श्रमदाताहरूले श्रमिकलाई अन्धाधुन्ध जगेडामा राख्ने काम गरे : अध्यक्ष कुँवर

काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष योगेन्द्रकुमार कुँवरले श्रम बजारसम्बन्धी जुम्ल्याहा कानुन ल्याउँदा श्रमदाताहरूले श्रम लचकताको गलत फाइदा उठाएको बताएका छन् ।

मंगलवार काठमाडौंमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को छैटौँ श्रम संसदको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले जति बढी सामाजिक सुरक्षा त्यति नै श्रममा लचकता भन्दै जुम्ल्याहा कानुन ल्याउँदा श्रम बजार समस्याग्रस्त भएको बताएका हुन् । उनले श्रमदाताहरूले श्रम लचकताको गलत फाइदा उठाएर श्रमिकहरूलाई अन्धाधुन्ध जगेडामा राख्ने काम गरिरहेको टिप्पणी गरेका हुन् ।

उनले संविधान बमोजिम श्रम बजारको लागि नीतिगत र कानुनी संरचनाहरू तयार भए पनि आम श्रमिकले त्यसको अनुभूति गर्न नपाएको बताए । उनले श्रम बजार अझै कमजोर, अव्यवस्थित, असुरक्षित र अमर्यादित तथा अनौपचारिकरण हुँदै गइरहेको महसुस हुन थालेको बताए । उनले श्रम बजारलाई औपचारिकरण गर्न श्रम ऐन परिमार्जन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन निर्माण गरी कार्यान्वयनमा ल्याउन माग गरे ।

उनले भने ‘श्रम तथा रोजगारलाई व्यवस्थित गर्न श्रमको सम्मान राष्ट्रको अभियान सम्बन्धी रणनीति, राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति, राष्ट्रिय रोजगार नीति र वैदेशिक रोजगार नीति कार्यान्वयनको चरणमा रहेका छन् । श्रम ऐन, २०७४ लगायतका ऐन र हकहरू कार्यान्वयनमा रहेका छन् । यसका अलवा हामीसँग विभिन्न नियमावली तथा मापदण्डहरू लागू भएका छन् । उल्लेखित श्रम नीति, ऐन तथा कानुन र मापदण्डहरू योजनाबद्ध कार्यान्वयन गर्न बालश्रम निवारण, व्यवसाय र मानव अधिकार प्रवर्धन र व्यवसायजन्य सुरक्षाको सुदृढीकरणका लागि विभिन्न रणनीतिक योजनाहरू क्रियाशील छन् । श्रम तथा पुँजी बजारलाई औपचारिकरण गर्न औपचारिकरण रणनीतिको तयारी भइरहेको छ । कानुनले द्विपक्षीय, त्रिपक्षीय संयन्त्रको व्यवस्था गरेको छ । यद्धपी नीति, कानुन, योजना र संरचनाहरूलाई दृष्टिगत गर्दा श्रम रोजगारी र सामाजिक सुरक्षाको क्षेत्रमा हामीले धेरै नै उपलब्धि हासिल गरेका छौं । संविधान बमोजिम नीतिगत र कानुनी संरचनाहरू तयार भएका छन् । तर यसको अनुभूति आम श्रमिकले गर्न पाइरहेका छैनन् । श्रम बजार अझै कमजोर, अव्यवस्थित असुरक्षित र अमर्यादित तथा अनौपचारिक हुँदै गइरहेको हामीले महसुस गरेका छौं । श्रम बजारलाई ओपचारिकरण गर्ने क्रममा श्रम ऐन परिमार्जन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन निर्माण गरी कार्यान्वयनमा ल्याऊँ । जति नै बढी सामाजिक सुरक्षा त्यति नै श्रममा लचकता भन्दै जुम्ल्याहा कानुन ल्यायौँ । अधिकांश रोजगार दाताहरूले श्रम लचकताको गलत फाइदा उठाएर श्रमिकहरूलाई अन्धाधुन्ध जगेडामा राख्ने, सरुवा गर्ने, निष्कासन गर्ने र नियमित रोजगारीलाई आउट सोर्सिङ गर्ने काम गरिरहनुभएको छ ।’

उनले बालश्रम निवारण, व्यवसाय र मानव अधिकार प्रवर्द्धन र व्यवसायजन्य सुरक्षाको सुदृढीकरणका लागि विभिन्न रणनीतिक योजनहरू क्रियाशील भए पनि त्यसको प्रभाव श्रम बजारमा पर्न नसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =