संसद छलेर सरकारले ल्यायो ६ वटा अध्यादेश

काठमडाौं । सरकारले संसद छलेर विभिन्न ६ वटा अध्यादेशहरु ल्याएको छ । प्रतिपक्ष दलहरुले कानून निर्माणमा केन्द्रित रहने हिउँदे अर्थात् विधेयक अधिवेशन आह्वान गरिरहँदा सरकारले पुस महिनामै ६ वटा अध्यादेशहरु ल्याएको हो ।
गत पुष ९ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा ऐन संसोधन र एउटा ऐन खारेज गरी ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१’ ल्याएको थियो ।
अध्यादेशमार्फत सहकारी ऐन २०७४, नेपाल राष्ट्र बैंक ऐन २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ संशोधन गरिएको छ भने राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ खारेज गरिएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही पुस १४ गते अध्यादेश जारी गरेका हुन् । पुस ९ गते सरकारले सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
यस्तै गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले फेरी दोस्रो पटक पाँच वटा अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद् बैठकले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको आध्यादेश, २०८१ जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ ।
यस्तै निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश,आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१,आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,२०८१ एवं भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाइएको छ ।








