खबर दिनभर : प्रचण्डको नजरमा ठूलो आन्दोलनको आवश्यकता,कांग्रेसभित्र एकता भए परास्त गर्न नसकिने

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भइनसकेको बताएका छन् । सङ्घीय संसद् भवन परिसरमा अध्यादेश सम्बन्धमा आज सोधिएको प्रश्नबारे सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अहिले संसद्को गणपूरक सङ्ख्या गन्ने बेला आइनसकेको बताएका हुन् ।

संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सरकारले विभिन्न मितिमा छ वटा अध्यादेश जारी गरेको थियो । संसद् नियमावली अनुसार संसद् बैठक सुरु भएपछि अध्यादेशहरू पेस गर्नुपर्ने प्रावधान छ ।

देशमा पुनः एक पटक ठूलो आन्दोलनको आवश्यकता : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः एक पटक ठूलो आन्दोलनको आवश्यकता देशलाई परेको बताएका छन् ।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले अहिलेको नेतृत्वपंक्तिले संविधान मिच्ने काम गरिरहेको बताए ।

उनले देशमा स्थायी शान्तिको स्थापना गर्न प्रमुख दलहरु मिलेर जानुको विकल्प नरहेको जिकिर गरे । ठूलो कामका लागि ठूला दल मिलेको हो भन्ने भ्रम दिने उद्देश्यले संविधान संशोधनको कुरा उठाएको बताए ।

अहिलेको सरकार संविधान मिचेर बनेको आरोप लगाए । उनले प्रदेशलाई अधिकार दिन र स्थानीय तहलाई बलियो बनाउन कसैले नमानेको बताए ।

अध्यक्ष दाहालले राष्ट्रपतिलाई जबरजस्ती दबाब दिएर अहिलेको सरकार बनेको आरोप लगाए । अहिलेको सरकार संविधानसम्मत र लोकतान्त्रिक नरहेको पनि बताए ।

उनले संविधान संशोधनको सैद्धान्तिक जामा पहिर्‍याएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद र सरकार खोजेको आरोप लगाए । ‘सरकार बनेको पनि मलाई संविधानसम्मत लागेकै छैन । मलाई संविधानसम्मत बिल्कुलै लागेको छैन । यो संविधान मिचेर बनेको सरकार हो’ उनले भने ।

२८ बिघा अतिक्रमित जग्गा फिर्ताबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँकेको कोहलपुर नगरपालिका–११ स्थित क्रिकेट मैदान आसपास कोहलपुर नगर विकास समितिको करिब २८ बिघा अतिक्रमित जमिनबारे ध्यानाकर्षण गराइएको छ ।

सङ्घीय सांसद् सूर्यप्रसाद ढकाल, कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यसहित बाँकेका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिले आज उहाँलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर जग्गा फिर्ता गराइदिन आग्रह गर्दै ध्यानाकर्षण गराएका हुन् ।

जिल्लामा सर्वदलीय बैठक बसी अतिक्रमित जग्गामा बनेका घर टहरा हटाउन गरिएको आग्रहका आधारमा गृह मन्त्रालयबाट सूचना प्रकाशन भइसक्दा पनि अतिक्रमण गर्ने पक्षले सोअनुसार नगरेको भन्दै उच्च तहबाटै पहल लिइदिन प्रधानमन्त्री ओलीलाई प्रतिनिधिमण्डलले आग्रह गरेको थियो ।

जवाफमा प्रधानमन्त्री ओलीले कसैले पनि राज्यको सम्पति अवैध रूपमा अतिक्रमण तथा दुरुपयोग गर्न नपाउने स्पष्ट गर्दै सरकारले अतिक्रमित जग्गा फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गरे ।

कांग्रेसभित्र बलियो एकता भए कुनै पनि शक्तिले परास्त गर्न सक्दैन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसभित्र बलियो एकता हुन सके पार्टीलाई कुनै शक्तिले परास्त गर्न नसक्ने बताएका छन् । कांग्रेस दाङले आज घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले त्यसका लागि पार्टीभित्र बलियो एकता जरुरी रहेकाले एक ढिक्का हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे । ‘हामी मिले कसैले हराउन सक्दैन, त्यस कारण पार्टीभित्र एकता हुन जरुरी छ ।

पार्टीभित्र बलियो एकता कायम हुन सके कुनै निर्वाचनमा कांग्रेसलाई कसैले हराउन सक्दैन’, सभापति देउवाले भने, ‘पार्टीलाई बलियो बनाउन विकासका काममा समेत कांग्रेसका नेता तथा कार्यकर्ताहरू एकजुट भएर लाग्न आवश्यक छ ।’

यसै गरी उनले दाङमा रहेको विमानस्थल स्तर वृद्धि अपरिहार्य रहेको भन्दै तुलसीपुरमा रहेको विमानस्थल स्तर वृद्धिका लागिसमेत विज्ञहरूसँग परामर्श तथा प्रधानमन्त्रीसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘दाङमा ठूला जहाज उडानका लागि यहाँको विमानस्थललाई विस्तार गर्न जरुरी छ । यो दाङको आवश्यकता हो । यस कार्यमा मैले पनि पहल गर्नेछु’, उनले भने ।

आमाको नामबाट नागरिकता लिने प्रक्रिया सहज बनाउन नागरिकता ऐन संशोधन गर्न लागिएको हो : लेखक

गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता लिने प्रक्रिया थप सहज बनाउनेका लागि नेपाल नागरिकता ऐन, २०६३ मा संशोधन संसदमा पेश गरिएको बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ लाई अनुमति प्रस्तुत गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । गृहमन्त्री लेखकले नेपाल नागरिकता ऐन, २०६३ मा संशोधन गर्न बनेको विधेयकमा विशेष गरी एकल आमाका सन्तानलाई नागरिकता प्राप्तिमा सहज पार्न नागरिकता ऐनलाई संशोधन गर्न खोजिएको उल्लेख गरे ।

उनले कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहे त्यो पनि पाउने व्यवस्था विधेयकमा गरिएको बताए । उनले कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिए त्यस्तो व्यक्तिलाई दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना नराख्ने गरी सहज व्यवस्थाका लागि विधेयक पेश गरिएको बताए ।

उनले भने,‘नेपाली नागरिकता पाउन योग्य व्यक्तिलाई आवश्यक प्रक्रिया पूरा भइ आएको अवस्थामा नेपाली नागरिकता प्रमाणपत्र प्रदान हुँदै आएकोमा नागरिकता प्रदान गर्ने विषयमा सम्मानित अदालतमा मुद्दा परेको र ती मुद्दामा भएका आदेश सहितका विषयलाई सम्बोधन गर्नुपर्ने भएको र नागरिकता प्रदान गर्ने व्यवस्थालाई थप व्यवस्थित गर्नु पर्ने भएको छ । तत्कालिन नेपालको अन्तरिम संविधान २०६३ मा जन्मको आधारमा नागरिकता प्रदान हुने व्यवस्था भई सोही बमोजिम जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई नेपालको नागरिकता प्रदान हुँदै आएकोमा बाबु वा आमामध्ये कुनै एकले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्को जन्मको आधारमा नागरिकता प्राप्त गर्नु अगावै मुत्यु भएको वा आमा सम्र्पक विहिन भएका व्यक्तिका सन्तानलाई नेपाली नागरिकता प्रदान गर्न नेपाल नागरिकता ऐन २०६३ को विद्यमान व्यवस्थामा परिमार्जन गर्नु पर्ने भएको छ । कुनै व्यक्तिको जन्म दर्ता वा शैक्षिक योग्यताको प्रमाण पत्रमा बुबाको नाम उल्लेख भएको तर निजको बुबा हाल सम्पर्कमा नभएको भनी निजले स्वघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान नभएको मानी निजलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गर्न वा कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बुबाको नाम ठेगाना उल्लेख गर्नुपर्दैन भनि निवेदन दिएमा सोही बमोजिम नेपाली नागरिकता प्रदान गर्न तथा १६ वर्ष उमेर नपुगेको बालबालिकालाई नाबालक परिचयपत्र प्रदान गर्ने सहितका विषयलाई नेपाल नागरिकता ऐनमा समावेश गर्नुपर्ने भएकाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद प्रतिनिधि सभा पेश गर्दछु ।’

उनले नेपाली नागरिकता प्रदान गर्न तथा १६ वर्ष उमेर नपुगेको बालबालिकालाई नाबालक परिचयपत्र प्रदान गर्ने सहितका विषयलाई नेपाल नागरिकता ऐनमा समावेश गर्नुपर्ने भएकाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद प्रतिनिधि सभा पेश गरेको बताए ।

प्रतिनिधिसभा बैठक : अध्यादेशको पक्ष र विपक्षमा सांसद

प्रतिनिधिसभाको आजको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुले सरकारले ल्याएको अध्यादेशको पक्ष र विपक्षमा आफ्नो धारणा राखेका छन् ।

बैठकको विशेष समयमा सत्तापक्षका सांसदहरुले अध्यादेशको समर्थन गर्दै यसले निजी क्षेत्र र जनतलाई उत्साहित बनाएको बताउनुभयो । प्रतिपक्षी दलका सांसदहरुले भने सरकारले संसद् छलेर अध्यादेश ल्याएको आरोप लगाए ।

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले भूमिसम्बन्धी अध्यादेशमा केही प्रश्न उठेको उल्लेख गर्दै सरकारले त्यसलाई प्रतिस्थापन विधेयकबाट सच्याउनुपर्ने बताए ।

उनले अघिल्लो सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका र वर्तमान सरकारले यससम्बन्धी ऐन ल्याउँदा आपसी संवाद तथा सरोकारवालासँग खुला संवाद गरी नल्याएकामा असन्तुष्टि व्यक्त गरे ।

“खुला संवाद भएको भए एक्स्टोर्सन, सेक्सटोर्सन, डिप फेक, साइबर बुलिङ, मिस इन्फरमेसन र डिस इन्फरमेसनका सन्दर्भमा कानुनमार्फत यसलाई के–कसरी अन्त्य गर्न सकिन्छ भन्नेमा सिङ्गो समाज एक ठाउँमा आउँथ्यो होला”, उले भने,“सामाजिक सञ्जाल प्रयोगकर्ताले यसमा विमतिको विषय राख्नेभन्दा पनि विषयवस्तुको गहनता र सामाजिक सञ्जाललाई मर्यादित बनाउनेतर्फ लाग्थे होला, तर अभिव्यक्ति स्वतन्त्रतालाई नै असर पर्ने कुरा कसैलाई पनि स्वीकार्य हुँदैन ।”

एमाले सांसद पदम गिरीले सत्तामा रहँदा र बाहिर हुँदा फरक ढङ्गले प्रस्तुत हुने प्रवृत्ति अब बदल्नुपर्ने बताउनुभयो । उहाँले वर्तमान सरकारले बदनियतपूर्ण ढङ्गबाट स्वार्थ समूहको हितमा अध्यादेश ल्यायो भनेर भन्नु बिडम्बना भएको बताए ।

“निजी क्षेत्रले अध्यादेशको खुला रुपले समर्थन गरेको छ, यसबाट निजी क्षेत्रलाई आशा जगाउने स्थिति बनेको भनी उहाँहरुले सरकारलाई धन्यवाद दिनुभएको छ”, सांसद गिरीले भने,“अध्यादेशबाट उद्योगी व्यवसायी, सूचना प्रविधि क्षेत्रका जनशक्ति, मजदुर र किसान खुसी छन्, उद्योगी व्यापारी र जनता खुसी हुन्छन् भने तपाईंहरु दुःखी हुनुपर्ने कारण के हो रु”

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का सांसद देवेन्द्र पौडेलले अध्यादेशमार्फत कानुन बनाउने बाटो छाडेर सदनको प्रक्रियाद्वारा सरकार अघि बढ्नुपर्ने बताए । उनले ३१ कानुन संशोधन गर्न अध्यादेश ल्याइनु संविधानविपरीत भएको बताए ।

“संविधानमा बाधा अड्काउ फुकाउका निम्ति, संसद् बस्ने स्थिति रहेन, देशलाई कानुन चाहियो भने मात्रै अध्यादेशको परिकल्पना गरिएको हो रु”, सांसद पौडेलले प्रश्न गरे,“एकतीस ३१ कानुन बनाउँदा संसद्को वास्ता नै नगरिकन ल्याउन कहाँ भनिएको छ रु”

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद गणेश पराजुलीले आफ्ना पार्टीका नेता रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध राखेर विभिन्न मुद्दा दर्ता गराइएको जिकिर गर्दै उनीमाथि गरिएको निलम्बन फुकुवा गर्न माग गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले वैध तथा अवैध बाटोबाट अमेरिका पुगेका नेपाली नागरिक त्यहाँको पछिल्लो आप्रवासी कानुनी प्रावधानका कारण अलपत्र परेका उल्लेख गर्दै उनीहरुका बारेमा नेपाल सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का सांसद प्रकाश ज्वालाले राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानद्वारा सल्यानमा आयोजित दोस्रो सल्यान महोत्सवमा आगलागीबाट ठूलो धनराशिको नोक्सान भएको जिकरि गर्दै उक्त घटनाको अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले भूमिसम्बन्धी अध्यादेशका केही बुँदामा आफ्नो पार्टीको असहमति रहेको उल्लेख गर्दै प्रतिस्थापन विधेयकमार्फत ती विषय सच्याइनुपर्नेमा जोड दिए ।

जनमत पार्टीका सांसद अब्दुल खाँनले भारतीय सीमावर्ती जङ्गलबाट आउने जनावरको आक्रमणबाट ज्यान गुमाएका नेपाली नागरिकलाई क्षतिपूर्ति र भरणपोषणका लागि भारतसँग कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।

नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले नागरिकतासम्बन्धी समस्या झेलिरहेका नागरिकलाई न्याय दिन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन विधेयकलाई सच्याएर जानुपर्नेमा जोड दिए ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशी नागरिकता भएका कोहीलाई नेपालीका नाममा मतदानका अधिकार दिनु देश र जनताको हितमा नभएको बताए । एमाले सांसद ऋषिकेष पोखरेलले किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

अध्यादेशप्रति जसपा सकारात्मक, सरकारमा जाने मनशायमा छैनौँ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको अध्यादेशप्रति सकारात्मक रहेको बताएका छन् । आइतवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संसदबाट अध्यादेशपारित गर्न आफूहरुको कारणले नअड्किएको बताएका हुन् ।

पार्टीले धारणा बनाइरहेको र यसमा सकारात्मक र क्रिएटिभ रहेको उनको भनाइ छ । देश र जनताको हितमा आफूहरुको निर्णय हुने बताए ।

सरकारले संसदको कार्यसूचिमा राख्ने बित्तिकै पार्टीले निर्णय लिने बताए । ‘हामीले कहाँ अड्काएका छौँ त । सरकारले कार्यसूचिबाट आफैँ फिर्ता लिन्छ । हामीले अड्कायो कसरी भयो । हामी धारणा बनाउँदैछौँ र हाम्रो सोच सकारात्मक छ । क्रिएटिभ रुपले हामी सोच्दैछौँ । देश र जनताको हितमा हामी अगाडि बढ्छौँ । सरकारले कार्यसूचिमा राख्ने बित्तिकै हाम्रो निर्णय हुन्छ । हामी सरकारमा जाने अवस्थामा अहिले छैनौँ । हामीलाई मन्त्रालय चाहिएन । देश र जनताको हितमा काम चाहियो’ उनले भने ।

उनले अहिले सरकारमा जाने अवस्थामा आफूहरु नरहेको र कुनै मन्त्रालय नचाहिएको पनि बताए ।

केबलकार निर्माण विवाद स् आन्दोलनरत पक्षसंग मन्त्रीस्तरीय वार्ता हुने

ताप्लेजुङमा निर्माण हुने केबलकारको समस्या समाधानका लागि सोमबार मन्त्रीस्तरीय वार्ता हुने भएको छ । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य योगेश भट्टराईका अनुसार सोमबार साँझ आन्दोलनरत पक्षसंग मन्त्रीस्तरीय छलफल हुने भएको हो ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘आज बिहान १० बजेदेखि अपरान्ह १२ बजेसम्म निर्माणाधिन पाथिभरा केवलकारका बारेमा आन्दोलनरत पक्षका प्रतिनिधि मित्रहरूसंग सौहाद्रपूर्ण संवाद गरियो । वहाँहरूका कुरा सुने । मेरा कुरा भने । उहाँहरूले माननीय गृह मन्त्रीज्यू समक्ष भेटेर आफ्ना कुरा राखन चाहनु भएको र त्यस्को समन्वयका लागि मलाई अनुरोध गर्नु भए अनुरूप मैले गृह मन्त्रीज्यूलाई अनुरोध गरे । माननीय गृह मन्त्रीज्यूले भोली माघ २८ गते साझ ६ बजे भेटघाटको समय दिनु भएको जानकारी गराउदछु ।’

आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसंग छलफललाई निरन्तरता दिएर वार्तामार्फत समस्याको समाधान गरिनुपर्ने समेत उनले बताए ।

सरकारले केबलकार निर्माणको विवाद समाधानका लागि आन्दालनरत पक्षसंग वार्ता गर्न भन्दै गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

उक्त टोलीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधिसमेत रहेका छन् । तर,वार्ता निष्कर्षमा पुग्न नसकिएपछि मन्त्रीस्तरीय वार्ता हुन लागेको हो ।

पछिल्लो समय पाथीभरामा केबलकार निर्माण बन्द हुनुपर्ने भन्दै आन्दोलन भइरहेको छ । केबलकार निर्माणको कार्य अघि बढाइएपछि आन्दोलनरत पक्ष पाथिभरा क्षेत्रमा केबलकार निर्माणको कार्य खारेज गर्न माग गर्दै आन्दोलनमा उत्रिएको छ ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आइतबार नेप्से परिसूचक ११ दशमलव ४९ अङ्कले घटेर दुई हजार छ सय ८८ दशमलव ३१ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय पाँच कम्पनीको एक करोड ५८ लाख ५५ हजार छ सय १० कित्ता सेयर ८४ हजार दुई सय ८० पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ३९ करोड ८६ लाख ६० हजार छ सय २८ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह शून्य दशमलव ८०, उत्पादन तथा प्रशोधन शून्य दशमलव १५, लघुवित्त शून्य दशमलव २५ र व्यापार समूह एक दशमलव ३९ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ ।

सबैभन्दा धेरै विकास बैंक समूह एक दशमलव ३५ र अन्य समूह एक दशमलव ३० प्रतिशतले घटेको छ ।

बैंकिङ शून्य दशमलव ३५, होटल तथा पर्यटन शून्य दशमलव २४, जलविद्युत् शून्य दशमलव ५०, लगानी शून्य दशमलव ३९, जीवन बिमा शून्य दशमलव ७६, म्युचुअल फन्ड शून्य दशमलव ३४ र निर्जीवन बिमा शून्य दशमलव ५७ प्रतिशतले घटेको छ ।

सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा भने सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य छ दशमलव ५२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३१ करोड १६ लाख ८३ लाख तीन सय ९५ बराबरको सेयर खरिदबिक्री भएको छ ।

कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको चार लाख ७६ हजार सात सय ७७ कित्ता सेयर किनबेच भएको छ ।

थ्रीस्टार आहा ! रारा गोल्डकपको सेमिफाइनलमा

थ्रीस्टार फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आइतबार भएको क्वाटरफाइनलको दोस्रो खेलमा टाइब्रेकरमा थ्रीस्टार मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको नियमित तथा थप गरिएको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा थ्रीस्टारले ४–२ गोलले जित निकाल्यो ।

पेनाल्टीमा मछिन्द्रका विशाल घलानको प्रहार बारमा लागेर गोल हुन सकेन । थ्रीस्टारका गोलकिपर सरिनले मछिन्द्रका आदित्य शाक्यको प्रहार रोक्न सफल भएपछि थ्रीस्टारले अन्तिम चारको यात्रा तय गरेको हो । मछिन्द्रका सनिश श्रेष्ठ र दिवाकर चौधरीको प्रहारले भने गोलको दिशा लिएको थियो ।

थ्रीस्टारका लागि दिपेश घले, फोडे फोफाना, विराज महर्जन र लक्ष्मण रुचालले गोल गरे । प्रतियोगितामा मछिन्द्रले विभागीय टोली एपिएफ क्लबलाई पजित गरी क्वाटरफाइनलको यात्रा तय गरेको थियो । थ्रीस्टारले भने सिधैं क्वाटरफाइनल खेलेको हो ।

प्रतियोगिताअन्तर्गत सोमबार चर्च ब्वाइज र विभागिय टोली नेपाल आर्मी क्लबका बीच खेल हुने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिए । यही फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रु १२ लाख, उपविजेताले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार नगदसँगै ट्रफी पाउने छन् ।

राजकुमार ह्यारीलाई निर्वासन नगर्ने ट्रम्पको निर्णय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजकुमार ह्यारीको आप्रवासन स्थितिमाथि प्रश्न गर्दै चलिरहेको मुद्दाका बाबजुद उनलाई संयुक्त राज्य अमेरिकाबाट निर्वासन नगर्ने बताएका छन् । शुक्रबार न्युयोर्क पोस्टसँगको अन्तर्वार्तामा ट्रम्पले ह्यारीविरुद्ध कुनै कारबाही नगर्ने स्पष्ट पारे । “म त्यसो गर्न चाहन्नँ”, उनले भने, “म उहाँलाई एक्लै छोडिदिन्छु । उहाँकी श्रीमतीसँग पर्याप्त समस्या छ । उहाँकी श्रीमती भयानक हुनुहुन्छ ।”

यो बयान ह्यारीको भिसासम्बन्धी कानूनी चुनौतीहरूका बीच आएको हो । विशेषगरी हेरिटेज फाउन्डेसनले उहाँको भिसा आवेदन प्रक्रियामा विगतको गैरकानूनी लागूपदार्थ प्रयोगबारे खुलासा नगरेको सम्भावनाबारे चिन्ता व्यक्त गरेको रिपोर्टमा उल्लेख छ ।

न्युयोर्क पोस्टले ट्रम्पले ह्यारीका अलग भएका जेठा दाजु राजकुमार विलियमप्रति प्रशंसा व्यक्त गर्ने मौका पनि लिएको र उहाँलाई ‘एक महान युवा’ भनेको उल्लेख गरेको छ ।

दुई जनाले सन् २०२४ डिसेम्बरमा नोट्रे–डाम क्याथेड्रलको पुनः उद्घाटनका क्रममा पेरिसमा गोप्य रूपमा भेट गर्नुभएको थियो । उक्त भेट ह्यारी र उहाँकी श्रीमतीसँगको ट्रम्पको तनावपूर्ण सम्बन्धको विपरीत थियो ।

ड्युक र डचेस अफ ससेक्स मेघन मर्केल लामो समयदेखि ट्रम्पको मुखर आलोचक रहँदै आउनुभएको छ । मर्केलले अघिल्लो सार्वजनिक बयानहरूमा उहाँलाई ‘विभाजनकारी’ र ‘महिला विरोधी’ भनेका थिए भने ट्रम्पले नियमित रूपमा ह्यारीको उपहास गर्दै राजकुमार मेघनद्वारा ‘नियन्त्रित’ भएको दाबी गरे । “मलाई लाग्छ बिचरा ह्यारी मेघनको पूर्ण नियन्त्रणमा हुनुहुन्छ”, ट्रम्पले अघिल्लो अन्तर्वार्तामा टिप्पणी गर्नुभएको न्युयोर्क पोस्टले रिपोर्ट गरेको छ ।

हेरिटेज फाउन्डेसनले होमल्यान्ड सेक्युरिटी विभागविरुद्ध दायर गरेको मुद्दाले ह्यारीको अमेरिकी भिसा आवेदनमा ह्यारीको आत्मकथा ‘स्पेयर’मा कोकेन, गाँजा र साइकेडेलिक्स लगायतका लागूपदार्थको विगतको प्रयोगबारे गरिएको स्वीकारोक्तिलाई उद्धृत गर्दै उनको इमानदारीमाथि प्रश्न उठाएको छ ।

हेरिटेज फाउन्डेसनका नाइल गार्डिनरले भने “संयुक्त राज्य अमेरिकामा आवेदन दिने जोसुकैले आफ्नो आवेदनमा सत्य बोल्नुपर्छ र राजकुमार ह्यारीको मामलामा यो स्पष्ट छैन”, न्युयोर्क पोस्टले उल्लेख गरेको छ ।

रिपोर्टमा थप उल्लेख भएअनुसार रूढिवादी थिङ्क ट्याङ्कले ह्यारी र मेगन बेलायती शाही परिवारबाट बाहिरिएपछि सन् २०२० मा क्यालिफोर्नियामा सर्नुभएको थियो र यसलाई व्यापक रूपमा ‘मेगजिट’ भनिन्छ । त्यसपछि बाइडेन प्रशासनबाट विशेष व्यवहार पाएको हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 1 =