एकता नै राष्ट्र निर्माणको बलियो आधार हो : प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हल्लाका पछाडि नलाग्न आग्रह गरेका छन् ।
शुक्रवार बुटवल–गोरुसिङगे सडक खण्डको स्तरोन्नति कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै उहाँले यस्तो बताएका हुन् । उनले हल्लाका पछाडि नभई भविष्य उन्मुख भएर कामका पछाडि लाग्न आग्रह गरे । उनले लोकतान्त्रिक बाटोबाट नै विकास सम्भव रहेको बताए ।
उनले जातीयता, भौगिलकताका नाममा विदेवष फैल्याउने काममा नलाग्न आग्रह गरे । उनले विविधताहरूलाई राष्ट्रिय एकतामा परिणत गर्दै अघि बढ्न जरुरी रहेको बताए । एकता नै राष्ट्र निर्माणको बलियो आधार भएको बताए ।
प्रधानमन्त्री ओलीले भने ‘म सम्पूर्ण नेपाली जनतालाई भन्न चाहन्छु, हल्लाका पछाडि होइन, कामका पछाडि सुन्दर भविष्य उन्मुख भएर हामी अघि बढौँ । लोकतान्त्रिक बाटो, यस बाटोलाई हामीले अगाडि लिएर जानुपर्दछ । यहाँ अस्थिरता बढ्न दिने, प्रतिगमन हुन दिने होइन । यहाँ जातजाति, भूमि, भूमिका नाउँमा, भूगोल भूगोलका नाउँमा वा थर थरका नाउँमा, धर्म धर्मका नाउँमा अनेक प्रकारका विद्वेष फैल्याउन दिन होइन । हामी नेपालीहरू एकजुट भएर, एकताबद्ध भएर हाम्रा बिचका भिन्नताहरूलाई वा विविधताहरूलाई राष्ट्रिय एकतामा परिणत गर्दै हामी अगाडि बढ्नुपर्दछ । एकता नै राष्ट्र निर्माणको बलियो आधार हो । एकताबद्ध प्रयास नै मुख्य ग्यारेन्टी हो, हामीले देश निर्माण गर्नसक्छौँ भन्ने । हामी अघि बढिरहेका छौँ ।’
प्रधानमन्त्री ओलीले सम्पन्न भएका कामहरूप्रति खुसी प्रकट गर्दै छिटो भन्दा छिटो जनतालाई सेवा दिन पाइयोस् भन्ने सरकारको उद्देश्य रहेको बताए । सरकार स्थिरता, दृढ निश्चयका साथ विकास निर्माणका प्रयासमा अघि बढिरहेको बताए ।
