खबर दिनभर : यी हुन् आजका प्रमुख समाचार
ओली नेतृत्वको अप्राकृतिक सरकार अब चल्दैन : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकार अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी रहेको आरोप लगाएका छन् ।
शुक्रवार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसंगको भेटपछि बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् । उनले अप्राकृतिक सरकार भएकाले अब चल्न नसक्ने बताए ।
उनले भने ‘,यो गठबन्धन अप्राकृतिक छ, अलोकतान्त्रिक छ, अपारदर्शी छ भन्नेकुरा मैले गम्भीर रूपले पाल्र्यामेण्टमा र बाहिर पनि भनेको सुन्नुभएको छ नै । अप्राकृतिक भएकाले अब यो चल्दैन ।’
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
शुक्रवार शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो । भेटवार्तामा उनीहरुबीच मुलुकको समसामयिक विषयमा छलफल भएको थियो । राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितल निवास पुगेका थिए ।
भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया,मुख्यसचिव एकनारायण अर्याल लगायत सहभागि थिए ।
डिजेल,पेट्रोलको प्रयोग घटाऔँ,विद्युतीय साधनको प्रयोग बढाऔँ : शेरबहादुर देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणमा नेपालले विश्वलाई सन्देश दिनुपर्नेमा जोड दिएका छन् ।
वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा पार्टी कार्यालय सानेपामा आज आयोजित वन, वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी कार्यपत्र प्रस्तुतिकरण कार्यक्रममा बोल्दै सभापति देउवाले डिजेल, पेट्रोलको प्रयोग घटाउनुपर्ने र विद्युतीय सवारीसाधन प्रयोगलाई बढाउनुपर्ने बताए ।
“जलवायु परिवर्तनको असरले नेपाल पीडित छ, यसको असर न्यूनीकरणका लागि नेपालले चाहेर मात्रै हुँदैन, नेपालले विश्वलाई सन्देश दिनेगरी गर्नसक्ने विषय धेरै छन्,” उनले भने ।
उनले काठमाडौँ उपत्यकामा मात्रै विद्युतीय सवारीसाधनको प्रयोग बढाउन सके जलवायु परिवर्तनका असर न्यूनीकरणमा ठूलो उपलब्धि हुने धारणा राखे । “समुन्द्री सतह बढेको छ, हिमाल नाङ्गो भइरहेको छ, त्यसैले नेपालले सबैभन्दा बढी ध्यान दिनुपर्ने विषय जलवायु परिवर्तन हो”, सभापति देउवाले भने । उनले देशमा ६० प्रतिशत जङ्गल बचाउन सकेमा मात्रै ठूलो मद्दत पुग्ने बताए ।
पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्यायले नेपालले अन्तर्राष्ट्रियस्तरमा जलवायु परिवर्तनको मुद्दाको नेतृत्व गर्नुपर्नेमा जोड दिए । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनको समस्या सृजना गर्नमा हाम्रो योगदान नगन्य भए पनि जलवायु सङ्कट समाधान गर्नमा, नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङले जलवायु परिवर्तनको विषयमा पार्टीभित्र नीति तय गरी कानुन निर्माणमा क्रियाशील रहने बताए । कार्यक्रममा जलवायु परिवर्तनको विषयमा अनुसन्धानरत विज्ञहरुले कार्यपत्र प्रस्तुतीकरण गरेका थिए ।
भूमिसम्बन्धी समस्या सरकार र आयोगले समाधान गर्नुपर्छ : सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा देखिएका भूमिसम्बन्धी समस्या समाधानका लागि सरकार र भूमि आयोगले यथासक्य चाँडो समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
झापाको अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रमा रहेको जग्गाको स्वामित्वसम्बन्धी समस्याका समाधानका लागि आज आयोजना गरेको सरोकारवाहरूसँगको अन्तरक्रियामा सभामुख घिमिरे भूमिसम्बन्धी समस्या समाधानमा देखिएको समस्या समाधान गर्न सरकार र आयोगले लाग्नुपर्नेमा जोड दिए ।
वि.सं.२०२०/२१ देखि भूमिसम्बन्धी समस्या भए हालसम्म समस्या समाधान नभएको बताउँदै उनले भने, “व्यवस्था परिवर्तन भए अवस्था उस्तै छ, तर समाधानका लागि निरन्तर लाग्नुपर्छ, इमान्दार र जिम्मेवार भएर सबै लाग्नुपर्छ । नीतिगत समस्या छ भने नयाँ ऐन बनाएर समस्या समाधान हुनुपर्छ ।”
भूमि आयोगले समस्या समाधान गर्नुपर्ने भए राजनीतिक अस्थिरताका आयोगले काम गर्न नसकेको बताउनुहुँदै उहाँले आयोगलाई अधिकार सम्पन्न बनाउन आवश्यक रहेको उल्लेख गरे । गिरीबन्धु टि–स्टेटको जग्गा विवाद सम्बन्धित अड्डाले तत्काल गर्नुपर्ने बताउँदै सभामुख घिमिरेले भने, “छिटो गर्नुपर्छ, सक्ने नसक्ने, प्रधानमन्त्रीले गर्ने कि मन्त्रिपरिसदले गर्ने जसले गरे पनि छिटो गर्नुपर्छ ।”
अर्जुनधारा नगरपालिका–१ स्थित साधुटारमा नेपाली सेनाको फाइरिङ अभ्यासस्थलको रूपमा प्रयोग भइरहेको नौ सय ३५ बिघा १० कठ्ठा १० धुर जग्गा तथा त्यस क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीको समस्याका बारेमा स्थानीयवासी मुक्तिनाथ न्यौपानेले पीडितको समस्या समाधान गरेर सरकारले नियमानुसार धनीपूर्जा दिनुपर्ने माग गरे ।
अर्जुनधारा–७ लगायत बिरिङ टाङटिङ लगायतका नदी उकास जग्गा, नम्बरी जग्गामा खोला बग्ने र खोला जनिएको क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीको समस्याका बारेमा जानकारी गराउँदै अर्का स्थानीयवासी अमृत लामिछानेले सो स्थानमा २०२१ सालदेखि खोला बगेको बताए । “२०१८ सालदेखि त्यहाँ मानव बसोबास छ”, उनले भने,“२०३६ सालमा आयोगले हाम्रो खोजी गर्दा खुसी भयौँ तर अहिलेसम्म केही भएन ।”
अर्जुनधारा–८ हात्तीकिल्लास्थित मोरङको केनिन कम्पनीको एक सय चार बिघामा बसोबास गर्ने स्थानीयको समस्याका बारेमा अर्जुनधारा–८ का टङ्क घिमिरेले २०४८/४९ सालमा कम्पनीको एक सय चार बिघा जग्गा सरकारले जफत गरेको बताउँदै सरकारले जफत गरेको जग्गा कसरी व्यक्तिको नाममा गयो भन्ने प्रश्न गरे । उनले सो जग्गा पटक–पटक किनबेच भएर करिब ६५ परिवारले भोगचलन गर्दै आएको सुनाए ।
अर्जुनधारा–११ स्थित नयाँ बसपार्कमा रहेको ५१ बिघा जग्गामा बसोबास गर्नेहरूको समस्याका बारेमा सुजन शिवाकोटीले यहाँ झण्डै ३० वर्षदेखि जग्गा किनेर मानिसले बसोबार गर्दै आएको बताउनुभयो । घर–जग्गा रोक्का हुँदा स्थानीयबासी पीडित भएकाले तत्काल समस्या समधान गर्न आग्रह गरे ।
मालपोत कार्यालय झापाका प्रमुख राजेशप्रसाद पोखरेलले १० वर्षसम्म भोगचलन गरेको जग्गाको धनीपूर्जा दिने व्यवस्था भए पनि वन ऐनले रोकेको बताए । समस्या समाधानका लागि आवश्यक नीतिगत निर्णय हुनुपर्ने बताउँदै उनले भने,“यहाँ सेवाग्राही मात्र होइन, कर्मचारी पीडित भएका छौँ, हामी आदेशअनुसार काम गर्ने हो, सेवाग्राहीले हामीले काम नगरेजस्तो गर्नुहुन्छ ।”
रवि लामिछाने आइतबार मात्रै अदालतमा उपस्थित हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने आइतबार मात्रै जिल्ला अदालत काठमाडौंमा उपस्थित हुने भएका छन् ।
रास्वपाका सह-कोषाध्यक्ष दीपक बोहराका अनुसार पार्टी सभापति लामिछाने आइतबार बिहान मात्रै जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनेछन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,रवि दाईका अनुसार उहाँ कास्कीमा आवश्यक कानुनी कार्यहरू सकेर काठमाडौँतर्फ जाने क्रममा हुनुहुन्छ।सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै ८स्३० मा नै काठमाडौँ जिल्ला अदालतमा हाजिर हुनुहुनेछ।’
लामिछाने हवाई मार्गबाटै काठमाडौं आउने तयारी भएपनि नेता कार्यकर्ताका कारण स्थलमार्गबाटै काठमाडौं आउन लागेको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
पोखरास्थित सुर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने बिहीबार साँझ मात्रै रिहा भएका थिए । गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका लामिछाने ८४ दिनपछि हिरासतमुक्त भएका हुन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उनी सहित सहकारी ठगीमा मुछिएका सात जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
लामिछाने काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनमा मुछिएका छन् । उनी विरुद्ध जिल्ला अदालत काठमाडौंमा समेत मुद्धा दायर भएपछि आइतबार आफैं अदालतमा उपस्थित हुनेछन् । लामिछाने आफैं अदालतमा उपस्थित हुने शर्तमा प्रहरीले उनलाई छाडेको थियो ।
आफ्नो कमाइबाट खुसी हुने रोजगारी नै अहिलेको प्रमुख राजनीतिक एजेण्डा : गगन थापा
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरूलाई आत्मसम्मान र खुशीकासाथ नेपालमै बस्नसक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य राजनीतिक एजेण्डा भएको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेपालको अहिलेको सबैभन्दा ठूलो राजनीतिक एजेण्डा नेपालमै खुसीका साथ बस्नसक्ने गरीकन कमाइ गर्ने वातावरणको सिर्जना गर्नु रहेको बताएका हुन् ।
उनले आफ्नो कमाइबाट खुसी हुने रोजगारी अहिलेको पहिलो राजनीतिक एजेण्डा रहेको उल्लेख गरे । उनले खुसीसहितको रोजगारीको विषय प्रधानमन्त्रीदेखि पार्टी सभापतिसम्म पुर्याउने बताए ।
उनले भने ‘नेपालको अहिलेको सबैभन्दा ठूलो पोल्टिकल एजेण्डा भनेको नेपालको नौजवानहरूले नेपालमै बस्नसक्ने गरीकन आफ्नो आत्मसम्मान रहने गरी, खुसी हुनेगरी कमाइ भएको रोजगारी आजको नेपालको सबैभन्दा ठूलो राजनीतिक एजेण्डा हो । म रोजगारीको यो छलफललाई म प्रधानमन्त्रीको कोठामा पुर्याउन चाहन्छु । मैले कोसिस गरिरहेको छु । मैले आज भनेको कुरा त्यसकै एउटा उदाहरण हो । म पार्टी सभापतिको कोठामा हुने बहसमा, छलफलमा यो कोठामा यो विषय पुर्याउन चाहन्छु । त्यहाँ राजनीतिको र यहाँ आएपछि रोजगारीको कुरा गर्ने होइन, त्यही कोठामा कुरा हुनुपर्छ । त्यो कोठामा कुरा हुनुपर्छ ।’
महामन्त्री थापाले नेपालमा पाएको रोजगारीले खुसीसाथ बस्नसक्छु भन्ने वातावरण बनाउनसके मात्रै युवाहरू नेपालमा बस्ने बताए ।
उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण गर्नुपर्छ : मन्त्री सिंह
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण गर्नुपर्ने बताएका छन् ।
शुक्रवार आयोजित नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँको चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले नेपालको उद्योग क्षेत्र जुन रूपमा सञ्चालन हुनुपर्ने हो त्यो नभएको बताए ।
उनले स्थापना भइसकेका उद्योगहरूलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन व्यवस्थापनलाई आधुनिकीकरण गरेर अघि बढ्नुपर्ने जिकिर गरे ।
उपप्रधानमन्त्री सिंहले नेपालमा युवाहरू बस्नै चाँहदैनन् भनेर भाष्य विकसित भएको बताउँदै त्यसलाई समाधान गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए । उनले अधिकारको कुरालाई ठूलो स्वरले उठाउने र जिम्मेवारीको कुरा आउँदा सबैपछि हट्ने प्रवृत्ति त्याग्नुपर्ने बताए ।
“अहिले नेपालमा युवाहरू कोही बस्नै चाँहदैनन् भन्ने भाष्य स्थापित गरिएको छ । भाष्य मात्रै बनाउनेहरूको त काम सकियो । त्यो समस्या समाधान गर्न सबैले जिम्मेवार भएर लाग्न पर्यो”, उनले भने ।
व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न उच्च अदालत पाटनको आदेश
उच्च अदालत पाटनले पशुपति धर्मशालाको विवादमा व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश गरेको छ ।
न्यायाधीशहरू खडानन्द तिवारी, सूर्यप्रसाद पराजुलीको इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकलाई उक्त व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न आज अन्तरिम आदेश गरेको हो ।
“यसमा माडवारी सेवा समिति नेपाल विरूद्व पशुपति क्षेत्र विकास कोषसमेत भएको ०८१–८०–०७४४ को रिट निवेदनमा यसै अदालतवाट निवेदकले पशुपति गौशाला धर्मशालामा गरिआएको काम कारवाही गर्नबाट निवेदकलाई नरोक्नु भनी मिति २०८१/०८/३० मा आदेश भएको र यस रिट निवेदनमा निवेदकहरूले माडबारी सेवा समितिसँग सम्झौता गरी भाडामा लिई व्यापार व्यवसाय गरी आएको भन्ने देखिँदा सुविधा सन्तुलनको हिसाबले प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म यी निवेदकलाई उक्त व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्नु, नगराउनु ।”
एसिएन ट्राभल्स एण्ड टुर्स प्रालिले काठमाडौँ महानगरपालिका विरूद्ध दायर गरेको रिट निवेदनमा उक्त आदेश गरेको हो । यसअघि अदालतले मारवाडी सेवा समितिलाई पशुपति गौशाला धर्मशाला सञ्चालनमा अवरोध नपुर्याउन अन्तरिम आदेश दिएको थियो ।
निर्माण व्यवसायीलाई २२ अर्बभन्दा बढी भुक्तानी
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षमा मात्रै निर्माण व्यवसायीलाई रू २२ अर्बभन्दा बढी अघिल्लो आर्थिक वर्षको दायित्व भुक्तानी भइसकेको बताएका छन् ।
नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री पौडेलले सिर्जित दायित्व भुक्तानी नरोकेको स्पष्ट पार्दै सरकारको सदासयतालाई कमजोरी नठान्नसमेत निर्माण व्यवसायीहरूलाई आग्रह गरे ।
“भुक्तानी योग्य रकमको भुक्तानी प्रक्रिया निरन्तर जारी रहन्छ । तर सरकार र निर्माण व्यवसायी दुवै कानुनअनुसार चल्नुपर्छ,” अर्थमन्त्री पौडेलले भने, “भुक्तानीको कुरा गरिरहँदा निर्माण व्यवसायीहरूले सरकारलाई बुझाउनुपर्ने आयकर र मूल्य अभिवृद्धि करको दायित्वलाई पनि भुल्नु हुँदैन ।”
अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले सङ्घीय सरकारको दायित्वअन्तर्गत निर्माण व्यवसायीहरूलाई कूल रू २८ अर्ब ८९ करोड भुक्तानी गर्नुपर्ने देखिएकोमा अब करिब रू छ अर्ब भुक्तानी हुन बाँकी रहेको र त्यसमा पनि प्रक्रियामा रहेकालाई प्राथमिकतामा राखेर भुक्तानी गरिने जानकारी दिए ।
नेपाल निर्माण उद्योग परिषद्का पदाधिकारीहरूले सरकारले हालसम्म बिल पेश गरी दाबी गरेको भुक्तानी रकमको ८० प्रतिशतभन्दा बढी भुक्तानी प्राप्त गरिसकेको बताउँदै करको बाँकी भुक्तानीका लागि पनि वातावरण बनाइदिन उपप्रधानमन्त्री एवं अर्थमन्त्रीलाई आग्रह गरेका थिए ।
उनीहरूले करको रकम किस्ता बन्दीमा भुक्तानी हुने व्यवस्था गरिदिन, निर्माण सामग्रीमा आयात छुट दिन, रूग्ण आयोजनामा पूँजी परिचालनको व्यवस्था मिलाइदिनलगायत अनुरोध गरेका थिए ।
चालु खाता बचतमा,पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रियो
मुलुकको चालु खाता बचतमा रहेको छ भने विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको विवरणअनुसार विप्रेषण आप्रवाहमा पनि उल्लेख्य सुधार भएको छ ।
समीक्षा अवधिमा चालु खाता रु एक खर्ब ४० अर्ब ७१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ४१ अर्ब तीन करोडले बचतमा रहेको थियो । यो अवधिमा खुद पुँजीगत ट्रान्सफर रु तीन अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु दुई अर्ब ८७ करोड थियो ।
यसैगरी, गत मङ्सिर मसान्तसम्ममा रु छ अर्ब तीन करोड प्रत्यक्ष वैदेशिक ९इक्विटीमात्र० लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी रु तीन अर्ब ९३ करोड रहेको थियो ।
चालु आवको पाँच महिनामा शोधनान्तर स्थिति रु दुई खर्ब २५ अर्ब ३४ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब १६ अर्ब पाँच करोडले बचतमा थियो ।
गत असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पाँच महिनामा ११ दशमलव चार प्रतिशतले वृद्धि भई २०८१ मङ्सिर मसान्तमा रु २२ खर्ब ७३ अर्ब २६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा समीक्षा अवधिमा नौ दशमलव सात प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड डलर पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रु २० खर्ब ३३ अर्ब २७ करोड पुगेको छभने राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति रु दुई खर्ब ४० अर्ब कायम भएको छ । गत मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव आठ प्रतिशत रहेको छ ।
समीक्षा अवधिको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७ दशमलव छ महिनाको वस्तु आयात र १४ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी विप्रेषण आप्रवाह चार दशमलव चार प्रतिशतले वृद्धि भई रु छ खर्ब ४० अर्ब ४३ करोड पुगेको छ ।
पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ९० हजार तीन सय ८४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३५ हजार चार सय २५ रहेको छ ।
महिला विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
मलेसियामा आयोजना हुने आइसिसी यु-१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ(क्यान)द्वारा शुक्रवार आयोजित एक कार्यक्रममा पूजा महतोको कप्तानीमा रहेको नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका पदाधिकारीलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् ।
युवा तथा खेलकुदमन्त्री चौधरीले नेपाली युवा टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताउँदै विद्यालयस्तरदेखि नै खेल क्षेत्रलाई अगाडि बढाउन आवश्यक रहेको विचार व्यक्त गरे ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० को आयोजनामा हुने उक्त प्रतियोगिता आगामी माघ ५ देखि २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालको यो पहिलो सहभागिता हो । विभिन्न १६ राष्ट्र सहभागी विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ ।
नेपालको समूहमा बङ्गलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड छन् । नेपालले समूह चरणको पहिलो खेल आगामी माघ ५ गते बङ्गलादेशसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ भने माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।
विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् । त्यस्तै समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् भने समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया रहेका छन् ।
नेपाली युवा टोलीमा कप्तान महतोेसँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, रचना चौधरी, अनु कडायत, तृषना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी र ज्योत्सिका मरासिनी रहेका छन् ।
नेपाली टोलीका प्रशिक्षक महेशप्रसाद रिजालले नेपाली टोलीको प्रशिक्षण राम्रो भएको बताउँदै प्रतियोगितामा शतप्रतिशत नतिजा ल्याउने योजना रहेको उल्लेख गरे ।
नेपाली टोलीकी कप्तान महतोले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गर्दै विश्वकपमा नयाँ इतिहास रच्ने योजना रहेको बताए । नेपाली टोली शनिबार मलेसिया प्रस्थान गर्नेछ ।