पाथीभराको मौलिकता संरक्षण गर्न सरोकारवालाको माग

काठमाडौं । ताप्लेजुङको धार्मिक, सांस्कृतिक स्थल पाथीभराको मौलिकता संरक्षण गर्न सरोकारवालाले माग गरेका छन् ।

युमा माङ मुक्कुम्लुङ पाथीभरा संरक्षण समन्वय समितिद्वारा आज आयोजित अन्तरक्रियामा त्यस क्षेत्रको भौतिक विकासका नाममा मौलिक, धार्मिक, सांस्कृतिक पहिचान मेटाउन लागिएकामा सरोकारवालाले आपत्ति जनाए ।

विश्वभरका सनातन धर्मावलम्बीको पवित्र तीर्थस्थल पाथीभरालाई निश्चित भूगोलको मात्र भनी प्रचार गर्न नहुने उनीहरूको भनाइ थियो ।

पुजारी र स्थानीय मन्दिर क्षेत्र व्यवस्थापन समितिलाई चुप लाग्न बाध्य बनाइएको मुक्कुम्लुङ संरक्षण अभियन्ता चन्द्रहाङ किरातले बताए ।

पाथीभराको प्रसङ्गले देशभरका धार्मिक, सांस्कृतिक सम्पदा बचाउन सशक्त समूहको आवश्यकता देखिएको धार्मिक क्षेत्रका अनुसन्धानकर्ता भीम पाण्डेले बताए ।

छिमेकी मुलुक केदारनाथ कैलाश मानसरोवरमा केबलकार नचलाइएको उल्लेख गर्दै सहभागीले नेपालमा रहेका पूर्वीय दर्शन र सभ्यता नष्ट गर्ने प्रयत्न भइरहेको आरोप लगाए । वाग्मती प्रदेशका पूर्व प्रदेशसभा सदस्य जीवन डङ्गोलले धार्मिक, सांस्कृतिक स्थलमा अतिक्रमण भइरहेको बताए ।

विश्व हिन्दु युवा सङ्घका अध्यक्ष ऋषिकेशजङ्ग शाहले पाथीभरामा केबलकार निर्माण योजना खारेज गर्न आग्रह गरे ।

हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले पाथीभरालगायत देशभरका धार्मिक, सांस्कृतिक स्थलको संरक्षणका लागि सचेत र जागरूक हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + one =