खबर दिनभर : राष्ट्रपतिले गरे संसद आह्वान,रवि भोलि अदालत हाजिर हुँदै,सन्दीपलाई गरियो कारबाही

राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिले माघ १८ गते दिउँसो १ बजे बस्नेगरी संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
यसअघि सोमबार मन्त्रिपरिषद्को बैठकले हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गर्दै उक्त सिफारिस राष्ट्रपतिलाई पठाएको थियो । नेपालको संविधानअनुसार संसद्को अधिवेशन अन्त्य र आह्वान गर्ने अधिकार राष्ट्रपतिलाई छ, तर यो कार्य सरकारको सिफारिसमा मात्र सम्भव हुन्छ ।
संसद्को वर्षे अधिवेशन गत भदौ ३१ गते नै समाप्त भएको थियो । त्यसपछि लामो समय संसद् नबसेको कारणले सरकारले आलोचना खेप्दै आएको थियो । यो अवधिमा सरकारले केही अध्यादेश पनि ल्याएको छ ।
राष्ट्रपतिसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ ।
आयोगका अध्यक्ष रामबहादुर थापामगरले राष्ट्रपति भवनमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसिबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको समय भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको स्पष्ट गरे ।
कार्यक्रममा हालै सरकारले ल्याएको अध्यादेशमा नेपालीले सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनी खोल्न नसक्ने र लगानी स्वदेश र विदेशमा आदानप्रदान हुने खालका सकजीकरणका व्यवस्थाले आफूहरूलाई उत्साहित तुल्याएको भन्दै प्रधानमन्त्री ओली र सरकारलाई धन्यवाद दिएका थिए ।
सरकार हाम्रो प्राथमिकता होइन : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रको प्राथमिकता सरकार नभएको स्पष्ट पारेका छन् ।
चितवनमा आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले माओवादी केन्द्रको प्राथमिकता जनता भएको बताए ।अध्यक्ष दाहालले भने ‘अहिले हाम्रो प्राथमिकता सरकार होइन । मैले धेरै चोटी भनेको छु, हाम्रो प्राथमिकता सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार हो, सरकार होइन ।’
आफूहरू सरकार परिवर्तनको खेलमा नभएको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार २०८४ सालको आम निर्वाचनसम्म गईदिए हुन्थ्यो भन्नेमा माओवादी केन्द्र रहेको बताए ।
माओवादी केन्द्र अहिले जनतासँगको सम्बन्ध विस्तार र पार्टी बलियो बनाउने कार्यमा लागेको उनले जानकारी दिए ।
रवि लामिछाने भैरहवामा, भोली अदालतमा हाजिर हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोली बुधवार रुपन्देही जिल्ला अदालतमा हाजिर हुने भएका छन् । जसका लागि सभापति लामिछाने भैरहवा पुगिसकेका छन् ।
बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि लामिछाने आज मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवा पुगेका हुन् ।
लामिछानेविरुद्ध बुटवलको सुप्रीम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक दर्ता भएको थियो ।
लामिछाने, छविलाल जोशी, जीवी राईसहित पूरक अभियोगका १४ र सुरु मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
एकले अर्कोलाई छेकेर देश चल्दैन : हर्क साम्पाङ
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्थानीय सरकारले केन्द्रको स्वामित्व नमान्ने, प्रदेशको स्वामित्व नमान्ने भन्ने नहुने बताएका छन् ।
मङ्गलवार प्रधानमन्त्री र मन्त्री भेट्न सिंहदरबार आएका साम्पाङले एकले अर्कोलाई छेकेर देश चल्न नसक्ने बताए ।
उनले पानीको दुःख सहरदेखि गाउँसम्मै रहेकाले यसको दीर्घकालीन समाधान हुनुपर्ने बताए । ‘केन्द्रको स्वामित्व नमान्ने, प्रदेशको स्वामित्व नमान्ने भन्ने हुँदैन । एकले अर्कोलाई छेकेर देश चल्दैन । गाउँ गाउँमा, सहर सहरमा खानेपानीको दुःख छ । हामीलाई तीन करोड लिटर दैनिक खपत हुन्छ । डिपिआर गर्न ५ अर्ब करिब मागेका छौँ’ उनले भने ।
प्रमुख साम्पाङले धरानमा पानी तीन करोड लिटर दैनिक खपत हुने बताए ।
लेखा समिति सभापति पोखरेलको पुनः राजीनामा माग
तीन दलका सांसदहरुले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभा अन्तर्गतको लेखा समिति बैठकमा बोल्दै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सभापति पोखरेलको राजीनामा मागेका हुन् ।
सांसदहरुले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्ने र सभापति माथि विभिन्न प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा जोड दिएका छन् ।
नेकपा ९माओवादी केन्द्र० का सांसद जनार्दन शर्माले सरकारका अनियमितताका विषयमा प्रश्न उठाउने सार्वजनिक लेखा समितिलाई सरकारले वन्धक बनाउन खोजेको आरोप लगाए ।
उनले सरकार पक्षले नै समिति सभापति राखेर वन्धक बनाउन नहुने बताए । उनले लेखा समितिको सभापति पद प्रतिपक्षले पाउने अन्तर्राष्ट्रिय अभ्यास र संसदीय व्यवस्थाको मान्यता दुवै भएको भन्दै त्यसलाई पालना गर्न आग्रह गरे ।
उनले सार्वजनिक लेखा समितिले सरकारको लाचार छायाँ बनेको बताए । उनले सभापतिको परम्परा के थियो हेर्ने र सच्याउनुपर्ने भन्दै लेखा समितिको नेतृत्व प्रतिपक्षका नहुँदा समितिजस्तो नहुने टिप्पणी गरे ।
उनले लेखा समिति प्रतिपक्षले पाउने हो सत्ता पक्षले राखेर बन्दी जस्तो बनाउन नहुने सांसद शर्माको भनाई थियो ।
नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले पनि समिति सभापतिले मार्ग प्रशस्त गर्नुपर्ने बताए । उनले परम्परा र विश्वव्यापी प्रचलनअनुसार लेखा समिति सभापति प्रतिपक्षलाई दिनुपर्ने बताए ।
उनले विगतदेखि यस्तो परम्परा तोडिँदै गएको बताए । उनले नेकपा ९माओवादी केन्द्र० र नेपाली काँग्रेसको नेतृत्वमा हुँदा पनि परम्परा तोडिएको बताए ।
लेखा समिति सभापति सत्ता पक्षले छाडेर प्रतिपक्षलाई दिने प्रचलन रहेको बताए । सांसद केसीले परम्परा तोडिँदै गएको भन्दै त्यसलाई सुधार गरी सच्याउनुपर्ने आवश्यकता रहेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरे । उनले विगतमा समेत सत्तारूढ दलका सांसदले लेखा समिति सभापति नछाडेको विषय उदाहरण नदिन पनि आग्रह गरे ।
उनले लेखा समिति प्रमुख प्रतिपक्ष दलको हुनुपर्ने बताए । उनले समिति सभापतिका विषयमा कुरा मात्रै हुने तर निरन्तरता एउटै मात्रै रहेको उल्लेख गरे ।
उनले समितिले प्रिमियममा आईपीओ निष्कासन गर्न नदिन निर्देशन दिएपनि अध्यादेशमा प्रिमियममा आईपीओ निष्काशन गर्ने दिने गरी आउनु जायज नभएको बताए ।
नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले लेखा समिति सरकारको लाचार छायाँ बनेको आरोप लगाए । उनले सार्वजनिक लेखा समिति सरकारको लाचार छायाँ जस्तो भएर सरकारले गरेका नराम्रा कामको ढाकछोप गर्ने काम गरिरहेको बताए ।
उनले लेखा समितिको नेतृत्व प्रतिपक्षिलाई नदिनुमा सरकारको कुकर्म ढाकछोप गर्ने बदनियत रहेको आरोप लगाए । उनले लेखा समिति नेतृत्व पनि प्रतिपक्षीको हुनुपर्ने भएपनि सत्ता पक्षले नै नेतृत्व राखि रहेको बताए ।
उनले सभापतिले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिए । उनले सभापतिले प्रतिपक्षीको नेतृत्व हुनका लागि मार्गप्रसस्त गर्नु आवश्यक रहेको उल्लेख गरे ।
नेकपा ९माओवादी केन्द्र०का अर्का सांसद अमनलाल मोदीले सभापतिको बारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा मार्ग प्रशस्त गर्न बारम्बार माग गर्दै आएको बताए ।
उनले विगतमा एक्लै आवाज उठाए पनि अहिले समितिमा धेरै सांसद र दलहरुको धारणा सभापतिले मार्ग प्रशस्त गर्नुपर्ने कुरा आउन थालेको बताए ।
उनले सार्वजनिक लेखा समिति सरकारको चेक इन ब्यालेन्सका लागि भएकाले प्रमुख प्रतिपक्षको हुनुपर्ने विश्वव्यापी मान्यता रहेको बताए ।
उनले विगतमा नेकपा एमाले प्रतिपक्षमा हुँदा समिति सभापति प्रतिपक्षलाई दिन माग गर्दै बैठक बहिस्कार गरेका समेत इतिहास रहेको बताए ।
उनले सार्वजनिक लेखा समिति सभापति प्रतिपक्षलाई दिनको लागि संविधान संशोधन आवश्यक नभएको बताए ।
नेप्से परिसूचकमा पाँच अङ्कको झिनो सुधार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज झिनो अङ्कको सुधार देखिएको छ । परिसूचक पाँच दशमलव ०८ अङ्कले बढेर दुई हजार छ सय १३ दशमलव ०८ को विन्दुमा कायम भएको हो ।
आज तीन सय ११ कम्पनीको एक करोड १६ लाख २६ हजार २० कित्ता शेयर ६९ हजार आठ सय ४० पटक खरिदबिक्री हुँदा छ अर्ब १९ करोड एक लाख ४१ हजार आठ सय ९१ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव ३५, वित्त एक दशमलव ०३, जलविद्युत् शून्य दशमलव ९२, म्युचुअल फन्ड शून्य दशमलव ४८ र व्यापार समूह दुई दशमलव १० प्रतिशतले घटेको छ । अरू सबै समूहको उपसूचक बढेको छ ।
विकास बैंक शून्य दशमलव १९, होटल तथा पर्यटन शून्य दशमलव ७८, लगानी शून्य दशमलव ७४, जीवन बीमा एक दशमलव १० र उत्पादन तथा प्रशोधन शून्य दशमलव ८९ प्रतिशतले बढेको छ । त्यसैगरी लघुवित्त शून्य दशमलव ०३, निर्जीवन बीमा एक दशमलव ७८ र अन्य समूह दुई दशमलव ७९ प्रतिशतले बढेको छ ।
मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने रिभर फल्स पावर लिमिटेडको शेयर मूल्य आठ दशमलव ९६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी होल्डिङ्स लिमिटेडको २३ करोड ७६ लाख ३५ हजार बराबरको शेयर खरिदबिक्री भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै प्रभु सेलेक्ट फन्डको चार लाख ७५ हजार नौ सय कित्ता शेयर किनबेच भएको छ ।
मंगलबार बढ्यो सुनको मूल्य
नेपाली बजारमा साताको तेस्रो कारोबार दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९मंगलबार० सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो ।
छापावाल सुन प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ७६ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
सन्दीप लामिछाने क्यानको कारबाहीमा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य लेगस्पीनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ ९क्यान० को कारबाहीमा परेका छन् ।
लामिछानेलाई अनुशासनको कारवाही गरिएको क्यानले जनाएको छ ।
गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेको विषयमा लामिछानेलाई कारवाही गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।
लामिछानेलाई क्यानले एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरण समेत सोधेको छ ।
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश,कोशी बाहिरियो
बागमती प्रदेश धनगढीमा जारी प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेका छन् । मंगलबार सम्पन्न दोस्रो खेलमा मधेस प्रदेशलाई ७ विकेटले हराएर समूह बी को उपविजेताको रूपमा बागमती सुपर ४ मा पुगेको हो ।
जितका लागि पाएको ४१ रनको लक्ष्य बागमतीले ६ दशमलव ४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । जसमा यसु पाण्डेले सर्वाधिक १९ रन जोडिन् । बलिङमा मधेसका लागि रोजी कडारीले २ विकेट झारिन् ।
यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको मधेस १५ दशमलव ५ ओभरमा ४० रनमा अलआउट भयो । मधेसका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बागमतीका लागि प्लेयर अफ द म्याचसमेत भएकी कप्तान कञ्चन श्रेष्ठले ४ विकेट हात पारिन् । यसअघि आजै भएको पहिलो खेलमा कोशी प्रदेशमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै त्रिभुवन आर्मी क्लब समूह विजेताको रूपमा सुपर ४ मा पुगिसकेको छ ।
समूह बी मा रहेको कोशी र मधेस भने प्रतियोगिताबाट बाहिरिसकेका छन् । उता समूह ए बाट एपिएफ विजेता र सुदूरपश्चिम उपविजेता भएर सुपर ४ मा सुरक्षित भइसकेका छन् । माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा माघ १२ गते सम्पन्न हुनेछ ।
प्रतियोगिताको उपाधि जित्नेले रू पाँच लाख, दोस्रो हुनेले रू तीन लाख, प्लेयर अफ द सिरिजलाई रू ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई रू २५/२५ हजार पुरस्कार दिइनेछ ।
इन्डोनेसियाको बाढी र पहिरोमा परी १६ जनाको मृत्यु, १० घाइते
इन्डोनेसियाको राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले मध्य जाभा प्रान्तमा अवस्थित पेकालोङ्गन रिजेन्सीमा आएको बाढी र पहिरोमा परी कम्तीमा १६ जनाको मृत्यु र १० जना अझै बेपत्ता रहेको बताएको छ ।
पेकालोङ्गनका फादिया अराफिकले भने,“धेरै उप–जिल्लाहरूले यस्तै घटनाहरू अनुभव गरे तापनि पेटुङ्क्रिओनो सबैभन्दा बढी प्रभावित भएको थियो ।”
“सोमबार रातीदेखि मङ्गलबार बिहानसम्म भारी वर्षाले पेटुङ्क्रिनो उप–जिल्लामा अचानक बाढी र पहिरो निम्त्यायो ।”
उद्धार कार्य जारी रहेको छ । अधिकारीहरूले मानिसहरूलाई सावधानी अपनाउन र नदीहरूबाट टाढा रहन आग्रह गरेका छन् ।
जलवायु सम्झौताबाट बाहिरिने ट्रम्पको निर्णय
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई पेरिस जलवायु सम्झौताबाट बाहिरिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
यससँगै संयुक्त राज्य अमेरिका दोस्रो पटक पेरिस जलवायु सम्झौताबाट बाहिरिएको छ ।
सोमवार राति अमेरिकी राष्ट्रपति ट्रम्पले पेरिस जलवायु सम्झौताबाट बाहिरिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।








