‘जनै हराएको बाहुन’ को थिम भिडियो सार्वजनिक, नयाँ प्रतिभाले गीत गाउने अवसर पाउने (भिडिओ)


काठमाडौँ । निर्माणाधीन नेपाली चलचित्र ‘जनै हराएको बाहुन’ को थिम भिडियो सार्वजनिक गरिएको छ ।
सरस्वती पूजाको अवसर पर्दै यस चलचित्रका अभिनेता विजय बराल र निर्माता कम्पनीले सोमबार सबेरै आफ्नो सोसल मिडिया मार्फत संवाद र गीतसहितको संक्षिप्त भिडियो सार्वजनिक गरेका हुन् ।
भिडियोमा दुई साथीहरूको स्केच तस्बिर राखिएको छ, जसमा उनीहरू छुट्टिने बेला कुरा गरिरहेका छन् । सुनिन्छ
‘साथी तैँले पनि गाउँ छोड्न लागिस् नि ?
गाउँ नछोडी त सपना पूरा नहुँदो रहेछ साथी !
अब तँ कहिले फर्किन्छस् ?
खै ! थाहा छैन । ए सुन त ! हिँड्ने बेलामा आमाको आँखामा भएको आँसु पनि हेर्न सकिन । कहिले काहीँ आमा भाुठाउँमा जाइदे है ।
ल ल.. ! तैँले त हामीलाई बिर्सिन्छस् होला नि साथी ?
अनि नि साथी मेरो आमालाई भन्दे ! मेरो सपना पूरा नहुन्जेल बुढी नहुनु भन ल ?’
यसपछि गीत सुरु हुन्छस् ‘हे आमा म, कमाएर गाउँ नफर्किँदासम्म, तिमी बुढी नहुनु है १!’
यस भिडियोको पृष्ठभूमिमा अभिनेता विजय बराल र एसोसियट निर्देशक तथा अभिनेता मनिष राउतको स्वर सुन्न सकिन्छ । यो थिम भिडियो सार्वजनिक गर्दै निर्माताले गायनमा दक्षता भएका नयाँ प्रतिभालाई गजबको अफर ल्याएका छन् ।
यो अफरमा यस भिडियोको अन्त्यमा रहेको गीतको अंशलाई आफूले गाएर टिकटकमा पोस्ट गर्ने एक जना पुरुष र एक जना महिला उत्कृष्ट प्रतिभालाई सोही गीतमा स्वर भर्ने अवसर दिने र गीतलाई चलचित्रमा समावेश गरिने निर्माताले जनाएका छन् । गीतमा अर्जुन पोखरेलले सङ्गीत दिनेछन् ।
पेपरक्लिप प्रालिले बनाउन लागेको ‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् भने अभिनेता बरालले प्रमुख अभिनय गर्दैछन् । चलचित्रको कथा, पटकथा र संवाद भने भानुभक्त ढकालले लेखेका हुन् ।
यो चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ । चलचित्रका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर।के। मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन् । यस चलचित्रमा नवीन गुरुङ छायाकारका रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन ‘ज्याक ‘ हुन् । भिएफक्स सुपरभाइजर मयङ्क निरौला रहेका छन् ।
यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको यो चलचित्र २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ ।
