ओली सरकार समृद्धिको बाटोमा छ : अर्थमन्त्री

स्याङ्जा । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढिरहेको बताएका छन् ।
स्याङ्जाको बिरुवा गाउँपालिकामा निर्मित भवनको आज उद्घाटन गर्दै उहाँले वर्तमान सरकार राजनीतिक स्थायित्व प्रदान गर्दै मुलुकको समृद्धिका लागि प्रयासरत रहेको उल्लेख गरे ।
पछिल्लो समय मुलुक सञ्चालनका क्रममा विभिन्न कारणले सरकारले स्थायित्व पाउन नसकेको स्मरण गर्दै अर्थमन्त्रीले राजनीतिक स्थायित्व, विकास र मुलुकको समृद्धिका लागि लामो इतिहास बोकेका दुई ठूला दलको आवश्यकता महसुस गरी सरकार गठन भएको बताए ।
“अवसरवादसहित विविध कारण मुलुकमा छ/छ महिनामा सरकार बदलियो, सरकारले स्थायित्व पाएन”, उनले भने, “मुलुकको परिवर्तनका लागि, नागरिको जीवनस्तर सुधार्न ठूला दल मिल्नुको विकल्प थिएन, देशलाई अस्थिरतामा राख्न हुन्न निकास दिनुपर्छ भन्ने लागेर कांग्रेस र एमालेको गठनबन्धनबाट वर्तमान सरकार बनेको हो ।”
मुलुकमा यसअघि विभिन्न कालखण्डमा आइपरेका कठिन अवस्थामा लामो इतिहास, अनुभव र योगदान गरेका दुई ठूला दलले नेतृत्व गरेका अर्थमन्त्री पौडेलले बताए । उनले भने,“मुलुकको स्थायित्व, विकास र नागरिकको पक्षमा वर्तमान सरकारले काम गरिरहेकाले सबैले यो सरकारलाई सहयोग र समन्वय गर्नुपर्छ ।”
आफ्नो जन्मभूमि स्याङ्जा भएको बताउँदै उहाँले यहाँको समग्र विकास, पूर्वाधार निर्माणका विषयमा रहेकाले क्रमशः पूरा गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । भवन उद्घाटन समारोहमा नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं प्रतिनिधिसभाका सांसद राजु थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सचिव एवं पूर्वमन्त्री पद्माकुमार अर्यालगायतले जिल्लाको समग्र विकास, निर्माणका विषयमा धारणा व्यक्त गरेका थिए ।
बिरुवा गाउँपालिकाको प्रशासकीय भवन कूल रु सात करोड ९९ लाख ७० हजार एक सय ८१ को लागतमा निर्माण सम्पन्न भएको हो । विंस २०७७ असार ३१ गते सम्झौता भएर निर्माण थालिएको भवन २०८० मङ्सिर २९ गते निर्माण सम्पन्न भएको हो । उक्त भवन २९ कोठाको छ ।








