जिसस कैलालीको प्रमुखमा निर्वाचित भुललाई प्रमाणपत्र प्रदान

सुदूरपश्चिम । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित टीका चौधरी भुललाई आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।

निर्वाचन अधिकृत प्रेमराज भट्टले उनलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् । उनलाई आजै जिल्ला अदालतमा आयोजित समारोहमा न्यायाधीश दण्डपाणी लामिछानेले पद तथा गोपनीयताको सपथ गराए ।

जिसस प्रमुखमा उम्मेदवारी दिएकी नागरिक उन्मुक्ति पार्टीका रुपमति डगौरा थारुले यसअघि नै उम्मेदवारी फर्ता लिएपछि उहाँ निर्विरोध निर्वाचित भएकी हुन् ।

भुल नेपाली कांग्रेसबाट कैलारी गाउँपालिकाको दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् । कांग्रेसबाट निर्वाचित जिसस प्रमुख पदमबहादुर कलेलको निधनभएपछि यो पद रिक्त भएको थियो ।

प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुखसमेत रहनुभएका निर्वाचन अधिकृत भट्टले सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिए ।

बाजुराको स्वामीकात्तिकखापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा कुल मतदाताको ५२ प्रतिशत मत खसेको छ । त्यहाँ सात हजार चार सय ६० मतदाता थिए । यसैगरी बझाङको सुर्मा गापा–४को वडा अध्यक्षको चुनावमा ७६ प्रतिशत, डोटीको पूर्वीचौकी गापा—६को वडा अध्यक्षको चुनावमा ५३, दाुर्चलाको दुहुँ गापा–५को वडा अध्यक्षको चुनावमा ६९ र कञ्चनपुर भीमदत्तनगर नगरपालिका–६को वडा अध्यक्षको चुनावमा ५५प्रतिशत मत खसेको उनले जानकारी दिए ।

पाँच पदका लागि आज भएको उपनिर्वाचनमा रहेका कुल १७ हजार तीन सय १३ मतदाता मध्ये नौ हजार सात सय ८८ ले मतदान गरका छन् । मतपेटिका प्राप्त भइसकेपछि मतगणनाको काम सुरु गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + two =