संविधान संशोधनका लागि सुझाव पेस गर्न नेकपा एसद्वारा कार्यदल गठन

एकीकृत समाजवादीको सचिवालय समिति २४ सदस्यीय रहने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधनका लागि सुझाव पेस गर्न कार्यदल बनाएको छ ।

पार्टी स्थायी कमिटीको बैठकले संविधान संशोधनको लागि आवश्यक सुझावसहितको प्रतिवेदन पेस गर्न पार्टी उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

उनका अनुसार कार्यदलमा अन्य सदस्यहरूमा गरिमा शर्मा, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहेका छन् । उनले बैठकले केन्द्रीय सचिवालय समिति समेत गठन गरेको बताए । केन्द्रीय सचिवालयमा केन्द्रीय कमिटीका अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेताहरू, उपाध्यक्षहरू, महासचिव,उपमहासचिव र सचिवसहित २४ सदस्यीय समिति रहने उनले बताए ।

त्यस्तै बैठकले अगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने र त्यसको तयारीको लागि जनताको बिचमा जाने समेत निर्णय गरेको छ । प्रवक्ता खतिवडाकाअनुसार जनजीविका, सुशासन र भ्रष्टाचारको सम्बन्धमा जनताको चेतना वृद्धि गर्नको लागि जनसङ्घर्ष अथवा आन्दोलनको माध्यमबाट पार्टीको सुदृढीकरण र निर्माण गर्नको लागि आन्दोलन र जनसङ्घर्ष गर्ने निर्णय गरिएको छ । जनसङ्घर्षका कार्यक्रमहरू केही दिनमा सार्वजनिक गरिन उनले बताए ।

पार्टीलाई जनतासँग जोड्नको लागि स्थानीय तहदेखि केन्द्रीय तहसम्म जनसङ्घर्ष गर्ने निर्णय भएको उनले बताए ।

बैठकका निर्णय सुनाउँदै प्रवक्ता खतिवडाले भने ‘नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधन आजको आवश्यकता, उपाध्येयता र संशोधन गर्नको लागि सुझाव कार्यदल गठन गरेको छ । पार्टी उपाध्यक्ष प्रकाश ज्वाला यस कार्यदलको संयोजक तोकिनुभएको छ । अरु छ जना सदस्यहरू पनि त्यसमा रहनुभएको छ । सदस्यहरूमा प्रकाश ज्वाला, गरिमा शर्मा, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहनुभएको छ । पार्टीको स्थायी कमिटी र पोलिटब्युरोमा रहेका सदस्यहरू यसमा समावेश हुनुहुन्छ । हाम्रो पार्टी अगामी दिनमा हुने निर्वाचनहरूमा एकल उम्मेदवारी दिनको लागि सम्पूर्ण तयारीका साथ जनताको बिचमा जानेछ । कलम चुनाव चिन्हका उम्मेदवारहरूलाई देशका प्रत्येक निर्वाचन क्षेत्रमा उठाउने गरी तयारी गर्ने निर्णय गरेका छौं । हाम्रो पार्टीले आजको दिनमा कुनैपनि कम्युनिष्ट पार्टीहरूसँग एकता गर्न सम्भव नरहेको निष्कर्ष निकाल्दै बामपन्थीहरुसँग सहकार्य गरेर विभिन्न एजेन्डाहरूमा काम गर्न सकिने तर एकताको सम्भावना नरहेकोले त्यतातिर ध्यान केन्द्रित नगरेको र पार्टी सुदृढीकरणका लागि मात्रै आफ्नो योजना बनाउने निर्णय गरेको छ । केही नेताहरू पार्टीमा आउनको लागि संवाद चलिरहेको छ । आजको हाम्रो बैठकले उहाँहरूसँग संवाद गर्ने निर्णय गरेका छौं । त्यसैगरी पार्टीलाई जनतासँग जोड्नका लागि जनताका दैनिक समस्याहरूलाई उहाँहरूको जनजीविका, सुशासन र भ्रष्टाचारको सम्बन्धमा जनताको चेतना वृद्धि गर्नको लागि जनसङ्घर्ष अथवा आन्दोलनको माध्यमबाट पार्टीको सुदृढीकरण र निर्माण गर्न सकिन्छ सम्झेर अबको केही महिना जनसङ्घर्ष सञ्चालन गर्ने र जनताको आवाज उठाएर आन्दोलन गर्ने र स्थानीय तहदेखि केन्द्रसम्म हाम्रा आवाज बुलन्द गर्ने कार्यक्रम बनाएका छौं केही दिनभित्र ती कार्यक्रमहरू सार्वजनिक गरिनेछन् । कार्यविभाजनको सन्दर्भमा आज प्रस्ताव गरिसकेपश्चात् आएका सुझावहरूलाई समेत समावेश गरी दुई दिन पछाडि सार्वजनिक गर्नेछौँ । पार्टीको केन्द्रीय सचिवालय समिति गठन गरिएको छ । केन्द्रीय सचिवालयमा केन्द्रीय कमिटीका अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेताहरू, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव र सचिवसहित २४ सदस्यीय समिति गठन गरिएको छ । केन्द्रीय कार्यालय समेत गठन गरिएको छ । कार्यविभाजनको सन्दर्भमा आज प्रस्ताव गरिसकेपश्चात् आएका सुझावहरूलाई समेत समावेश गरी दुई दिन पछाडि सार्वजनिक गर्नेछौँ । ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twenty =