माटोको उत्पादकत्व कमी भएको छ, वैज्ञानिक विधिबाट संरक्षण गरौँ : कृषिसचिव शर्मा

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले वैज्ञानिक विधिबाट माटोको संरक्षण गर्नुपर्ने बताएका छन् ।
बिहीबार कृषि विभागले माटो दिवसको अवसरमा ललितपुरमा गरेको कार्यक्रममा बोल्दै कृषिसचिव शर्माले यस्तो बताएका हुन् । उनले पछिल्लो समय प्राकृतिक माटोमा विभिन्न खालका दोहन र रासायनिक मलको कारण खाद्य तत्त्वहरूको कमी भइरहेको बताए ।
उनले एक वर्षमा नेपालको माटो १.६ मिलिमिटर बगेर गएको विभिन्न तथ्याङ्कले देखाएको बताए । उनले माटोको दैनिक रूपमा खाद्य तत्त्व (स्वायल फर्टीलिटी) र उत्पादकत्व कमी भएको बताए । उनले माटोमा खाद्य तत्त्व र उत्पादन क्षमता बढाउनको लागि वैज्ञानिक व्यवस्थापन गर्न जरुरी रहेको उल्लेख गरे । उनले नेपालको पहाड र तराईको माटोको छुट्टा—छुट्टै वर्गीकरण गर्न आवश्यक रहेको भन्दै तराई र पहाडको माटोको नतिजालाई छुटै किसिमले विश्लेषण गर्नुपर्नेमा जोड दिए ।
उनले अहिलेसम्म तराई र सहरी क्षेत्रको माटो भन्दा पहाडको माटो कृषि उत्पादनको लागि ठिक रहेको बताए । उनले पहाडमा गाईबस्तु पालेर अर्ग्यानिक मलहरूको प्रयोग हुने गरेकाले माटो ठिक रहेको बताए ।
उनले भने ‘एक वर्षमा नेपालको माटो १.६ मिलिमिटर बगेर गएको छ । १ हजार वर्षमा फर्ममेसन भएको स्वायल १५ वर्षमा गएको छ । जुन धेरै अघिको डाटा हो । त्यो भन्दा बढी लस भएको भन्ने छ । मानिसहरूले खाने खाना ९५ प्रतिशत माटोमा नै उत्पादन हुन्छ । माटोको दैनिक रूपमा खाद्य तत्त्व (स्वायल फर्टीलिटी) र उत्पादकत्व कमी भएको छ । त्यसको व्यवस्थापन गर्न जरुरी छ । माटोलाई हामीले वैज्ञानिक ढङ्गबाट व्यवस्थापन गर्न आवश्यकता छ । नेपालको पहाड र तराईको माटोको वर्गीकरण छुट्टाछुट्टै गर्न आवश्यक छ । तराई र पहाडको माटोको नतिजालाई छुटै किसिमले विश्लेषण गर्नुपर्छ । तराई र सहरी क्षेत्रको माटो भन्दा पहाडको माटो अझै ठिक छ । गाईबस्तु पालेर अर्ग्यानिक मलहरूको प्रयोग हुने गरेको छ ।’
उनले १ हजार वर्षमा फर्ममेसन भएको स्वायल १५ वर्षमा गएको देखिएको भन्दै माटोको संरक्षण गर्न आवश्यक रहेको बताए । उनले अहिलेसम्म मानिसहरूले खाने खाना ९५ प्रतिशत माटोमा नै उत्पादन हुने गरेको बताए ।








