माधव नेपालप्रति युवराज ज्ञवालीको कटाक्ष- अन्तर्विरोध हुँदैमा पार्टी फुटाउने सङ्कीर्ण सोचबाट मुक्त होऔँ

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीभित्र अन्तर्विरोध हुँदैमा नयाँ पार्टी गठन गर्नेकुरा राम्रो नभएको बताएका छन् ।
शनिवार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै पार्टीमा अन्तर्विरोध हुँदैमा पार्टी फुटाउनैपर्ने सङ्कीर्ण सोचबाट मुक्त हुनुपर्ने बताए ।
उनले सबै कम्युनिष्ट पार्टीहरूले समाजवादलाई एजेन्डा बनाएर अघि बढेको भएपनि एक ठाउँमा उभिन नसकेको बताए । उनले मतभेद हुँदैमा पार्टी फुटाउने कुराको गहन विश्लेषण जरुरी रहेको बताए ।
उनले भने ‘सबै कम्युनिष्ट पार्टीहरूले आफ्नो लक्ष्य समाजवाद भन्नुभएको छ । सबैका डकुमेन्ट राखेर पढ्ने हो भने समानता धेरै पाइन्छ । तर जतिसुकै समानता भएपनि एक ठाउँ किन बस्न सक्दैनौँ । नेपालमा कम्युनिस्टहरू आपसमा मिल्न नसक्ने के रहेछ ? बुर्जुवाहरू त मिलिरहेका हुन्छन् । तुलनात्मक रूपले बुर्जुवा भन्दा कम्युनिष्ट पार्टी धेरै फुट्नुको कारण के हो ? यसको त कारण छ । हामीमा जडसूत्रवाद छ की, मनोवाद हाबी छ की ? सङ्कीर्णता हाबी छ की ? अलिअलि मतभेद त जहाँ पनि हुन्छ । मतभेद नभएको दुनियाँमा कहाँ हुन्छ ? परिवारमा पनि अन्तर्विरोध हुन्छ । अनि हामी अलिकति अन्तर्विरोध हुँदैमा छुट्टिनैपर्ने, अर्को पार्टी बनाउनैपर्ने यो किन भएको छ रु यसको अलि राम्रो अध्ययन, विश्लेषण गर्नुपर्छ ।’
उपाध्यक्ष ज्ञवालीले अन्तर्विरोध हुने बित्तिकै पार्टी फुट्नैपर्ने, फुटाउनैपर्ने र सँगै बस्नै नसक्ने सङ्कीर्णता तोडेर मिल्ने जति मिल्नुपर्ने बताए ।








