स्वास्थ्य क्षेत्रमा भएको व्यापारीकरण हेर्न सरकारी अस्पतालहरूमा गए पुग्छ : सांसदहरू

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद श्रीकृष्ण अधिकारीले नेपालको स्वास्थ्य क्षेत्रमा बजारीकरण मौलाएको बताएका छन् ।
सोमवार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारी अस्पतालहरूमा व्यापारीकरण बढेको कारण नागरिकले सहज स्वास्थ्य सेवा प्राप्त गर्न नसकेको बताए । उनले सरकारी अस्पतालहरूका आपतकालिन केन्द्रहरूको अनुगमन गर्न समिति सभापति समक्ष माग राखे । उनले सरकारी अस्पतालका इमरजेन्सीहरूमा चिकित्सकको लापरबाहीका कारण गुणस्तरीय उपचार सेवा प्रवाह हुन नसकेको बताए ।
उनले भने ‘आजको चुनौती फेरि आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच पुर्याउने भन्ने देखेको छु । स्वास्थ्यको क्षेत्रमा अत्यन्तै बजारीकरण र व्यापारीकरण छ कि त्यो सरकार अस्पतालहरूमै देखिन्छ । अब हामीले एक पटक सरकारी अस्पतालहरूको आपत्कालीन केन्द्रहरूमा अनुगमन गर्नुपर्ने आवश्यकता मैले देखेको छु । त्यहाँ सेवा लिन जाने बिरामीहरूले पाएको दुःख अत्यन्त छ । न त्यहाँ गुणस्तर छ न त सहज उपचार हुन्छ । बिरामी एकदम सिकिस्त भएपछि इमरजेन्सीमा पुग्छ तर त्यहाँ त्यहाँ डाक्टर पनि हुँदैन, गुणस्तरीय उपचार पनि हुँदैन । त्यसकारण सरकारी अस्पतालका इमरजेन्सीहरूलाई सुधार गर्न अत्यन्त जरुरी छ’
सांसद अधिकारीले स्वास्थ्य सेवा समाजवादउन्मुख हुन नसकेको बताए । उनले संविधानले स्वास्थ्य सेवा नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरिएको उल्लेख गर्दै यसमा हाम्रो नीति के हो रु भन्दै प्रश्न गरे । उनले अझैपनि दुर्गम भेगमा आधारभूत स्वास्थ्य सेवा पुग्न नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
उनले भने ‘हाम्रो संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हक भनेर भनेको छ । हामीले त झन् हाम्रो संविधान समाजवादउन्मुख भनेका छौं । त्यो अनुसारको हाम्रो नीति के हुने त ? यसमा हामीले आधारभूत तहबाट हेर्दाखेरि चाहिँ थाइल्याण्ड र क्युवाले गरेको व्यवस्थापनमा हामीले अलिकति ध्यान दिनुपर्छ कि । हामीले ठूला ठूला कार्यक्रम त ल्याउने भयौँ तर कार्यान्वयनमा चाहिँ अहिले पनि दूरदराजमा पाँच, दश, पन्ध्र शैय्याको अस्पताल निर्माण हुन पाएको छैन ।’
नेकपा एमालेकी सांसद सुमित्रा बि.सीले सिंहदरबार वैद्यखानाको कर्मचारीहरू लामो समयदेखि करारमा काम गरिरहेकोले उल्लेख गर्दै स्थायी बनाउन माग गरिन् । वैद्यखानाका कर्मचारीहरूले जीवनको उर्वर समय त्यही खर्च गरेकोले स्वास्थ्य मन्त्रालयले यस विषयमा गम्भीर हुनुपर्ने बताइन् । उनले देशभित्रका सम्पूर्ण उद्योगहरू कच्चा पदार्थको अभावमा जर्जर भएको बताइन् । उनले उपलब्ध जडीबुटीको सदुपयोग गर्दै स्वदेशमै औषधि उत्पादन गर्नतर्फ ध्यान दिन जरुरी रहेको बताइन् ।
उनले भनिन् ‘सिंहदरबार वैद्यखानाको कर्मचारी कति वर्षदेखि अस्थायी, करार काम गरिरहनुभएको छ । उहाँहरूको सेवा अवधि अब के हुने ? सेवा त उहाँहरुले धेरै वर्ष गर्नुभयो । तर निस्केर जाँदादोरि सेवा त उहाँहरुले केही पनि पाउनुहुने भएनन् । उहाँले जीवनको उर्वर समय त्यही लगानी गर्नुभएको छ । यसको विषयमा स्वास्थ्य मन्त्रालयले ध्यान दिनुपर्ने देखिन्छ । अनि देशभित्रका उद्योगहरू कच्चा पदार्थको अभावमा जर्जर भएका छन् । जडीबुटीहरू बाहिर बिदेसिने गरेका छन् । अनि त्यहीबाट प्रशोधन गरेका औषधि ल्याइरहेका छौं । यसबारे सोच्नुपर्ने आवश्यकता छ ।’
बैठकमा अधिकांश सांसदहरूले स्वास्थ्य क्षेत्रमा रहेका बेथितिहरूको अन्त्य गर्न जरुरी रहेको धारणा राखे । बैठकमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरिएको छ ।








