कांग्रेसले विपन्न नागरिकका पक्षमा काम गर्दै आएको छ : शशाङ्क कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले पार्टीले स्थापनाकालदेखि नै विपन्न नागरिकका पक्षमा काम गर्दै आएको बताएका छन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको १९ औँ स्थापना दिवस तथा रक्तदान कार्यक्रममा बिहीबार यहाँ आयोजित कार्यक्रममा नेता डा.कोइरालाले कांग्रेसले मुलुकका कम आय भएका नागरिक र किसानको हितमा स्थापनाकालदेखि नै काम गर्दै आएको उल्लेख गरे ।

कांग्रेस केन्द्रीय सदस्य एवं आप्रवासन विभाग प्रमुख प्रकाश रसाइली स्नेहीले वैदेशिक रोजगार व्यवसायलाई अनुशासित ढङ्गले अगाडि बढाउनुपर्ने बताए । उनले आगामी फागुनमा हुने लोकतान्त्रिक व्यवसायीको निर्वाचनमा लोकतान्त्रिक प्यानललाई जिताउन सबै लाग्नुपर्ने उल्लेख गरे ।

एशोसिएसनका संस्थापक अध्यक्ष तिलक रानाभाटले मुलुकमा वैदेशिक रोजगारीको विकल्प नभएको बताए । एशोसिएसनका अध्यक्ष दीपक थापाले वैदेशिक रोजगार व्यवसायलाई ठगी खाने पेसा नभएर पवित्र पेसा हो भन्ने समाजलाई बुझाउन जरुरी रहेको उल्लेख गरे ।

एशोसिएसनको स्थापना दिवसका अवसरमा गरिएको रक्तदान कार्यक्रममा एक सय १७ जनाले रक्तदान गरेका अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *