खबर दिनभर : जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरू खरानी हुने,नेसपा (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम

रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् ।
उनले मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई सँधै समस्या हुने अवस्था अन्त्य गर्न निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले कुनै देशलाई नभई नेपाली जनतालाई खुसी पार्ने गरी स्वदेशमै मल उद्योग स्थापनाको तयारी र प्राङ्गारिक मलको प्रयोगमा पनि प्राथमिकता दिने नीति ल्याउन आग्रह गरे ।
उनले रासायनिक मलका लागि समयमै बोलपत्र गर्न, तराईमा १० दिन, पहाडमा १५ दिनभन्दा बढी समय नलगाइ वितरण गरिसक्न पनि आग्रह गरे ।
मन्त्रालयका अनुसार वार्षिक पाँच लाख ५० हजार मेट्रिक टन मलका लागि रु २७ अर्ब ९५ करोड रकम विनियोजन गरिएको छ ।
हालसम्म दुई लाख ४० हजार मेट्रिक टन मल आयात भएको छ भने गत वर्षको मौज्जादसमेत गरी दुई लाख ६३ हजार मेट्रिक टन बिक्री भइसकेको छ । यस्तै हाल ३० हजार मेट्रिक टन युरिया मल आयात हुने क्रममा रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा युरिया मलको मूल्य बढ्दै गएकाले आयातकर्तासँग सम्झौता भइसकेको मल आपूर्ति हुन समस्या हुने र ग्लोबल टेण्डरका लागि ४५ दिनसम्मको अवधि दिनुपर्ने कानुनी व्यवस्थाले समस्या हुने गरेको मन्त्रालयले ब्रिफिङ गरेको छ ।
प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउने खालको कृषि नीति बनाउन र विद्यमानरुपमा अनावश्यक भएका संरचनाहरु थप गरी स्रोत साधनको उपयोगिता बढाउन आग्रह गरे ।
यस्तै आगामी २०८१ चैत २६ र २७ गते काठमाडौँमा हुने बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) कृषिमन्त्रीस्तरीय बैठकको तयारी भव्यरुपमा गर्न छलफल भएको छ ।
प्रधानमन्त्री ओलीले यस्ता मञ्चमा सहभागिता प्रभावकारी र वस्तुगत बनाउन तथा नेपालको समृद्धिको अपेक्षा पूरा गर्ने योजनामा सहयोग पुग्ने गरी प्रस्तुत हुन निर्देशन दिए ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, कृषि मन्त्रालयका सचिवद्वय डा गोविन्द शर्मा र डा राजेन्द्रप्रसाद मिश्रसमेत सहभागी बैठकमा कृषि लगानी दसक (२०८१–२०९१), राष्ट्रिय कृषि नीति र कृषि विधेयक, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, नेपाल कृषि अनुसन्धान परिषद्को पुनः संरचना, मासु निर्यातका लागि भैँसी पाडापालन कार्यक्रम, उखु किसानको अनुदान र सहुलियत कृषि कर्जालगायत विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट प्रधानमन्त्रीको नाम हटाउन पनि स्मरण गराए ।
प्रचण्डको चेतावनी – जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरू खरानी हुन्छन्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने चेतावनी दिएका छन् । बिहीबार पार्टी केन्द्रिय कार्यालयमा पार्टीको तर्फबाट आयोजित ३० औँ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
प्रचण्डले हजारौँ शहीदहरुको बलिदान र रगतबाट तथा हजारौँ बेपत्ता योद्धाहरुको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौँ वर्षसम्म रहने दाबी गरे । कसैले मेटाएर जनयुद्ध नमेटिने भन्दै मेटाउने दुःशाहस गर्नेहरु खरानी हुने बताए । जनयुद्ध दिवस जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस भएको उनको भनाई छ ।
अध्यक्ष प्रचण्डले भने, ‘जनयुद्ध दिवस साँच्चै नै जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस नै हो । यसलाई राष्ट्रिय दिवसकै रुपमा हामीले अगाडि लैजानुपर्छ । जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक चेष्टाहरु पनि भएका छन् । त्यसैले जनयुद्धलाई नेपाली जनताको युगान्तकारी अभियानको रुमपा, महान बलिदानको कीर्तिमान कायम गर्ने युद्धको रुपमा हामीले स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्छ । तर मलाई के विश्वास छ भने हजारौँ शहीदहरुको बलिदानबाट रगतबाट सिञ्चित यो प्रक्रिया, हजारौँ बेपत्ता योद्धाहरुको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौँ सयौँ वर्षसम्म रहनेछ । कसैले मेटाएर यो मेटिने छैन । जसले मेटाउने दुःशाहस गर्छ उही नै खरानी हुन्छ भन्ने मेरो विश्वास छ ।’
उनले प्राप्त उपलब्धिलाई अझ बलियो बनाउँदै समाजवादको बाटोमा अघि बढ्न जरुरी रहेको बताए । प्रतिक्रियावादी शक्तिहरुले गणतन्त्रलाई जनताको गणतन्त्र हुन नदिन अनेकन गतिविधि गरिरहेको प्रचण्डको आरोप छ ।
भ्रातृ संगठनहरुको अधिवेशन तोकिएकै समयमा गर्ने कांग्रेसको निर्णय
नेपाली काँग्रेसले विभिन्न भ्रातृ संगठनहरुको अधिवेशन तोकिएकै समयमा गर्ने भएको छ ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पदाधिकारी र विभिन्न भ्रातृ संगठनहरुबीचको छलफलपछि सबै भ्रातृ संगठनहरुको अधिवेशन चैत महिनामै गर्ने निर्णय गरेको हो ।
काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केही चुनौती भएपनि तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्ने निर्णय भएको बताए ।
उनले भ्रातृ संस्थाका निर्देशन समिति र प्रमुखहरुसँग अधिवेशन तयारीका बारेमा छलफल भएको बताए ।
तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न पार्टीले गर्नुपर्ने सहयोगका बारेमा सुझाव पनि लिएको प्रवक्ता महतले बताए । उनले भने– ‘भातृ संगठनहरुको अधिवेशन सम्पन्न गर्न सिनियर साथीहरुलाई राखेर निर्देशक समिति गठन गरी अधिवेशन चैतसम्म गर्ने भनेर पार्टीले निर्णय गरेको थियो, त्यसैको प्रगतिका बारेमा नेतृत्वमा प्रस्तुत गर्ने र पार्टीले कसरी मद्दत गर्नसक्छ भन्ने बारेमा उहाँहरुसँग छलफल केन्द्रित भयो । केही साथीहरुले चुनौती दर्शाउनुभयो तर धेरै साथीहरुले तोकिएकै समयमा अधिवेशन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।’
प्रवक्ता डा. महतले नेतृत्व तहबाट अधिवेशनको म्याद नथपिने निर्णय भएको बताए ।
जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न आवश्यक छ : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न आवश्यक भएको बताएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आजदेखि सुरु गरिएको नसर्ने रोगहरूको पहिचानका लागि एक महिने अभियानको आज पोखरास्थित शहरी स्वास्थ्य प्रवर्धन केन्द्र नयाँ बजारमा शुभारम्भ गर्दै उनले यसरी नै बिरामी बढ्दै गएको अवस्थामा राज्यले जति लगानी गरे पनि प्रतिफल प्राप्त नहुने स्थिति रहेको बताए ।
‘जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न आवश्यक छ’, उनले भने, ‘निरोधात्मक क्षेत्रको कामलाई प्रभावकारी बनाउनका लागि अभियान सुरु गरिएको हो ।’ विशेषतः मधुमेह, उच्च रक्तचाप आदिका कारण धेरै स्वास्थ्य समस्या आउने जनाउँदै उनले ती समस्याको सुरुमा नै पहिचान भएमा अन्य रोग निम्तन नसक्ने बताए ।
सुरुमा नै समस्याको पहिचान भएमा त्यसबाट जटिलता ननिम्तने बताउँदै उनले ३० वर्ष माथिका सबै नागरिकको रोगको पहिचान आवश्यक भएको बताए । यस अभियानका लागि तीन वटै तहका सरकार बिच समन्वय आवश्यक हुने बताउँदै उनले फागुन महिनाभर यो अभियान सञ्चालन हुने जानकारी दिए । यो अभियान प्रत्येक वर्ष फागुन महिनामा सञ्चालन गरिने उनको भनाइ छ ।
अभियानको स्वास्थ्य मन्त्रीबाट नै रक्त परीक्षण एवम् रक्तचाप परीक्षण गरी शुभारम्भ गरिएको थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता मोती तिमल्सिना, पोखरा महानगरपालिका–८ का वडा अध्यक्ष रुद्रनाथ बराल, तेजाखर लम्साललगायतले अभियानले नसर्ने रोगको पहिचानमा महत्वपूर्ण उपलब्धि हासिल हुने बताए ।
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले उपत्यकाको फोहर व्यवस्थापनका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालयलगायतका सचिवलाई बोलाउने आदेश गरेको छ ।
न्यायाधीश डा कुमार चुँडाल र महेश शर्मा पौडेलेको संयुक्त इजलासले आज एफोर्ट ल्याबका तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठ, अधिवक्ता विक्रम मिश्रले नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयलगायतलाई विपक्षी बनाई छुट्टाछुटै दायर गर्नुभएको रिट निवेदनमा उक्त आदेश गरेको हो ।
उक्त विषयमा छलफल गर्न मुख्य सचिव, सहरी विकास मन्त्रालयका सचिव, वन तथा वातावरण मन्त्रालयका सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, बागमती प्रदेश सरकारका मुख्यसचिव, स्थानीय तह हेर्ने सहसचिव, सहरी विकास मन्त्रालयका सहसचिव, काठमाडौँ महानगरपालिका, ललितपुर महानरपालिका र भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई आगामी चैत ११ गते अदालतले बोलाएको छ ।
कुहिने र नकुहिने फोहर सङ्कलन र विसर्जनका लागि आवश्यक पूर्वावस्था, चुनौती एवं समाधानका उपाय, काठमाडौँ उपत्यका फोहर व्यवस्थापन सम्बन्धमा केन्द्र, प्रदेश र स्थानीय तहबाट अवलम्बन गरिने दीर्घकालीन उपायका विषयमा छलफल गर्ने आदेशमा उल्लेख छ ।
नेसपा (नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका प्रत्याशी नेत्र चापागाईँलाई पराजित गर्दै डा.भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । उनी ७ सय ६१ मत ल्याएर निर्वाचन हुँदा प्रतिस्पर्धी नेत्र चापागाईंले ७३ मत पाए ।
आइतबारदेखि प्रज्ञा भवनमा नेसपा नयाँ शक्तिको महाधिवेशन सुरु भएको थियो ।
महाधिवेशनबाट निर्वाचनमा गरेर नेसपा (नयाँ शक्ति)को नयाँ नेतृत्व चयन गरिएको हो । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नवनिर्वाचित अध्यक्ष डा.बाबुराम भट्टराईसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
नवनिर्वाचित अध्यक्ष डा. भट्टराईलाई निर्वाचन अधिकृतले शपथ ग्रहण गराउनुभएको हो । महाधिवेशनबाट निर्वाचित अध्यक्ष भट्टराईले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथ ग्रहण गराए । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्वाचित पदाधिकारीको नाम औपचारिकरुपमा घोषणा गरिएको थियो ।
उपाध्यक्षमा खस, आर्यतर्फ ईश्वर रिजाल, उपाध्यक्ष आदिवासीतर्फ टेकबहादुर बाठामगर, उपाध्यक्ष मधेसीतर्फ उमेश साह, महासचिव खुलातर्फ सोनामसिंह स्याङ्तान, सचिव महिलातर्फ आशाकुमारी तामाङ, सचिव खुलातर्फ लक्ष्मण कार्की सन्देश र भरतराज दाहाल तथा कोषाध्यक्षमा हरिप्रसाद रिजाल निर्वाचित हुनुभएको छ । मानुषी यमी भट्टराई र दुर्गा सोब यसअघि उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।
नवनिर्वाचित अध्यक्ष डा.भट्टराईले पार्टीको पहिलो अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले जनक्रान्तिको अभियानको थालनी गर्ने बताए । आजदेखि नयाँ जनअभियान सुरु भएको उल्लेख गर्दै उनले समानुपातिक, समावेशी र प्रत्यक्ष निर्वाचन गराउन पार्टी सफल भएको बताए । यही फागुन १० गते काठमाडौंमा केन्द्रीय समितिको बैठक बस्ने अध्यक्ष डा.भट्टराईले जानकारी दिए ।
प्रहरीमाथि कुटपिट गर्ने अनेरास्ववियुका नेता जोशी पक्राउ
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता कमल जोशी पक्राउ परेका छन् । प्रहरीमाथि कुटपिट गर्ने जोशीलाई बिहीबार नयाँ बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराले बताए ।
गत माघ २४ मा ठमेलस्थित छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि जोशी समेतले कुटपिट गरेका थिए । कुटपिटबाट प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्ती घाइते भएका हुन् ।
यसअघि आक्रमणमा संलग्न रहेको भन्दै रमेश फुलारा र दिनेश सिग्देल पक्राउ परिसकेका छन् ।
पाथीभराको मौलिकता संरक्षण गर्न सरोकारवालाको माग
ताप्लेजुङको धार्मिक, सांस्कृतिक स्थल पाथीभराको मौलिकता संरक्षण गर्न सरोकारवालाले माग गरेका छन् । युमा माङ मुक्कुम्लुङ पाथीभरा संरक्षण समन्वय समितिद्वारा आज आयोजित अन्तरक्रियामा त्यस क्षेत्रको भौतिक विकासका नाममा मौलिक, धार्मिक, सांस्कृतिक पहिचान मेटाउन लागिएकामा सरोकारवालाले आपत्ति जनाए ।
विश्वभरका सनातन धर्मावलम्बीको पवित्र तीर्थस्थल पाथीभरालाई निश्चित भूगोलको मात्र भनी प्रचार गर्न नहुने उनीहरूको भनाइ थियो ।
पुजारी र स्थानीय मन्दिर क्षेत्र व्यवस्थापन समितिलाई चुप लाग्न बाध्य बनाइएको मुक्कुम्लुङ संरक्षण अभियन्ता चन्द्रहाङ किरातले बताए ।
पाथीभराको प्रसङ्गले देशभरका धार्मिक, सांस्कृतिक सम्पदा बचाउन सशक्त समूहको आवश्यकता देखिएको धार्मिक क्षेत्रका अनुसन्धानकर्ता भीम पाण्डेले बताए ।
छिमेकी मुलुक केदारनाथ कैलाश मानसरोवरमा केबलकार नचलाइएको उल्लेख गर्दै सहभागीले नेपालमा रहेका पूर्वीय दर्शन र सभ्यता नष्ट गर्ने प्रयत्न भइरहेको आरोप लगाए । वाग्मती प्रदेशका पूर्व प्रदेशसभा सदस्य जीवन डङ्गोलले धार्मिक, सांस्कृतिक स्थलमा अतिक्रमण भइरहेको बताए ।
विश्व हिन्दु युवा सङ्घका अध्यक्ष ऋषिकेशजङ्ग शाहले पाथीभरामा केबलकार निर्माण योजना खारेज गर्न आग्रह गरे ।
हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले पाथीभरालगायत देशभरका धार्मिक, सांस्कृतिक स्थलको संरक्षणका लागि सचेत र जागरूक हुनुपर्नेमा जोड दिए ।
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य
नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुन प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन १ ख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
उज्वेकिस्तानको ब्ल्याक बुल्स आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश
उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सहारा क्लब पोखराको आयोजनामा गत माघ २२ देखि सुरु भएको प्रतियोगिताको आज सम्पन्न सेमिफाइनलको दोस्रो खेलमा नेपालको थ्रीस्टार क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै पाहुना टोली ब्ल्याक बुल्स फाइनलमा पुगेको हो ।
ब्ल्याक बुल्सले यही फागुन ३ गते विभागीय नेपाल पुलिस क्लबसँग उपाधिका लागि खेल्नेछ । पोखरामा पहिलो पटक फुटबल खेल्न आएको ब्ल्याक बुल्सले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गर्दै प्रतियोगिताको पाँच पटकको च्याम्पियन थ्रीस्टारलाई पराजित गरेको हो ।
खेलको २५औँ मिनेटमा ब्ल्याक बुल्सले कुभोनचेक ओलिमोभको गोलमा अग्रता बनाएको थियो । खेलको ५८औँ मिनेटमा असिफबेक ओरिफजोनोभले डिबक्सबाट सुन्दर गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ६३औँ मिनेटमा सात्तोरोभले थ्री स्टारका तीन डिफेण्डरलाई छक्काएर गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
खेलको ८७औँ मिनेटमा साइडजामोलले थप एक गोल गरेपछि थ्रीस्टार फराकिलो अन्तरले पराजित हुन पुग्यो । थ्रीस्टार क्लबले खेलमा केही गोल गर्ने मौका पाएको थियो । तर उसले खेलमा प्राप्त अवसरको सदुपयोग गर्न सकेन ।
प्रतियोगिताको विजेताले नगद रु १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने र उपविजेताले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटर पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउने आयोजकले जनाएको छ ।
नेपाली महिला टोली उत्साहित, घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले गत साफको प्रदर्शन र राम्रो तयारी भएकाले घरेलु मैदानमा आगामी हप्तादेखि सुरु हुने च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएका छन् ।
आगामी फागुन ५ गतेदेखि दशरथ रंगशालामा नेपालले लेबनान, म्यानमार र किर्गिस्तान सम्मिलित चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा खेल्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत माघ २० गतेदेखि ३९ जना प्रारम्भिक टोली घोषणा गर्दै प्रशिक्षण शुरु गरेको थियो । प्रशिक्षक तामाङले हाल ३० जना टोली छनोट गर्दै प्रशिक्षण गराइरहेका छन् ।
प्रशिक्षक तामाङले साँझ फ्लड लाइट र बिहानमा प्रशिक्षण गरिरहेको उल्लेख गर्दै सबै खेलाडी फिट रहेको बताए । गत साफको प्रदर्शनले खेलाडी उत्साहित रहेकाले जित्ने लक्ष्यसहित तयारी गरिरहेको उनको भनाई छ ।
घरेलु लिगतर्फ खेलिरहेको र यो प्रतियोगिता घाँसे मैदानमा खेल्दा केही फरक पर्नसक्ने भएपनि आफ्ना खेलाडी अभ्यस्त हुने उनको विश्वास छ । घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता भइरहँदा उपाधि घरमा नै राख्ने चाहने हुने भएपनि खेलमा यसै हुन्छ भन्न नसकिने र त्यसमा पनि म्यानमार धेरै राम्रो टोली रहेको उनले उल्लेख गरे । म्यानमारले आफूभन्दा बलिया र फिफा वरीयतामा मथिल्ला टोलीसँग खेलिरहेकाले बलियो रहेको तामाङ बताउँछन् । यद्यपि आफ्नो टोलीले पनि त्यहीअनुरूप तयारी गरिरहेको उनको भनाइ छ ।
मिडफिल्डर दीपा शाही र डिफेन्डर हीराकुमारी भुजेल नेपाली महिला टोलीको महत्वपूर्ण खेलाडी हुन् । उनीहरू गत महिला साफ च्याम्पियनसिपका दौरान नै चोटका कारण मैदान बाहिर छन् । अहिले दुवै जना रिकभर भैसकेको छैनन् । प्रशिक्षक तामाङले उनीहरू धेरै उत्कृष्ट खेलाडी रहेकाले अभाव खड्किने उल्लेख गर्दै उनीहरूको स्थानमा विकल्प खोजिएको बताए । नयाँ खेलाडी अनुभवी नभए पनि क्षमतावान रहेको प्रशिक्षक तामाङको विश्वास छ ।
समग्रमा आफ्नो टोली राम्रो रहेको र खेलाडी पनि आफै उत्साहित रहेको उनको छ । टोलीको अग्रपंक्तिमा खेल्ने दुई खेलाडी रेखा पौडेल र सावित्रा भण्डारी खेलको केही दिनअगाडि आउने भएकाले टिम कम्बिनेसनमा केही समस्या हुनसक्ने उनको भनाइ छ । यद्यपि, पछिल्ला खेलका रिभ्यु गरेर सुधार गर्ने प्रशिक्षक तामाङको अपेक्षा छ ।
एएफसी एशियन कप र फिफा महिला विश्वकपको तयारीस्वरूप एन्फाले यो च्याम्पियनसिप आयोजना गरेको हो । सोहीअनुरूप चार देशीय च्याम्पियनसिप खेल्न लागेको हो । यद्यपि, म्यानमारबाहेक दुई टोली किर्गिस्तान र लेबनान नेपालभन्दा फिफा वरीयतामा तलका टोली हुन् । म्यानमार हाल फिफाको ५५ औं स्थानमा छ । जुन नेपालभन्दा ४८ औं स्थान माथि हो । किर्गिस्तान १२८ औं र लेबनान १३४ औं स्थानमा छन् । त्यसैले ठूलो महत्वाकांक्षा राखेको एन्फाले तुलनात्मक रूपमा कमजोर टोलीसँग तयारी गर्न लागेको हो ।
प्रशिक्षक तामाङले फिफा वरीयतामा केही माथि र तल रहेको टोली भए पनि खेल प्रतिष्पर्धात्मक हुने अपेक्षा गरेका छन् । आफूहरूले फिफा वरीयतामा धेरै माथिका टोलीसँग पनि खेलिसकेकाले म्यानमारसँग कठिन नहुने र हामी सक्छौं भन्ने सोचेर खेल्दा गाह्रो नहुने आशा रे । लेबनान र किर्गिस्तानसँग खेलिसकेकाले म्यानमार पनि केही बलियो रहेको उनले बताए ।
नेपाली टोलीका युवा खेलाडी प्रीति राईले भर्खरै लिग खेलिरहेकाले म्याच एक्सपोजर पनि पाएको र तयारी पनि राम्रो भएकाले प्रतियोगितामा सुखद् हुने आशा गरेका छन् । फिफा वरीयताले खासै असर नहुने आफ्नो टोलीमा क्षमतावान् रहेको प्रीतिले बताइन् । सबै टोली समान बलियो रहे पनि जित निकाल्ने लक्ष्यसहित खेल्ने उजको अपेक्षा छ । चोटले केही खेलाडी घाइते भएपनि नयाँ खेलाडी पनि राम्रो रहेको प्रीति बताउँछिन् । जहिल्यै पनि स्वर्ण जित्ने लक्ष्यसहित खेले पनि यसपल्ट सफलता पाउने आशामा नेपाली रहेको रहेको छ ।
प्रतियोगिताका लागि टिकट दर साधारण प्यारापिटतर्फ पाँच सय रूपैयाँ र भिआइपीतर्फ एक हजार रूपैयाँ तोकिएको छ । आगामी फेब्रुअरी १३ मा किर्गिस्तान नेपाल आउने भएको छ । अन्य दुई टोली भने त्यसको भोलिपल्ट आउनेछन् ।








