केबलकार निर्माण विवाद : सहमति खोज्दै सरकार

काठमाडौं । सरकारी वार्ता टोली र ‘नो केबलकार समूह’बीचको वार्ता आज पुनः जारी रहने भएको छ । सोमबारको वार्ता निष्कर्षविहीन भएपछि आज बिहान ११ बजेदेखि पुनः सुरु गर्ने सहमति भएको थियो ।

वार्ता काठमाडौंको ललितपुरस्थित होटल हिमालयमा हुनेछ । संघीय सरकारका प्रतिनिधि र आन्दोलनरत समूहबीच पहिलोपटक भएको छलफलमा मुख्यत: आन्दोलनका क्रममा पक्राउ परेका तीन जनाको रिहाइ, निर्माण कार्य स्थगन, र आन्दोलनका कार्यक्रम फिर्ता लिने विषयमा कुराकानी भएको थियो। सरकारी पक्षले पक्राउ परेकाहरूको रिहाइमा सकारात्मक धारणा व्यक्त गरे पनि निर्माण कार्य स्थगन गर्न असहमति जनाएपछि वार्ता बिना निष्कर्ष स्थगित भएको हो ।

वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईका अनुसार, आन्दोलनरत पक्षले तीन प्रमुख माग राखेका थिए- पक्राउ परेकाहरूको रिहाइ, केबलकार निर्माण कार्य रोक्ने र काफ्लेपार्टीमा तैनाथ सुरक्षाकर्मी फिर्ता बोलाउने। सरकारको तर्फबाट पक्राउ परेकाहरूको रिहाइका लागि सकारात्मक संकेत देखाइएको तर हाल निर्माण भइरहेको स्थानको कार्य निरन्तर रहने, माथिल्लो क्षेत्रमा भने काम अघि नबढाइने प्रस्ताव राखिएको थियो । आन्दोलनरत पक्षले यसमा सहमति जनाउन अस्वीकार गरेपछि वार्ता मंगलबारसम्मका लागि स्थगित गरिएको हो ।

यसैबीच, आन्दोलनरत समूहले यातायात बन्दलाई निरन्तरता दिएको छ । आन्दोलनका अगुवा नवीन पोमुका अनुसार, वार्ता चलिरहेको अवस्थामा पनि यातायात बन्द कायमै राखिएको छ । अरुण पूर्वका नौ जिल्लामा आजदेखि आम हड्ताल गर्ने योजना रहे पनि, हड्ताल स्थगित गरेर यातायात बन्द मात्र गर्ने निर्णय गरिएको छ ।

आन्दोलनरत पक्षले सरकारको लचकता प्रति आशावादी रहेको प्रतिक्रिया दिएको छ। स्थानीय जनप्रतिनिधि तथा जिल्लाका राजनीतिक दलहरूले वार्ता नै समस्याको उचित समाधान भएको भन्दै वार्तामार्फत सहमति खोज्न आग्रह गरेका छन् । राजधानीसम्म पुगेको आन्दोलनको समाधान संघीय सरकारकै तहबाट खोजिनुपर्ने उनीहरूको माग रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 18 =