काठमाडौं जिल्ला अदालतको आदेशपछि रविको अबको प्रक्रिया के हुन्छ ?

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बुधवार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएपछि लामिछाननेविरुद्ध अदालतमा अभियोगपत्र दायर गरिएको थियो ।
यसअघि उनी पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए । सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका लामिछानेलाई बयानका लागि रुपन्देही,कास्की,काठमाडौं र चितवन पुर्याइसकिएको छ । रुपन्देहीको सुप्रिम सहकारी,पर्साको सानोपाइला र चितवनको सहारा चितवन सहकारीमा समेत लामिछाने मुछिएका छन् ।
कास्कीको सुर्यदर्शन र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिइसकेको छ ।
रवि लामिछाने मुद्धा चलेको ठाउँमा पुग्नुपर्ने नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता विश्व अधिकारीले मकालुखबरलाई बताए । अदालतको आदेश अनुसार प्रहरी अघि बढ्ने समेत प्रवक्ता अधिकारीले बताए ।








