एमाले-काँग्रेस सरकार भत्काउन बाह्य शक्ति लागेको छ : सिपी मैनाली

काठमाडौँ । नेकपा मालेका महासचिव सिपी मैनालीले नेकपा एमाले र नेपाली काँग्रेसको सत्ता समीकरण भत्काउन बाह्य शक्ति लागेको बताएका छन् ।
शनिवार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा एमाले र नेपाली काँग्रेस मिलेको खण्डमा ०८४ सम्मै सरकार अघि बढ्ने भएपनि बाह्य शक्ति सरकार भत्काउन लागेको बताए ।
उनले अहिलेको सरकार भत्काउनका लागि बाह्य शक्तिलाई कतिपय देशभित्रका शक्तिहरूले पनि साथ दिइरहेको बताए । उनले बाह्य शक्ति, अन्तर्विरोध र दलाल पुँजीवाद, सामन्तवादी प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए ।
उनले भने ‘नेपाली काँग्रेस र नेकपा एमाले मिले भने त नट्टला तर बाह्य शक्ति यिनीहरूलाई मिल्न नदिने भनेर लागिरहेको छ । देशभित्रका कतिपयले पनि त्यो बाह्य शक्तिको कुरामा च्याख लगाइरहेका छन् । त्यसले गर्दा यति संख्याले बहुमत नै भएपनि सरकार ढल्न कुनै आइतबार लाग्दैन । किनभने बाह्य शक्ति अहिले हाबी छ । बाह्य शक्तिहरूसँगको हाम्रो अन्तर्विरोध र दलाल पुँजीवाद, सामन्तवादी प्रवृत्ति यो अहिलेको हाम्रो देशको विरोधी शक्ति हो ।’
महासचिव मैनालीले कम्युनिस्टहरू बसेर आफूले गरेका कमी, कमजोरीहरूबारे छलफल गर्न जरुरी रहेको बताए ।








