परराष्ट्रमन्त्री डा.देउवा र लक्जमबर्गका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र लक्जमबर्गका उपप्रधानमन्त्री, विदेश एवं वैदेशिक व्यापारमन्त्री जेभियर बेटेलबीच मङ्गलबार लक्जमबर्गमा भेटवार्ता भएको छ । बेटेल सन् २०१३ देखि २०२३ सम्म लक्जमबर्गको प्रधानमन्त्री पनि थिए ।

लक्जमबर्ग सिटीस्थित उनको कार्याकक्षमा भएको भेटवार्ताका क्रममा नेपाल लक्जमबर्ग सम्बन्धका विविध पक्षका साथै आपसी हित, साझा चासो र सहकार्यका बारेमा कुराकानी भएको थियो ।

त्यस अवसरमा उनीहरूले नेपालको विकास प्राथमिकता तथा नेपाल र लक्जमबर्गबीचको आर्थिक सहकार्यका बारेमा विचार आदानप्रदान गरिएको थियो ।

साथै सो वार्ताका क्रममा विश्वव्यापी तापमानमा भइरहेको बृद्धि र यसका कारण परेको जलवायु परिवर्तनको असरका बारेमा पनि कुराकानी भएको थियो ।

नेपाल जलवायु परिवर्तनको असरको चपेटामा परेको र यसका कारण नेपालले अकल्पनीय क्षति व्यहोर्नु परिरहेकाले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपिल गरिएको पनि मन्त्री डा देउवाले सो भेटका क्रममा जानकारी गराएका थिए ।

उनीहरूले द्विपक्षीय हितका विभिन्न विषयमा विस्तृत छलफल गर्नुभएको थियो । त्यस अवसरमा मन्त्री डा देउवाले लक्जमबर्गलाई नेपालको विकास सहायतामा प्राथमिकतामा राख्न मन्त्री बेटेललाई अनुरोध पनि गरेका थिए ।

मन्त्री डा.देउवाले नेपाल सन् २०२६ मा एलडिसीबाट ग्राजुएट हुन लागेकाले त्यसपछिको अवस्थामा नेपाललाई आर्थिक, प्राविधिकलगायत क्षेत्रमा आवश्यक सहयोगका लागि पनि मन्त्री बेटेललाई आग्रह गरेका थिए ।

नेपाल अतिकम विकसित देशको श्रेणीबाट मध्यमस्तरको राष्ट्रका रूपमा स्तरोन्नति हुन लागेकाले यसलाई दीर्घकालीन र सहज बनाउने रणनीतिमा युरोपियन युनियन लगायत नेपालका दाता राष्ट्र एवं संस्थाहरूको सहयोगको अपेक्षा नेपालले गरिरहेको र त्यसमा लक्जमबर्गको पनि सहयोग र समर्थनको अपेक्षा गरिएको मन्त्री डा.देउवाले बताएका थिए ।

सो भेटवार्ताका क्रममा मन्त्री डा.देउवाले नेपाल आन्तरिक रूपमा शान्ति प्रक्रिया टुङ्ग्याउने अन्तिम चरणमा पुगेको जानकारी पनि गराए । साथै उनले नेपालले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद् र मानवअधिकार आयोगको सदस्यमा उम्मेदवारी दिन लागेकाले त्यसका लागि सहयोग गर्न लक्जमबर्गलाई आग्रह गरिएको थियो ।

नेपाल र लक्जमबर्गबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 14 =