सरकारले षड्यन्त्रपूर्वक तरिकाले अध्यादेश ल्यायो : अध्यक्ष दाहाल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले षड्यन्त्रपूर्वक तरिकाले अध्यादेश ल्याएको आरोप लगाएका छन् ।
बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकार अधिवेशनबाट भागेको आरोप लगाए ।
उनले पछिल्ला पैंतीस वर्षमा नेपाली काँग्रेसले बाह्रपटक प्रधानमन्त्री चलाएछ, नेकपा एमालेले सात पटक प्रधानमन्त्री बनेर देशको नेतृत्व गरेको उल्लेख गर्दै ३५ वर्षपछि अहिले देशको विकास ६ दिन ढिलो हुन्छ भनेर अध्यादेश ल्याएको हो ? भन्दै प्रश्न गरे ।
‘सरकार अधिवेशनबाट मात्र भागेन, षड्यन्त्रपूर्ण तरिकाले एकपछि अर्का अध्यादेशहरु ल्यायो । सार्वभौम संसदको यो तहको उपेक्षाप्रति हाम्रो आपत्ति छ,’ उनले भने, ‘माघ ८ गते संसदको बैठक आह्वान गरिएको छ तर जम्मा ६ दिनअघि दर्जनौं ऐन संशोधन गर्ने गरी पाँचपाँचवटा अध्यादेश ल्याइएको छ ।’
उनले रातारात अध्यादेश ल्याउने कुराले पनि सरकारको नियत सही नरहेको पुष्टि गर्ने बताए ।
उनले स्वार्थ समूह पोस्नकै लागि सरकारले अध्यादेश ल्याएको आरोप लगाए ।








