काठमाडौं जिल्ला अदालतले भन्यो-छविलाल जोशी सम्पर्कमा छैनन्

काठमाडौं । गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक एवं पूर्व डीआइजी छविलाल जोशी जिल्ला अदालत काठमाडौंको सम्पर्कमा नरहेको खुलेको छ ।
पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका जोशीलाई ८८ लाख धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको थियो ।
लगत्तै रिहा भएका उनी विरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा समेत जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर भएको थियो । जिल्ला अदालत काठमाडौंका सुचना अधिकारी अमर बहादुर चन्दका अनुसार जोशी लगायतका अन्य प्रतिवादीहरु अदालतको सम्पर्कमा आएका छैनन् ।
सुचना अधिकारी चन्दले मकालुखबरसंग भने,‘रवि लामिछाने बाहेक अन्य प्रतिवादीहरु सम्पर्कमा हुनुहुन्न अहिले । जोशीलाई जिल्ला अदालत काठमाडौंमा हाजिर हुने गरी परिवारको जिम्मा लगाएर पठाएको जानकारी पाएका छौँ,प्रतिवादी लामिछानेको बहस सकिएपछि आउनुहुन्छ होला भन्ने हाम्रो अनुमान छ ।’
अहिले अदालतमा प्रतिवादी रवि लामिछानेको थुनछेक बहस भइरहेको छ । रवि लामिछानेको बहसमै रहेको बताउँदै उनले भने,‘यो सकिएपछि क्रमश आउनुहुन्छ होला ।’
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले गत पुस २५ मा रवि लामिछने,छविलाल जोशी सहित हिरासतमा रहेका सात जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।








