निजी क्षेत्रको लगानी सुरक्षा गर्नको लागि सरकार प्रतिबद्ध छः वनमन्त्री

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले निजी क्षेत्रको लगानी सुरक्षा गर्नको लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बुधवार काठमाडौंबाट डिजिटल माध्यमद्वारा मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका ९ मुर्माटपमा एक्पर्ट ग्रुप र रारा होल्डिङ्स प्रा।लि।ले निर्माण गर्न लागेको रारा रिसोर्ट शिलान्यास गर्दै मन्त्री ठकुरीले यस्तो बताएका छन् ।
उनले सरकारले निजी क्षेत्रको प्रोत्साहन र लगानी सुरक्षा गर्नको लागि योजना बनाइरहेको बताए । उनले निजी व्यवसायलाई बढावा दिनको लागि सरकारले अध्यादेश ल्याएको दाबी गरे । उनले लगानीकर्ताको लगानी सुरक्षा गर्नको लागि अध्यादेशबाट बन्ने कानुनले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
उनले कर्णालीको क्षेत्रको समस्या समाधान गर्न समेत सरकार लागिपरेको बताएका छन् । उनले कर्णाली राजमार्ग र कर्णाली करिडोर पिच गर्नको लागि अगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने आश्वासन दिए । उनले रारा क्षेत्रको पर्यटन प्रवर्धन गर्नको लागि ताल्चा विमानस्थलको सुधार गरिने समेत बताए ।
उनले भने ‘नेपाल सरकारले लगानी क्षेत्रलाई प्रोत्साहन गर्नको लागि र सुरक्षा दिनको लागि थप योजना बनाइरहेको छ । भर्खरै सरकारले व्यवसायलाई बढावा दिनको लागि र थप लगानीको वातावरण तयार गर्नको लागि अध्यादेशको जारी गरेको छ । थप आवश्यक कानुनहरू बनाउनका लागि हामीले ती अध्यादेशहरू संसदमा पेस गरेका छौं । लगानीकर्ताको लगानी सुरक्षा गर्नको लागि बन्दै गरेको ऐनले ठूलो मद्दत पुग्ने छ । लगानीको सुरक्षा गर्नको लागि वर्तमान सरकार प्रतिबद्ध रहेको छ । विशेषगरी रारा क्षेत्रमा रहेका समस्याहरूका लागि हामीले खानेपानी समस्या समाधान गर्नको लागि केही कुराहरू गरेका पनि छौं । अगामी आर्थिक वर्षको बजेटमा पनि हामी जेजति गर्न सकिन्छ हामी गर्छौं नै । पूर्वाधार निर्माणमा स्थानीय स्रोत र साधनले बढी प्राथमिकता पाउने अवस्था बन्दै गएको छ । त्यसकारण बन्दै गरेको रिसोर्ट वातावरणमैत्री हुनेछ । कर्णाली करिडोर र कर्णाली राजमार्गहरू कच्ची बाटोको रुपमा प्रयोग भइरहेका छन् । त्यहाँ जाने मान्छे अत्यन्त कष्टपूर्ण महसुश गर्नुहुन्छ । अगामी वर्षमा नेपाल सरकार तीन तहकै सरकारको सहकार्यमा रारासँग पर्यटकको सहज पहुँचको लागि पिच गर्ने योजना बनाइरहेका छौं । ताल्चा एयरपोर्ट, जुम्ला एयरपोर्ट र बाजुरा एयरपोर्टको स्तरोन्नति गर्छौं ।’
उनले नेपालका अन्य पर्यटकीय क्षेत्रहरूमा समेत निजी लगानीको आवश्यकता रहेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न लगानीकर्ताहरूमा आह्वान गरे ।








