कृषिजन्य वस्तुहरूको भन्सार बढाउन सांसदहरूको जोड

काठमाडौँ । सांसदहरूले नेपालमा उत्पादन गर्नसक्ने सम्भावना भएका कृषिजन्य वस्तुहरूको भन्सार बढाउनुपर्ने बताएका छन् ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा भन्सार ऐनका विषयमा कृषकसँग भएको छलफलमा सांसदहरूले यस्तो बताएका हुन् । उनीहरुले नेपालमा उत्पादन हुने कृषिजन्य वस्तुहरू पनि भारतबाट आयात भइरहेकाले त्यो रोक्नको लागि भन्सार वृद्धि गर्न आवश्यक रहेको बताए । सांसदहरूले कृषिजन्य बस्तुको भन्सार वृद्धि गरी गैरभन्सारमार्फत नेपाल भित्रिन नदिनको लागि सुरक्षा व्यवस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
समिति बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले कृषिमा आत्मनिर्भर हुनको लागि मुलुकको उत्पादन क्षमता बढाउन आवश्यक रहेको बताए । उनले उत्पादन वृद्धि नभएसम्म लागत कम नहुने भन्दै आन्तरिक उत्पादन नेपाल प्रतिस्पर्धी नभएसम्म आन्तरिक उत्पादनमा सहुलियत र अनुदान दिनुपर्ने बताए ।
उनले सरकारले उत्पादन गर्नेलाई अनुदान दिनेगरी कृषि मन्त्रालयबाट कार्यविधि परिमार्जन गरिनुपर्नेमा जोड दिए । उनले कृषि उत्पादनमा लागत कम नभएसम्म अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकिने अवस्था रहेको बताए । उनले कृषि अनुदानमा भएको दुरुपयोग रोक्न सदुपयोग गरी लागत कम गर्न आवश्यक रहेको बताए ।
उनले भने ‘कृषिमा आत्मनिर्भर हुनको लागि मुलुकको उत्पादन क्षमता बढाउनुपर्छ । उत्पादन वृद्धि नभएसम्म लागत कम हुँदैन । आन्तरिक उत्पादन नेपाल प्रतिस्पर्धी नभएसम्म आन्तरिक उत्पादनमा सहुलियत र अनुदान दिनुपर्छ । सरकारले उत्पादन गर्नेलाई अनुदान दिने गरी कृषि मन्त्रालयबाट कार्यविधि परिमार्जन गर्नु भन्दा भएन । कृषिमा टेक्नोलोजी,भण्डारमा सुविधा दिनेछ । उत्पादन गर्छु भन्नेलाई राज्यले अनुदान दिँदा कागजमा मात्रै गर्छु भनेको हुन्छ । कृषि अनुदानमा दुरुपयोग भएको छ । त्यो सदुपयोग भयो भने लागतलाई कम गर्छ । कृषि उत्पादनमा लागत कम नभएसम्म अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्न सकिँदैन । भन्सार बढाउन आवश्यक छ । नेपालमा उत्पादन गर्ने सम्भावना भएका कृषिजन्य वस्तुहरू छन् । त्यसको भन्सार बढाउन आवश्यक छ । भन्सार बढाउँदा गैरभन्सारबाट छिर्ने त्यहाँ प्रशासनले आँखा चिम्लँदा समस्या हुन्छ । भन्सार बढाएर सुरक्षालाई बलियो बनाउनुपर्छ ।’
नेकपा एमालेकी सांसद जुलीकुमारी महतोले नेपाली कृषकहरूले भन्सारमा भोगेका पीडाहरूलाई भन्सार ऐनमा समावेश गर्न जरुरी रहेको बताए । उनले सरकारले कृषिलाई जोड दिएपनि विभिन्न कारणले चुहावट भएको बताए । अब बन्ने भन्सार ऐन कृषकको हितमा बनाउने प्रतिबद्धता जनाए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद छिरीङ डम्डुल लामाले पनि अर्थसमितिबाट भन्सार ऐन भन्दा किसान मार नीति नभएर किसान बचाउने नीति बन्नुपर्ने बताए । उनले वास्तविक किसानका सुझावहरूलाई समेत समेटेर मात्रै किसानको हितका लागि नीति बनाउनुपर्ने बताए ।
नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले पनि अर्थसमितिले नीतिगत डिपार्चरका निम्ति किसानमैत्री नीति बनाउनुपर्ने बताए । उनले समितिले कृषि क्षेत्रमा भन्सारमा पर्ने अप्ठ्यारा नीतिहरूलाई तत्काल समाधान गर्न आवश्यक रहेको बताए ।
समितिमा किसानले नेपालमा उत्पादन हुने कृषिजन्य उत्पादनलाई प्रोत्साहन दिनेगरी भन्सार नीति बनाउन सुझाव दिएका छन् । उनीहरुले कृषि उत्पादनको स्रोत र समय अवधि हेरेर मात्रै नेपाल प्रवेश गराउनुपर्ने सुझाव दिए ।








