समाजवादी प्रेस संगठनका अध्यक्ष सुवेदी प्रेस चौतारीमा प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणी सुवेदी नेकपा एमाले निकट प्रेस चौतारीमा प्रवेश गरेका छन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुवेदी सहित उपाध्यक्ष नरेन्द्र साउँद, महासचिव रामकुमार एनललगायत दर्जनौं नेताहरुलाई प्रेस चौतारीमा स्वागत गरे ।
कार्यक्रममा बोल्दै उनले १५ वर्ष पार्टीको मूल नेतृत्व सम्हालेका माधव नेपालले एमालेलाई विभाजन गराउन प्रमुख भूमिका खेलेकै कारण एमालेले प्रवेशको ढोका बन्द गरेको बताए । महासचिव पोखरेलले समाजवादीका अन्य सबै नेता कार्यकर्तालाई स्वागत गर्न पार्टी तयार रहेको बताए ।
कार्यक्रममा एमाले स्थायी कमिटि सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय अध्यक्ष, महासचिवसहितका नेताहरुको ठूलो टोली प्रेस चौतारीमा समाहित भएपछि माधव नेपालले नेतृत्व गरेको एकिकृत समाजवादीको औचित्य समाप्त भएको दाबी गरे ।
उनले केन्द्रीय अध्यक्षले नै संगठन छोडेपछि अब देशभर समाजवादी प्रेस संगठनका नेता कार्यकर्ता प्रेस चौतारीमा प्रवेश गर्ने ढोका खुलेको बताए ।








