ट्रम्प र मोदीको वार्ता: ऊर्जा व्यापार र आयात शुल्कमा द्विपक्षीय समझदारीले बढायो साझेदारी


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटवार्तामा दुई देशबीचको व्यापार असन्तुलनका विषयमा महत्वपूर्ण कदम चाल्ने विषयमा छलफल भएको हो ।
थप अमेरिकी तेल र ग्यास खरिद गर्ने सहमति भएको छ । वाशिङटनमा आयोजित एक संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘भारत हाम्रो धेरै तेल र ग्यास किन्दै छ र वहाँलाई त्यो चाहिएको छ । हामीसँग त्यसको आपूर्ति छ ।’
भारतीय प्रधानमन्त्री मोदीले पनि ऊर्जा सुरक्षालाई प्राथमिकता दिँदै, तेल र ग्यासको व्यापारमा ध्यान केन्द्रित गर्ने कुरा जनाए । उनले थप भने, ‘हामी परमाणु ऊर्जा क्षेत्रमा थप लगानी गर्नेछौँ ।’
ट्रम्पले आफ्नो व्यापार साझेदारहरूसँग व्यापार सन्तुलन कायम राख्नका लागि आयात शुल्कहरू लागू गर्नुपर्ने कुरा उल्लेख गर्दै, भारतलाई अत्यधिक भन्सार लगाइरहेको बताए । उनले अमेरिकाबाट भारतलाई आगामी समयका लागि सैन्य हार्डवेअरको बिक्री र एफ-३५ लडाकु जेट दिने घोषणा पनि गरे । मोदी र ट्रम्प बीचको वर्षौँको सान्दर्भिक र व्यक्तिगत सम्बन्ध स्पष्ट देखिएको थियो, ट्रम्पले भने, ‘हाम्रो सम्बन्ध गजबको छ।’
यसबीच, ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै आयात शुल्कका बारेमा भने, ‘हाम्रा व्यापार साझेदारहरू हाम्रा शत्रुहरूभन्दा खराब छन् ।’ उनले आफ्नो आयात शुल्कको नीति उपभोक्ता मूल्यहरूमा केही वृद्धि ल्याउन सक्ने भए पनि, यसले अमेरिकामा रोजगारी सिर्जना गर्ने र उत्पादनलाई बढावा दिने विश्वास व्यक्त गरे ।
ह्वाइटहाउसले जारी गरेको नयाँ विज्ञप्तिमा भारतीय कृषिका सामानमा अमेरिकाले ५ प्रतिशत आयात शुल्क लागू गरेको जनाइएको छ, जबकि भारतले अमेरिकन मोटरसाइकलमा शतप्रतिशत शुल्क लगाउँछ । यो द्विपक्षीय सम्झौताले अमेरिकासँग भारतको व्यापार सम्बन्धलाई नयाँ दिशा दिन र व्यापार असन्तुलनलाई सुधार्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षासमेत व्यक्त गरिएको छ ।
