‘लगानीमैत्री वातावरण तयार गर्नेगरी अध्यादेश आएकाले लगानीमा सुधार हुने आशा जागेको छ’

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोईरालाले लगानीमैत्री वातावरण तयार गर्न सरकारले अध्यादेश ल्याएकाले लगानीमा सुधार हुने आशा रहेको बताएका छन् ।
मंगलवार बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कोईरालाले यस्तो बताएका हुन् । उनले अहिले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए । उनले बैङ्कहरूमा निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिको मात्रा बढिरहेको भन्दै हाल निष्क्रिय कर्जा ४.५ प्रतिशतसम्म पुगेको बताए । उनले निजी क्षेत्रको मनोबल कमजोर भएकाले लगानी नआएको भनिए पनि निराश हुने अवस्था नभएको बताए ।
उनले बैङ्कहरूबाट पछिल्लो समय लगानी नै नभएको भन्ने अवस्था नभएको भन्दै केही प्रतिशत वृद्धि भइरहेको बताए । उनले आगामी दिनमा लगानीको ग्रोथ वृद्धि भएर जाने अवस्था देखिएको बताए । उनले जलविद्युत र पर्यटन क्षेत्रमा लगानीको लागि वातावरण बन्दै गएको बताए ।
उनले भने ‘निजी क्षेत्रको मनोबल कमजोर भएकाले लगानी नआएको भन्ने भएको छ । तर लगानी नै नभएको भन्ने अवस्था छैन । केही प्रतिशत वृद्धि भइरहेको छ । आगामी दिनमा लगानीको ग्रोथ वृद्धि भएर जान्छ भन्ने देखिएको छ । केही क्षेत्रमा आशावादी हुने ठाउँ देखिको छ । जलविद्युतबाट लगानीको लागि राम्रो प्रस्तावहरू आएको छ । बैङ्कहरूले स्वीकृत गरेका पनि छन । तर कर्जा जान समय लाग्छ । करिब एक वर्षमा धेरै कर्जा वृद्धि हुन्छ । पर्यटन क्षेत्रमा पनि लगानीको वातावरण बनेको छ । अहिले सरकार पनि सक्रिय भएर लागेको छ । अध्यादेश मार्फत नयाँ ऐनहरू आउँदा लगानी मैत्री वातावरणको लागि हो भन्ने छ । त्यसबाट पनि बैङ्कहरू सुधार हुने आशामा छौं ।’
अध्यक्ष कोईरालाले बैङ्कहरूले कर्जा रिकभरीका क्रममा कर्मचारीहरूले भोग्नुपरेको हिंसा र आक्रमणको विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले बैंकका कर्मचारीहरूको सुरक्षाको ग्यारेन्टीका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गरे । कर्जा रिकभरीका क्रममा विभिन्न बाधाहरूको सामना गर्नुपरेको बताए । उनले कर्जा रिकभरीमा स्थानीय तहको सहयोगको अभावले बैङ्कहरूलाई धितो लिलाम गर्न र बेच्न समस्या भइरहेको बताए ।








