माओवादीका केन्द्रीय सल्लाहकार प्राडा शर्मा एमाले प्रवेश

काठमाडौं । विराटनगका पुराना वाम वुद्धिजीवि प्राध्यापक डा. मेदिनीप्रसाद शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार विराटनगरमा जारी नेकपा एमालेको पाचौं बैठकबाट शर्मा एमाले प्रवेश गरेका हुन् ।
विराटनगरस्थित पोष्टग्राजुयट क्याम्पसका प्राध्यापक डा. शर्मा इतिहास र साहित्यका अग्रज व्यक्तित्व हुन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार रहेका उनले माओवादी विघटनको संघारमा रहेको जनाउँदै जनताको लोकप्रिय पार्टी एमाले प्रवेश गरेको बताए । उनलाई नेकपा एमाले केन्द्रीय उपाध्यक्ष गुरु बराल, एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राई, पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीलगायतले एमालेमा स्वागत गरेका थिए ।
एमाले कोशी प्रदेश सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग उपप्रमुख भीमज्वाला राईकाअनुसार कोशी प्रदेशको पाचौँ बैठकले प्रत्येक पालिकाको वडा तहसम्म पार्टी नेता–कार्यकर्ता पुग्नेगरी तीन महिने जरा अभियान सञ्चालन गर्ने योजना पास गराएको छ । माघदेखि चैतसम्म सञ्चालन हुने अभियान परिचालन गर्नेगरी पार्टी कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले अभियान योजनाको प्रस्ताव गरेको र संगठनात्मक कामको प्रस्ताव पार्टी कोशी सचिव राजकुमार भण्डारीले प्रस्तुत गरिएको उनको भनाई छ ।
राईका अनुसार आइतबार अभियानको अवधारणा र परिभाषित कामका बारेमा विराटनगरमै अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको र उक्त अभिमुखीकरणमा प्रदेशमा रहेका केन्द्रीय नेताहरु, प्रदेश कमिटीका सम्पूर्ण, जिल्ला कमिटीका पदाधिकारीहरु र जनसंगठनका केन्द्रीय पदाधिकारीहरु सहभागी हुनेछन् ।








