खबर दिनभर : शहीद दिवस मनाइयो,एपिएफले जित्यो उपाधि,सरकारी जागिर छाड्न ट्रम्पको प्रस्ताव

अरू मुलुक जस्तै नेपालको पनि अब प्रगति हुन्छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनतालाई खुसी र सुखी बनाउन तीन तहकै सरकारले काम गरिरहेको बताएका छन् ।

तनहुँको व्यास नगरपालिका-८ पुलिमराङस्थित सहिद पार्कमा बुधवार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सङ्घीय, प्रदेश र स्थानीय सरकार जनताको खुसीका लागि विकासको काममा जुटेको उल्लेख गरे ।

नेपाल चाँडै उन्नतिको बाटोमा अगाडि बढ्ने बताउँदै राष्ट्रपति पौडेलले भने,“अरू मुलुक जस्तै नेपालको पनि अब प्रगति हुन्छ । नेपालमा केही भएन भनेर निराशा व्यक्त गर्ने होइन । अब सबै मिलेर नेपाल बनाउने बेला आएको छ ।”

उनले कृषि क्रान्ति गरेर उद्योग व्यवसाय स्थापना गरी गाउँमा नै रोजगारी र आम्दानी गराउनेतर्फ सरकार लागिपरेको उल्लेख गरे । उनले भने,“नेपाली जनतालाई सुखी र खुसी बनाउन चाहन्छौँ । राज्यले त्यहीअनुसार काम गरिरहेको छ ।”

राष्ट्रपति पौडेलले सहिदको बलिदानीका कारण नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले सहिदले देखाएको बाटो भुल्न नहुने बताए ।

नेपाली जनताको स्वतन्त्रता र प्रजातन्त्र स्थापनाका लागि सहिदको भूमिका अतुलनीय रहेको पौडेलको भनाइ थियो । उनले भने,“प्रजातन्त्र स्थापनाका लागि पुलिमराङको पनि महत्त्वपूर्ण भूमिका छ । विसं २००७ को क्रान्ति होस् या २०१८ सालको क्रान्तिमा यहाँका सहिदको बलिदानी महत्त्वपूर्ण रह्यो । पुलिमराङ सहिदको भूमि हो ।”

राष्ट्रपति पौडेलले पुलिमराङसम्म आउने बाटो छिट्टै कालोपत्र हुने बताए । सहिद पार्कमा भरत गुरूङ, शमशेरबहादुर गुरूङ, लालध्वज गुरूङ, धर्मध्वज गुरूङ, सर्वसिंह गुरूङ, हस्तवीर गुरूङको लहरै अर्धकदको प्रतिमा रहेका छन् । यी सबै सहिद पुलिमराङमा जन्मिएका थिए । जसले राणाशासन र निर्दलीय पञ्चायती व्यवस्थाविरूद्धको आन्दोलनमा ज्यान गुमाए । सहिदपार्क बनाउन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पहल गरेका थिए ।

वि।सं। २०५१ चैत २९ गते पुलिमराङ गाउँमा सौर्य परियोजना उद्घाटन गर्न आएका बेला कोइरालाको तदारूकतामा समिति बनेको थियो । वि।सं। २०६६ मा सहिद स्मारक बनाएर छ जना सहिदको अर्धकदको शालिक राखियो । ती शालिकको एक दशकपछि अनावरण गरिएको थियो ।

यसैबीच तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद स्मारक कोष समितिले सहिद पार्कको विकासका लागि सहयोग गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेको छ । समितिले यस क्षेत्रको समग्र विकासका लागि सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गरेको हो ।

वृहत गुरूयोजनाअनुसार सहिद पार्कको सर्वाङ्गीण विकासका लागि रू १५ करोड बजेट आवश्यक पर्ने देखिएकाले बजेट विनियोजनका लागि भूमिका खेलिदिन पौडेल समक्ष आग्रह गरिएको समितिका अध्यक्ष एकबहादुर गुरूङले जानकारी दिए ।

सहिद स्मारक पार्क, पुलिमराङको वर्तमान अवस्थाका बारेमा राष्ट्रपति जानकार रहेको भन्दै उनले यहाँको विकास निर्माणअन्तर्गत पक्की बाटो, बिजुली बत्तीको गुणस्तरीय व्यवस्थापन, पर्यटकीय सम्भावना, कृषि एवं आयआर्जनका विषयमा स्थानीयलाई देखिनेगरी विकास निर्माणमा सरकारसँग सहयोग उपलब्ध गराउन पौडेलको ध्यानाकर्षण गराइएको छ ।

प्रधानमन्त्रीबाट सहिद स्मारक र सहिद गेटमा पुष्पहार अर्पण

प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित सहिद स्मारक र सहिद गेट पुगी सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सहिद दिवसका अवसरमा आज उनले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सहिदको सम्मानमा उनीहरूको शालिकमा पुष्पहार अर्पण गरे ।

प्रजातन्त्र स्थापना एवं पुनः स्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर सहिद दिवस मनाइँदै छ ।

वि।सं २००७ पछि हरेक वर्षे माघ १६ गते विभिन्न कार्यक्रमसहित सहिद दिवस मनाउने गरिएको छ ।

सो क्रममा उपप्रधानमन्त्री, मन्त्रीगण, विभिन्न राजनीतिक दलका सांसद, नेपाल सरकारका मुख्यसचिव, सुरक्षा अङ्गका प्रमुख, काठमाडौँ महानगरपालिकाका उपप्रमुखलगायतले सहिदहरूप्रति श्रद्धाञ्जली प्रकट गरे ।

प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा सिंहदरबार परिसरमा आजै सहिद दिवस विशेष समारोह आयोजना गरिनेछ ।

सहिदको बलिदानीबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरूको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने बताएका छन् ।

राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा आज नेपाल सरकारद्वारा सिंहदरबार परिसरमा आज आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री ओलीले राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि सङ्घर्ष गरेर बलिदान दिएका महान् सहिदहरूले देशका लागि दिएको योगदान महत्वपूर्ण भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सहिदहरूकै बलिदान र प्रेरणाबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको र यस प्रणालीमा सम्पूर्ण शक्तिको स्रोत सार्वभौम जनता भएको उल्लेख गरे ।

उनले यस प्रणालीलाई सबल र दिगो बनाउन आफूहरू लागि परेको जनाउँदै वास्तविक र पूर्ण लोकतन्त्रका लागि जनताका प्रतिनिधिले त्यस भावनाका साथ काम गर्नुपर्नेमा जोड दिए ।

उनले राजनीतिक प्रणालीमा परिवर्तन भइसकेकाले अब तानाशाही शासन सत्ताको बचाउका लागि शान्तिपूर्ण आन्दोलनमा लागेकालाई हत्या गर्ने त्यस प्रकारको शृङ्खला अन्त्य भएको बताए ।

उनले अहिले लोकतान्त्रिक प्रणाली र प्रक्रियाको रक्षाका लागि न्यायोचित कानुनबमोजिम समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा वर्तमान सरकार स्पष्टरुपमा अघि बढिरहेको जनाए ।

‘हामीले लामो सङ्घर्षबाट लोकतन्त्रको स्थापना गरेका छौँ । लोकतन्त्र भनेको अराजकता होइन । यो विकसित, सभ्य र सुशासनयुक्त प्रणाली हो । यदि व्यवस्थामा वा शासकहरूमा कुनै परिवर्तन गर्नु छ भने लोकतान्त्रिक बाटा र विधिबाट गर्न सकिन्छ तर लोकतन्त्रका नाममा देशलाई विभाजित गर्ने र विकासलाई अवरोध सृजना गर्ने कार्य स्वीकार्य हुन सक्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘देशको रक्षा, विकास र सुशासनका लागि यो सरकार अगुवाइ गर्न तत्पर रहेको छ । हामी सहिदले देखाएको मार्गमा सधैँ अविचलित रहनेछौँ ।’

कार्यक्रममा प्रतिनिधिसभाका उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, प्रतिनिधिसभाका उपसभामुख, प्रधानमन्त्रीका मुख्य सल्लाहकार,सरकारका मुख्यसचिव, प्रधानसेनापति, सचिवहरू र विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

यसअघि प्रधानमन्त्री ओलीले लैनचौरस्थित सहिद स्मारक र सहिद गेटमा पुगेर सहिदप्रति सम्मान प्रकट गरेका थिए ।

नेपाल सरकार ९मन्त्रिपरिषद्० को मङ्गलबारको बैठकले यस दिवसलाई राष्ट्रियस्तरमा मनाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीसमक्ष स्वास्थ्य बीमा सुधार कार्य योजना प्रस्तुत

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्य योजना प्रस्तुत गरेका छन् ।

मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहको नेतृत्वमा तयार पारिएको कार्य योजनासहितको प्रतिवेदन स्वास्थ्यमन्त्री पौडेलले आज प्रधानमन्त्रीसमक्ष बुझाएका हुन् ।

कार्य योजनाका आधारमा मन्त्रिपरिषद् बैठकमार्फत स्वास्थ्य बीमामा सुधार सम्बन्धमा निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै पाँच लाख पुर्‍याउने गरी तयारी गरिरहेको बताउँदै आएका छन् ।

प्रधानमन्त्रीसमक्ष पेस भएको प्रतिवेदनमा पनि स्वास्थ्य बीमा रकम पाँच लाखसम्म पुर्‍याउन सकिने आधार समावेश छन् ।

मन्त्रिपरिषद्बाट निर्णय भएमा संसद्को आगामी अधिवेशनमार्फत स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाउने मन्त्रालयको तयारी छ ।

समाजवादी मोर्चाले काठमाडौंमा जनप्रदर्शन गर्ने

समाजवादी मोर्चाले चैत्र २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ ।

बुधवार नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको केन्द्रिय संयोजन समितिको दशौं बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले चैत्र पहिलो हप्ता मधेसमा जन प्रदर्शनसहितको कार्यक्रम गर्ने निर्णय भएको पनि नेकपाका नेता खड्गबहादुर विश्वकर्माले बताए । उनका अनुसार समाजवादी मोर्चाले फागुन अन्तिमसम्म समाजवादी मोर्चाको बारेमा जानकारी गराउने उद्देश्यले समाजवादी मोर्चा प्रकाशन गर्ने निर्णय भएको छ ।

त्यस्तै समाजवादी मोर्चामा मोहनविक्रम सिंहको पार्टी र अन्य पार्टीहरुलाई भित्र्याउन छलफल अघि बढाउने निर्णय भएको बताए। बैठकले वर्तमान सरकार गणतन्त्रबिरोधी रुपमा देखिएको निस्कर्ष निकालेको छ ।

बैठकले समाजवादी मोर्चालाई सुदृढ बनाउने, मधेस प्रदेशमा मोर्चामा सहभागी चार वटै राजनीतिक दलहरुलाई समाजवादी मोर्चा पुनःगठन गर्ने जिम्मा दिने र देशभर मोर्चा गठन गर्न बाँकी भएका ठाउँमा नेपाल समाजवादी पार्टीलाई संलग्न गरेर समाजवादी मोर्चा गठन गर्ने निर्णय भएको बताए । बैठकले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग सरकारले गरेको सहमति, डा। चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीसँग सरकारले गरेको सहमति र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्न दबाब दिने निर्णय भएको पनि बताए ।

उनले भने, ‘मंगलवार काठमाडौंमा गरेको कार्यक्रमको समीक्षा भएको छ । कार्यक्रम भव्य र शानदार भएको छ । त्यसले एउटा राम्रो सन्देश दिएको समीक्षाको निस्कर्ष छ । चार वटै पार्टीका साझा भावलाई महत्व दिनसके मात्रै प्रभावकारी बन्छ भन्ने हाम्रो निस्कर्ष छ । जिल्ला जिल्लामा समाजवादी मोर्चा गठन हुन बाँकी भए गठन गर्ने । गठन भइसकेका ठाउँका संरचनालाई सक्रिय बनाउने । नेपाल समाजवादी पार्टी सहितको देशभर बनेका प्रदेश र जिल्लाका संरचनामा यस पार्टीका सहभागितासहित पुनःगठन गर्ने । मधेस प्रदेशमा हेर्ने जिम्मा, समाजवादी मोर्चा गठन गर्ने जिम्मा चार वटै पार्टीले बाँडफाँड गरेर छिटो गर्ने । समाजवादी मोर्चालाई अझ सुदृढ गर्ने । राज्य सञ्चालकहरुको तरिका अलि बढी गणतन्त्रबिरोधी रुपमा देखिएको जस्तो छ । हामीसँग भएका सहमति कार्यान्वयन गर्न देशभरका समस्याका सम्बन्धमा जनप्रदर्शनसहितको बिरोध सभा गर्ने । त्यो चैत्र २४ गते हुनेछ । चैत्र पहिलो हप्ता मधेसमा जनसभा गर्ने । समाजवादी मोर्चा प्रकाशन गर्ने, फागुन अन्तिसम्ममा । सबै प्रदेशमा जन सभा कार्यक्रम गर्ने । समाजवादी मोर्चालाई फराकिलो बनाउने सन्दर्भमा मोहन विक्रमसँग कुरा गर्ने र साथै अन्य पार्टीहरुसँग कुरा गर्ने ।’

बैठकले मंगलवार मोर्चाले गरेको कार्यक्रमको समीक्षा गर्दै कार्यक्रम भव्य भएको निस्कर्ष निकालेको छ ।

रास्वपाले लामिछानेको सांसद पद निलम्बनको विरोध तथा अध्यादेश अस्वीकारको प्रस्ताव गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद अधिवेशनमा रवि लामिछानेलाई सम्पती शुद्धिकरणको मुद्दा लगाएर सांसद पदबाट निलम्वनको विरोध गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यस्तो बताएका हुन् ।

उनले सरकारले राजनीतिक प्रतिसोधका आधारमा प्रतिनिधि सभा नियमावलीको विपरित राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता रवि लामिछानेलाई सम्पती शुद्धिकरण समेतको मुद्दा हालेर सांसद पद निलम्बन गरेको ठहर गरेको भन्दै संसद बैठकमा विरोध गर्ने निर्णय गरेको बताए ।

उनले सभापति माथि साँधिएको राजनीतिक प्रतिशोध,सहकारी र अर्थतन्त्र,असन्तुलित परराष्ट्र नीति र सत्ता समिकरणको सात बुँदाको समेत विरोध गर्ने निर्णय गरेको बताए ।

उनले संसदको हिउँदे अधिवेशनमा जाँदा सरकारले सदनलाई छलेर अध्यादेश ल्याउने काम गरेको भन्दै अध्यादेशको अस्वीकारको प्रस्ताव गर्ने निर्णय गरेको बताए ।

उनले सरकारले ल्याएको नयाँ धितोपत्र बोर्डको अवधारणाको सैद्धान्तिक विमति नभएको तर नेप्सेलाई नै पुनसंरचना गर्नेमा व्यक्ति विशेष र स्वार्थ समूहका लागि नयाँ स्टक एक्सचेन्ज ल्याउने निर्णयको विरोध गर्ने निर्णय भएको उल्लेख गरे ।

उनले ताप्लेजुङको पाथीभरामा जुन केबलकार राख्ने विषयमा स्थानीय प्रशासन र स्थानीय बासीबीचको झडपको भ्रर्सना गर्दै राज्यबाट भएको ज्यादतीको विरोध गर्ने निर्णय भएको जानकारी दिए ।

उनले भने,‘मुख्य गरी दुई र विविधमा दुई वटा गरी चारवटा निर्णय गरेका छौं । संसदको हिउँदे अधिवेशनमा जाँदा सरकारले सदनलाई छलेर अध्यादेश ल्याउने काम गरेको छ । सदनमा विचाराधिन विधेयकलाई समेत गरी ६ वटा अध्यादेश पेश गरेको छ । ती अध्यादेशको अस्वीकारको प्रश्ताव गर्ने निर्णय गरेको छ । सरकारले राजनीतिक प्रतिसोधका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता रवि लामिछानेलाई सम्पती शुद्धिकरण समेतको मुद्दा हालेर सांसद पद निलम्वन गरेको छ । प्रतिनिधि सभा नियमावलीको विरुद्ध भएको ठहर गर्दै विरोध गर्ने निर्णय गरेको छ । सभापति माथि साँधिएको राजनीतिक प्रतिशोधको विरोध गर्ने,सहकारी र अर्थतन्त्र,असन्तुलित परराष्ट्र नीति र सत्ता समिकरणको सात बुँदा विरोध गर्ने निर्णय गरेको छ । सरकारले ल्याएको नयाँ धितोपत्र बोर्डको अवधारणाको सैदान्तिक विमति होइन । तर नेप्सेलाई नै पुनःसंरचना गर्नुपर्छ । क्षमता बढाउनुपर्नेमा व्यक्ति विशेष र स्वार्थ समूहका लागि नयाँ स्टक एक्सचेन्ज ल्याउने निर्णय गरेको छ । विरोध गर्ने निर्णय भएको छ । ताप्लेजुङको पाथीभरामा जुन केवलकार राख्ने विषयमा स्थानीय प्रशासन र स्थानीय बासीबीचको झडपको रास्वपाले भर्त्सना गर्ने निर्णय गर्दछ । राज्यबाट भएको ज्यादतीको विरोध गर्दछौं । न्याय दिन सरकारसँग आग्रह गर्दछौं ।’

संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको संयोजकत्वमा बैठक बसेको थियो । पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेलाई सहकारी ठगी तथा सम्पती शुद्धीकरणको मुद्दा लागेसँगै सांसद पदबाट निलम्वन भएका छन् ।

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने विधेयक स्वीकार्य छैन : महामन्त्री शर्मा

सत्ता सहकार्यको प्रमुख दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संघीय संसदमा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयक कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् ।

महामन्त्री शर्माले यसअघिको सरकारले उक्त विधेयक ल्याउँदा कांग्रेसले विरोध गरेको भन्दै आफू कांग्रेसको प्रवक्ता छँदा बोकेको दृष्टि महामन्त्री हुँदा नबदलिने प्रष्ट पारेका छन् ।

बुधबार सामाजिक सञ्जालमा महामन्त्री शर्माले भनेका छन्,‘प्रवक्ता छँदा बोकेको दृष्टि, महामन्त्री हुँदा बदलिन्न । प्रतिपक्षमा हुँदा उठाएको आवाज, सत्तामा हुँदा विलीन हुँदैन ।’

उक्त विधेयक निर्माण गर्दा सत्तारुढ दलको संयन्त्रसँग सल्लाह भएको भएपनि कांग्रेस पार्टीले नमान्ने महामन्त्री शर्माले बताए ।

‘ढुक्क रहोस् देश– दृष्टि बदलिन्नँ, विधेयक बदलिन्छ ।‘सामाजिक सञ्जाल मर्यादित बनाउन सत्ता–प्रतिपक्ष, अन्य दल, सरोकारवाला र नागरिकपंक्तिबिच गहन संवाद जरुरी छ । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने हदसम्म विधेयक ठाडै अस्वीकार्य हिजो जसरी थियो, आज पनि त्यसरी नै अस्वीकार्य छ’महामन्त्री शर्माले भने ।

अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने कानुन स्वीकार्य छैन : पत्रकार महासंघ

सरकारले संघीय संसद्‌मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा आपत्ति जनाएको हो ।

‘महासंघ लगायत सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता, संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधानहरू सच्याएर मात्र विधेयक अगाडि बढाउन महासंघ नेपाल सरकार र संघीय संसद्सँग आग्रह गर्दछ,’ महासंघका महासचिव रामप्रसाद दाहालद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने कुनै पनि कानुन स्वीकार्य नहुने समेत महासंघले बताएको छ ।

अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् ।

बुधबार सम्पन्न मतगणनामा सापकोटा निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई पराजित गर्दै ७१ मतको अग्रतासहित विजयी भएका हुन् ।

सापकोटाले ६८६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी राईले ६१५ मत पाए । सापकोटा र राईबिचको मतान्तर ७१ रहेको छ । तेस्रोमा उपदेश यादवले ३१० मत पाए भने सुदिन पौडेलले जम्मा १९२ मत प्राप्त गरे ।

सापकोटाको साथमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित उपमहासचिव शक्ति बस्नेत रहेका थिए भने राईको साथमा अर्का उपमहासचिव जनार्दन शर्मा रहेका थिए ।

माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा सकिएको मतगणनाबाट सापकोटा अध्यक्ष निर्वाचित भएका हुन्। उनले प्राप्त गरेको मत सार्वजनिक हुन बाँकी छ।

महासचिवमा रोशन थापा मगर विजयी भइसकेका छन् ।

फेरि बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

पुलिसलाई हराउँदै एपिएफले जित्यो एन्फा महिला लिगको उपाधि

नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाल एपिएफ क्लबले एन्फा महिला लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधवार भएको फाइनल खेलमा सविता राना मगरको २ गोलमा एपिएफले पुलिसलाई ४-० गोलअन्तरले पराजित गरेको हो ।

एपिएफको जितमा सवितासँगै सरु लिम्बू र अनु लामाले समान एक एक गोल गरे । खेलको ६४औँ मिनेटमा अनिता केसीले दिएको बलमा सविता राना मगरले गोल गरिन् । खेलको ६९औँ मिनेटमा एपिएफकी अर्की खेलाडी सरु लिम्बूले गोल गर्दै टिमको अग्रता दोब्बर बनाइन् ।

खेलको ८३औँ मिनेटमा प्रिति राईको पासमा सविताले अर्को गोल गरिन् । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा अनु लामाले गोल गर्दै टोलीलाई ४-० को जित दिलाइन् । उपाधिसँगै एपिएफले रु १० लाख तथा उपविजेता पुलिसले रु पाँच लाख प्राप्त गरेको छ ।

भारतमा महाकुम्भ मेलामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

भारतको उत्तर प्रदेशमा हिन्दूहरूको महाकुम्भ मेलामा बुधबार बिहान भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै अन्य ६० जना घाइते भएको प्रहरीले जनाएको छ ।

गङ्गा, यमुना र सरस्वती नामको तीन नदीको सङ्गममा पवित्र स्नान गर्न मौनी अमावस्याको पवित्र दिन करिब १० करोड मानिस भेला भएका थिए ।

मृतक ३० मध्ये २५ जनाको सनाखत भइसकेको र बाँकी शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । एक वरिष्ठ प्रहरी अधिकारीले स्थानीय समय अनुसार बिहान १ः०० देखि २ः०० बजेको बीचमा भागदौड भएको बताए ।

दक्षिण सुडानमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु

दक्षिण सुडानमा विमान दुर्घटना भएको छ । उक्त विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको प्रदेशका सूचना तथा सञ्चारमन्त्री गतवेच विपालले बुधबार जानकारी दिएको छ ।

राजधानी जुबाका लागि उडेको विमान करिब १०ः३० बजे युनिटी राज्यको तेल क्षेत्र नजिकै खसेको थियो । “विमान विमानस्थलबाट ५०० मिटर टाढा दुर्घटनाग्रस्त भयो । विमानमा २१ जना सवार थिए । अहिले त्यहाँ एक जना मात्र बाँचेका छन्,” गतवेच विपालले बताए ।

ग्रेटर पायोनियर अपरेटिङ कम्पनी ९जीपीओसी० ले चार्टर्ड गरेको र लाइट एयर सर्भिस एभिएसन कम्पनीले सञ्चालित उक्त विमान यस क्षेत्रमा नियमित उडानमा रहेको उनले बताए ।

उहाँले उक्त दुर्घटनाबाट राज्य सरकार गहिरो दुःखी भएको बताउँदै यसबारे छानबिन गरिने जानकारी दिए ।

सरकारी जागिर छोड्ने कर्मचारीलाई ट्रम्पले गरे प्याकेजको प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मङ्गलबार आठ महिनाको रोजगारी छोड्ने सङ्घीय कर्मचारीलाई बहिर्गमन प्याकेजको व्यवस्था गर्ने अवसर दिएको छ । कर्मचारीलाई पठाएको इमेलमा उक्त प्याकेजको घोषणा गरिएको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पका सल्लाहकार एलन मस्कले एक्समा ऐतिहासिक ‘विकल्प’ को रूपमा प्रशंसा गरेको यो प्रस्ताव सबै २० लाख सङ्घीय कर्मचारीलाई पठाइएको बुझिएको छ ।

जनवरी २० मा ट्रम्पले पदभार ग्रहण गरेयता सङ्घीय खर्चविरुद्ध यो अहिलेसम्मकै सबैभन्दा ठूलो कदम हो ।

प्रशासनका एक वरिष्ठ अधिकारीले एनबीसी न्यूजलाई बताएअनुसार यो प्याकेजबाट पाँचदेखि १० प्रतिशत संघीय कर्मचारीले राजीनामा दिने अधिकारीहरूले अपेक्षा गरेका छन् । यसबाट करिब एक खर्ब अमेरिकी डलर बचत हुने विश्वास उनीहरूको छ ।

एएफपीले कर्मचारीबाट प्राप्त गरेको जानकारी अनुसार इमेलमा कर्मचारीलाई राजीनामाका मङ्गलबारदेखि सुरु भएर फेब्रुअरी ६ सम्म लागु हुनेछ ।

ट्रम्पले कोभिड–१९ महामारीपछि धेरै वर्षसम्म घरबाट काम गर्ने सुविधा पछि सबै संघीय कामदारहरू पूर्णकालिक रूपमा कार्यालय फर्कन आदेश दिएसँगै यो कदम चालिएको हो ।

यो इमेल सन् २०२२ को अन्त्यमा मस्कले ट्वीटर ९हाल एक्स० को पूर्ण स्वामित्व आफ्नो नियन्त्रणमा लिएपछि कर्मचारीलाई पठाइएको यस्तै सन्देशसँग मिल्दोजुल्दो छ । राजीनामा दिन चाहने कर्मचारीसँग इमेलमार्फत् प्रतिक्रिया मागिएको छ ।

सम्झौता गर्न चाहने सङ्घीय कर्मचारीहरूलाई इमेलमा बाहिर नै देखिने गरी ‘राजीनामा’ शब्द लेखिएको जवाफ दिन भनिएको छ ।

ट्रम्प र अन्य रिपब्लिकनलाई चुनाव जिताउन २७ करोड अमेरिकी डलरभन्दा बढी खर्च गरेका मस्कलाई सरकारी कार्यदक्षता विभाग (डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी)को नेतृत्व गर्ने जिम्मेवारीमा नियुक्त गरिएको छ ।

इमेलमा भनिएको छ,“सङ्घीय श्रमशक्तिमा अमेरिकाको सबैभन्दा राम्रो जनशक्ति हुनुपर्छ । हामी हरेक तहमा उत्कृष्टताका लागि जोड दिनेछौं ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nine =