व्यवस्था मात्र होइन, अवस्था पनि परिवर्तन भयो : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थासँगै नागरिकको अवस्था पनि परिवर्तन भएको बताएका छन् ।
आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले व्यवस्था मात्र होइन देश र जनताको अवस्था पनि परिवर्तन भएको बताए ।
उनले व्यवस्था बद्लिएपनि नागरिकको अवस्था बद्लिएन भन्ने गरेको भन्दै नागरिकको अवस्थामा समेत बिस्तारै सुधार भइरहेको बताए ।
प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले तीन वर्षको अवधीमा नौ लाख नागरिकलाई गरिबीको रेखामुनिबाट मथि उठाएको दाबी गरे । विकासको क्रमसँगै केही नकारात्मक प्रवृत्तिहरु देखिएपनि आम रुपमा देशको अवस्था र जनताको अवस्था पहिलाको जस्तो नभएको समेत उनले बताए ।
उनले पूर्वपश्चिम राजमार्गहरु निर्माण, उद्योगहरुको स्थापना र स्थास्थ्यको क्षेत्रमा समेत उल्लेखनीय कामहरु भएको उनको भनाइ छ । ‘कतिपय मान्छेहरुले भन्ने गरेका छन् व्यवस्था बद्लियो अवस्था बद्लिएन भने । तर व्यवस्था पनि बद्लियो अवस्थामा पनि बद्लियो । हिजो ४० प्रतिशत जनता निरपेक्ष गरिबिको रेखामुनी जनता थिए । मैले प्रधानमन्त्रीबाट छोड्दा १७ प्रतिशतमा झारिएको थियो । नौ लाख मानिसलाई निरपेक्ष गरिबिको मुनिबाट माथि उठाइएको थियो । तीन वर्षमा यो संख्या बढेर अहिले २० प्रतिशतमा पुगेको छ । त्यस्ता केही नकारात्मक प्रवृत्तिहरु देखिएपनि आम रुपमा देशको अवस्था र जनताको अवस्था हिजोको जस्तो छैन ।’
उनले मुलुकमा सुशासन कायम गर्ने सवालमा सरकारले भ्रष्टचरीहरुको मुख नहेरी अपराधका आधारमा कारबाही गर्ने बताए ।








