‘अमला काण्ड’ भन्दै घटनालाई अतिरञ्जित गर्ने ३८ युट्युव च्यानलमाथि काउन्सिलको कारबाही

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकामा भएको एक घटनालाई ‘अमला काण्ड’ नाम दिई पीडित युवती, आरोपित ज्येष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो र तस्बिरहरू समेत राखी सम्प्रेषण गर्ने ३८ युट्युब च्यानललाई प्रेस काउन्सिल नेपालले बुधबार कारबाही गरेको छ ।

घटनालाई अतिरञ्जित गराई पीडित परिवारलाई अमर्यादित प्रश्नहरू सोध्ने, संवेदनहीन बहसलाई प्राथमिकता दिई भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या गर्ने किसिमबाट सनसनीपूर्ण बनाइ सामग्री सम्प्रेषण भएपछि कारबाही गरिएको काउन्सिलले बुधबार विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

काउन्सिलले युट्युब तथा फेसबुकबाट सम्प्रेषण भएका पत्रकारिताका मूल्य र मान्यताविपरीत, गलत, समाजमा घृणा, द्वेष, उत्तेजनारअफवाह फैलाउने, सामाजिक सद्भाव बिगार्ने त्यस्ता सामग्री हटाउन भनेको छ ।

‘प्रचलित ऐन, नियम, निर्देशिका, आचारसंहिता गम्भीर उल्लङ्घन गरेका तर आफ्ना सम्पर्क विवरण नराखेका तथा मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई प्रचलित कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको छ ।’ काउन्सिलका सूचना अधिकारी सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलले यस घटनासँग सम्बन्धित रहेर आधार प्रमाण पुष्टि नभएको विषयमा वैयक्तिक गोपनीयता प्रतिकूल हुने किसिमबाट पीडित र आरोपितको नाम, वतन, तस्बिर तथा भिडियो सामग्री सम्प्रेषण गरी पीडित र पीडितका परिवारलाई थप पीडा पुग्ने र सार्वजनिक संवेदनशीलतामा असर पर्ने सामग्री सम्प्रेषण गरी पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ४(९), ५(२)(२),५(४) र ५(१३), महिला उत्तरदायी सञ्चार निर्देशिका, २०७६ को ५(८),(९), जेष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका, २०७८ को ४(क,ख,ङ र झ) र वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ को दफा (३) उल्लङ्घन गर्ने ३८ वटा युट्युब च्यानललाई कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

काउन्सिलले युट्युब तथा फेसबुकबाट सम्प्रेषण भएका पत्रकारिताका मूल्य र मान्यताविपरीत, गलत, समाजमा घृणा, द्वेष, उत्तेजना/अफवाह फैलाउने, सामाजिक सद्भाव बिगार्ने त्यस्ता सामग्री हटाउन भनेको छ ।

‘आरोप र शङ्काकै आधारमा आफैं अदालतझैं गरी अप्रमाणित विषयलाई दोषी करार गर्ने, वैयक्तिक गोपनीयता प्रतिकूल हुने, महिला/जेष्ठ नागरिक/बालबालिकाको आत्मासम्मानमा आँच पुर्‍याउने सामग्री क्षमायाचनासहित हटाउन प्रेस काउन्सिल नेपाल सम्बद्ध सबैमा आग्रह गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 8 =