बाँदरको बन्ध्याकरणका लागि आवश्यक कानुन बनाउन विज्ञको सुझाव

काठमाडौँ । बाँदर आतंक कम गर्न बाँदरको बन्ध्याकरणको लागि आवश्यक ऐन, कानुन बनाउन संसदीय समितिलाई विज्ञहरूले सुझाएका छन् ।
बुधवार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनीहरु यस्तो सुझाव दिएका हुन् । बैठकमा बोल्दै नेपाल भेटेनरी एशोसिएशनका महासचिव डा. केदार सुवेदीले कानुन निर्माणको माध्यमबाट बाँदर आतंकको समस्या दीर्घकालीन रुपमा समाधान गर्न सकिने बताए ।
उनले बाँदर नियन्त्रणका लागि सातवटै प्रदेशहरूमा भौतिक संरचना निर्माण गर्न समेत जरुरी रहेको बताए । उनले बाँदरको आतंक कम गर्न कानुन निर्माणमा जोड दिनुको विकल्प नरहेको बताए ।
डा. सुवेदीले भने ‘सरकारले बाँदर नियन्त्रणका लागि एउटा टेम्पोररी कानुन मात्र बनाएको छ मुद्दा नलाग्ने भनेको छ । कृषि मन्त्रालय वा वन मन्त्रालयबाट कानू नै बनाएर बाँदर आतंकको समस्या दीर्घकालीन रुपमा समाधान गर्न सकियो भने चाहिँ बाँदरको बन्ध्याकरण गर्ने कानुनी आधार खुल्छ भन्ने लाग्छ । अर्को, हामीले भौतिक संरचनाहरूको व्यवस्था, उपकरणहरूमा मोबाइल भ्यानको व्यवस्था सातवटै प्रदेशमा राख्न सकिन्छ । यस विषयमा कृषि समिति, कृषि मन्त्रालय र वन तथा वातावरण मन्त्रालय जिम्मेवार भएर प्रस्तुत भइदिनुहुन्छ भन्ने विश्वास पनि लिएको छु । बाँदरको स्थानान्तरण गर्ने, जङ्गल र बस्तीबीचको दूरी कायम गर्ने, हेरालुहरु राख्ने, बाँदरलाई मन पर्ने रुख बिरुवाहरू र फलहरू जङ्गलमा लगाउने, बाँदर निर्यात गर्ने आदी विषयमा व्यापक छलफल र सहमति जनाउन जरुरी छ ।’
बैठकमा बोल्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा।रामचन्द्र कँडेलले बाँदर बन्ध्याकरणबारे राष्ट्रिय नीति र रणनीतिमा छलफल गर्नुपर्ने बताए । उनले बाँदर बढेको क्षेत्रमा केन्द्रित रहेर बन्ध्याकरण भन्दा पनि प्राकृतिक रूपमै कम हुने किसिमका उपाय खोज्नुपर्ने बताए ।
उनले बाँदर नियन्त्रणका लागि स्थानीय तहलाई जिम्मेवार बनाउनुपर्ने बताए । जङ्गलमा मृगहरू कम भएको कारण चितुवाले घरपालुवा जनावरहरूमा आक्रमण गर्ने भएको कारण कानुन निर्माणका क्रममा यस कुरालाई गम्भीर रूपले हेर्नुपर्ने बताए ।
उनले भने ‘पशुस्वास्थ्य कै कानुनमा अथवा राष्ट्रिय निकुञ्जहरूको ऐन नियमहरूमा परिवर्तन गरेर बाँदरको बन्ध्याकरण गर्न सकिने एउटा व्यवस्था गर्नुपर्छ । यसका लागि कानुनी विषयहरूमा र रणनीतिक विषयहरूमा छलफल गर्न जरुरी छ । अर्को, बाँदरको इकोलोजीको बारेमा विज्ञसँग छलफल गरेर प्राकृतिक रूपमै पनि नियन्त्रण गर्न सकिन्छ । रिप्रोडक्सनको समयमा मेल बाँदर र फिमेल बाँदरलाई सेग्रिगेसन गर्न सकियो भने पनि त्यसले केही सहयोग गर्नसक्छ । सजिलो सस्तो प्रविधि पनि हो । जङ्गलमा मृगहरू कम भएको कारणले चितुवाले घरपालुवा जनावरहरूमा आक्रमण गर्न सक्ने खतरा समेत भएको हुनाले यो कुरालाई पनि ध्यान दिन जरुरी छ ।’
बैठकमा सांसदहरूले बाँदरले कृषि बाली नष्ट गर्दा गाउँ नै रित्तिँदै गएको कारण बाँदर व्यवस्थापनमा ढिलाइ गर्न नहुने बताए । बाँदरको बन्ध्याकरणका लागि आवश्यक उपकरण र केन्द्र स्थापना गर्नुपर्ने, बन जङ्गलमा बाँदरका लागि खाना पानीको व्यवस्थापन गर्नुपर्ने विज्ञहरूको माग छ ।








