिहानबाट फेरि खोजी सुरु गर्छौं ।’ रात परेकाले खोज्न असम्भव भएपछि अहिले आफूहरू फर्किएको उनले जानकारी दिएकी छन् । बा ००६-०२ प ९२०४ नम्बरको मोटरसाइकलमा एक्लै काठमाडौंका लागि रामपुरबाट निस्किएका राना दुर्घटनामा परेका थिए ।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरको टोलीले खोजी गरेको थियो । ती व्यक्ति मोटरसाइकलबाट नदीमा खसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लमजुङको साविक चन्दरेश्वर गाविस-३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका-१ रामपुर बस्ने उनी भारतीय सेनामा कार्यरत थिए । घटनास्थलमा उनले बोकेको पर्स, केही कागजात, लुगा, जुत्ता भेटिएको छ ।
राना सवार बागमती प्रदेश ०६-०२ प ९२०४ नम्बरको रोयल इन्फिल्ड बाइक भने सडकमै थियो । सडकको छेउको डिभाइडरमा मोटरसाइकल ठोक्किँदा राना उछिट्टिएर त्रिशूली नदीमा पुगेको दुर्घटनास्थल नजिकै माछा मार्दै गरेका प्रत्यक्षदर्शीले बताएका थिए । सडकबाट करिब १५० मिटर तल रहेको त्रिशूली नदीमा उनी बेपत्ता भएका हुन् । सडकबाट झरेपछि बीचमा कहीँ अड्कनै नसक्ने भीरमा दुर्घटना भएका कारण उनी सिधैं त्रिशूली नदीमा पुगेका हुन् ।








